ghar sansar

जेन–जी आन्दोलनः सत्ता प्राप्त गर्ने भर्‍याङ होइन, जनताको भविष्य निर्माण गर्ने आधार बनोस

khasi

– प्रभु निधि पन्त

चार दशकदेखि नेपाली समाजले एउटा प्रश्न बोकेर हिँडिरहेको छ । व्यवस्था बदलियो, सरकार बदलियो, नेतृत्व बदलियो,तर नागरिकको जीवनचाहिँ कति बदलियो ? यो प्रश्न नयाँ होइन तर हरेक राजनीतिक परिवर्तनपछि यो प्रश्न अझ गम्भीर बनेर फर्किन्छ । गत बर्षको भदौमा हाम्रो देशले भोगेको अकल्पनीय घटनाले नेपाली समाजको मनमा रहेका असन्तुष्टि,आक्रोश र राजनीतिक अविश्वासलाई थप सतहमा ल्याइ दियो । ठूलो भौतिक, आर्थिक र सामाजिक क्षति बेहोरेको यो देश फेरि एक पटक परिवर्तनको बहसमा उभिएको छ । यही पृष्ठभूमिमा जेन–जी (Gen Z) आन्दोलनलाई केवल एउटा राजनीतिक घटना वा तत्कालीन आक्रोशको अभिव्यक्तिका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यो नयाँ पुस्ताको प्रश्न, असन्तुष्टि र भविष्यप्रतिको खोजीको अभिव्यक्ति पनि हो । त्यसैले यसको मूल्याङ्कन सडकमा देखिएको भीडबाट होइन, यसले नेपालको शासन, राजनीति र नागरिकको जीवनमा ल्याउने दीर्घकालीन परिवर्तनबाट गरिनु पर्छ ।

जेन–जी आन्दोलन असन्तुष्टिको जगबाट उठेको आन्दोलन हो ।आन्दोलन तब जन्मिन्छ जब नागरिकका आवाज सामान्य माध्यमबाट सुनिँदैनन् । जब राज्यका संस्थाहरू नागरिकका अपेक्षाअनुसार काम गर्न असफल हुन्छन्, जब अन्याय, विभेद बढ्छ, जब भ्रष्टाचार नियन्त्रण हुन सक्दैन, रोजगारीको अभावमा युवाहरू विदेशिन बाध्य हुन्छन् र सार्वजनिक सेवा लिन नागरिकले अनावश्यक दुःख पाउँछन, त्यहाँ  असन्तुष्टि जम्मा हुन्छ र यही असन्तुष्टि गत बर्षको भाद्र महिना २३ गते देश भर देखियो । नेपालको राजनीतिक इतिहास यस्ताआन्दोलनका उदाहरणले भरिएको छ । विभिन्न काल खण्डमा भएका आन्दोलनले राजनीतिक व्यवस्था, सरकार र नेतृत्व परिवर्तन गरेका छन् । तर आजको पुस्ताको प्रश्न अलि फरक छ परिवर्तनपछि पनि नागरिकका आधारभूत समस्या किन ज्यूँकात्यूँ छन् ? शिक्षित युवा रोजगारीका लागि विदेशिनु पर्ने अवस्था किन, किसानले उत्पादनको बस्तुको उचित मूल्य नपाउने समस्या, सामान्य नागरिकले सरकारी सेवा लिन भोग्नु पर्ने झन्झट, शिक्षा र रोजगारीबीचको कमजोर सम्बन्ध तथा भ्रष्टाचार र राजनीतिक अस्थिरता नयाँ समस्या होइनन् । तर नयाँ पुस्ता अब यी समस्यालाई नियति मानेर चुप बस्न तयार छैन ।यही मानसिकता जेन्जी आन्दोलनको महत्वपूर्ण आधार हो ।

अब विरोध मात्र होइन विकल्प चाहिन्छ । आन्दोलनको सबैभन्दा ठूलो परीक्षा आन्दोलनपछि सुरु हुन्छ । हिजो सरकारको विरोध गर्न सजिलो थियो । भ्रष्टाचारको विरोध गर्न सजिलो थियो । बेरोजगारीको विरोध गर्न सजिलो थियो । राजनीतिक बेथितिमाथि प्रश्न उठाउन पनि सजिलो थियो । तर अब प्रश्न गर्नेहरू नै राज्य सञ्चालनको जिम्मेवारीमा पुगेका छन अब भने उनीहरूले के गर्छन् ? यही प्रश्नले जेन्जी आन्दोलनको वास्तविक भविष्य निर्धारण गर्नेछ । हिजो भ्रष्टाचारको विरोध गरिएको थियो भने अब भ्रष्टाचार नियन्त्रण गर्ने प्रभावकारी संयन्त्र देखिनु पर्छ । पारदर्शिताको माग गरिएको थियो भने सरकारका निर्णय र खर्च जनताले सहजै बुझ्ने व्यवस्था हुनु पर्छ । बेरोजगारीको विरोध गरिएको थियो भने रोजगारी सिर्जना गर्ने ठोस नीति आउनु पर्छ । युवालाई विदेश जानु पर्ने बाध्यता अन्त्य वा कम गर्ने हो भने उत्पादन,उद्यमशीलता, कृषि, पर्यटन, प्रविधि र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम चाहिन्छ । केवल ‘पुरानो गलत थियो’भन्नु पर्याप्त छैन । अब ‘सही के हो र त्यसका लागि हाम्रो योजना के हो ?’ भन्ने प्रश्नको उत्तर दिनु पर्छ । यहीँबाट आन्दोलन नाराबाट नीतिमा प्रवेश गरेको हुनेछ ।

जेन–जी आन्दोलन कसैको निजी सम्पत्ति नबनोस नेपाल मा हालसम्म जतिपनि राजनीतिक आन्दोलन भए ति आन्दोलनको अर्को दुखद पक्ष पनि हामीले देखेका छौँ । यो जेन–जी आन्दोलन ले बिगतको इतिहास दोहोर्याउनु हुँदैन ।आन्दोलनका बेला जनता अगाडि हुन्छन र आन्दोलनको उपलब्धि भने केही सीमित व्यक्तिको हातमा पुग्छ । सडकमा पसिना बगाउने, जोखिम उठाउने र आवाज उठाउने नागरिक पछि फेरि उही पुरानो समस्यासँग जुध्न बाध्य हुन्छन् । कुनै पनि आन्दोलन व्यक्ति, समूह वा राजनीतिक दलको निजी सम्पत्ति बन्नु हुँदैन । यसमा सहभागी युवा, महिला, श्रमिक, किसान, विद्यार्थी, व्यवसायी, पेशाकर्मी तथा सीमान्तकृत समुदायका आवाजलाई समान महत्व दिनु पर्छ ।आन्दोलनको नेतृत्व गर्ने व्यक्ति आन्दोलन भन्दा ठूलो बन्न खोज्यो भने आन्दोलनको मूल उद्देश्य कमजोर हुन्छ ।जनताको नाममा प्राप्त जनविश्वासलाई व्यक्तिगत राजनीतिक भविष्य निर्माणको साधन बनाउनु आन्दोलनप्रतिको बेइमानी हुनेछ ।

dirghayi clinic

त्यसैले जेन–जी आन्दोलनको स्वामित्व जनतामै रहनु पर्छ । निर्णय प्रक्रिया पारदर्शी हुनु पर्छ र नेतृत्व जनताप्रति जवाफदेही हुनु पर्छ । युवाको आक्रोशलाई नेतृत्वमा बदल्नु पर्छ जेन्जी आन्दोलनको सबैभन्दा ठूलो शक्ति युवा पुस्ता हो । युवासँग ऊर्जा छ, प्रविधिको ज्ञान छ, नयाँ सोच छ र पुरानो राजनीतिक संस्कारलाई चुनौती दिने साहस छ । तर युवाको ऊर्जा सडकमा मात्र सीमित भयो भने त्यो क्षणिक हुन्छ । अब युवाले नीति निर्माणमा पनि हस्तक्षेप गर्नु पर्छ । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मका नीति तथा कार्यक्रममाथि प्रश्न गर्नु पर्छ । बजेट कहाँ खर्च भयो भनेर जान्नु पर्छ । हाल निर्वाचित जनप्रतिनिधिको कमको मूल्याङ्कन गर्नु पर्छ । सार्वजनिक सेवामा सुधारका लागि अहिले बनेको सरकारलाई निरन्तर दबाब दिनु पर्छ । हिजो आन्दोलनमा नारा लगाउने युवाले अब नीति बनाउनु पर्छ , योजना बनाउन, बजेट बुझ्न र शासन सञ्चालन गर्न सक्ने क्षमता पनि विकास गर्नु पर्छ । किनकि सरकार परिवर्तन गर्नु एउटा उपलब्धि हुन सक्छ । तर शासन गर्ने संस्कार परिवर्तन गर्नु अझ ठूलो उपलब्धि हुनेछ । आन्दोलनपछि नागरिकको जीवन बदलियो कि बदलिएन यो नै सबैभन्दा ठूलो प्रश्न अहिलेको सरकार र आन्दोलनकारीलाई हुनेछ ।

जेन–जी आन्दोलनपछि पनि यदि नागरिकले गुणस्तरीय शिक्षा पाएनन्, स्वास्थ्य सेवा सहज भएन, रोजगारी सिर्जना भएन, न्याय पाउन कठिन भयो, सरकारी सेवा सहज भएन र भ्रष्टाचार घटेन भने आन्दोलनको उपलब्धि अधुरै रहन्छ ।त्यसैले अब नागरिकले सरकारलाई निरन्तर खबरदारी गर्नु पर्छ । सरकारले गरेका प्रतिबद्धता पूरा भए कि भएनन् ? सुशासनका नीति कार्यान्वयन भए कि भएनन् ? बजेट सही ठाउँमा खर्च भयो कि भएन ? भ्रष्टाचार घट्यो कि घटेन ? सार्वजनिक सेवा सुधार भयो कि भएन ? यी प्रश्न सरकारसँग निरन्तर सोधिनु पर्छ । लोकतन्त्रमा नागरिकको जिम्मेवारी मतदान गरेर सकिँदैन । सरकारलाई प्रश्न गर्नु, गलत कामको विरोध गर्नु र सही कामका लागि दबाब दिनु पनि लोकतान्त्रिक नागरिकको जिम्मेवारी हो । अब अनुहार होइन, राजनीतिक संस्कार बदलिनु पर्छ । नेपालले पटक–पटक नेतृत्व परिवर्तन देखेको छ सरकार फेरिएको देखेको छ । वर्षौं देखि राजनीतिक दलका समीकरण फेरिएका देखेका छन्। तर नागरिकले खोजेको परिवर्तन अझै भेटाएका छैनन, अधुरो छ । अब केवल अनुहार परिवर्तन गरेर पुग्दैन सोच बदलिनु पर्छ । आचरण बदलिनु पर्छ, निर्णय गर्ने शैली बदलिनु पर्छ, राजनीतिक संस्कार बदलिनु पर्छ, नयाँ व्यक्ति पुरानो संस्कार बोकेर सत्तामा पुग्यो भने परिणाम पुरानै आउँछ ।

त्यसैले जेन–जी आन्दोलनले व्यक्तिभन्दा प्रणाली, पदभन्दा नीति र नाराभन्दा परिणामलाई प्राथमिकता दिनु पर्छ । यो सरकारले जनताको असन्तुष्टि र परिवर्तनको चाहनालाई गम्भीरता पूर्वक बुझ्नु पर्छ । सरकारले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, सुशासन, रोजगारी, सामाजिक न्याय, समान अवसर र सार्वजनिक सेवामा सुधार गरेर आफ्नो क्षमता प्रमाणित गर्नु पर्छ । जनताको आवाज दबाएर समस्या समाधान हुँदैन । बरु असन्तुष्टिबाट सुधारका लागि पाठ सिक्नु पर्छ ।

लोकतन्त्रमा असहमति कमजोरी होइन, असहमति सुधारको अवसर पनि भनेर अगाडि बढ्नु पर्छ । अबको बाटो स्पष्ट हुनु पर्छ जेन्जी आन्दोलनका पश्चात् बनेको यो सरकारका अगाडि दुई बाटा छन् । पहिलो बाटो भनेको बिगतका नेतृत्वका अशल र कमजोरीको समिक्षा गर्ने । दोस्रो बाटो आक्रोशलाई विचारमा, विचारलाई नीतिमा र नीतिलाई व्यवहारमा बदल्ने । पहिलो बाटो सजिलो छदोस्रो कठिन छ । तर स्थायी परिवर्तनका लागि दोस्रो बाटो नै आवश्यक छ । यसका लागि स्पष्ट उद्देश्य, स्पष्ट कार्ययोजना, समावेशी नेतृत्व, पारदर्शिता र निरन्तर जवाफदेहिता आवश्यक हुन्छ । आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न सकिएन भने आन्दोलनको ऊर्जा फेरि निराशामा बदलिन सक्छ । अहिलेको दुइ तिहाइको सरकाले पकै पनि यो कुरा को बिचार गरेर अगाडि बढ्ने छ । इतिहास दोहोर्याउने कि नयाँ इतिहास रच्ने भन्ने बिषयमा जेन्जी आन्दोलनको वास्तविक परीक्षा अब सुरु भएको छ । सडकमा उठेको आवाज सत्ता परिवर्तनमा पुगेर रोकियो भने इतिहास फेरि दोहोरिनेछ ।  तर त्यही आवाज नीति, योजना, सुशासन र नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउने शक्तिमा बदलियो भने नेपालले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न सक्नेछ ।

अब युवाको आक्रोश निराशामा होइन, नेतृत्वमा बदलिनु पर्छ । सडकको आवाज संसद् र सरकारसम्म मात्र सीमित होइन, नीति, बजेट, योजना र व्यवहारसम्म पुग्नु पर्छ । परिवर्तन मागि रहेको पुस्ताले भोलि आफूले खोजेको परिवर्तन कार्यान्वयन गर्ने क्षमता पनि विकास गर्नु पर्छ । किनकि वास्तविक आन्दोलन त्यो होइन, जसले केवल सत्ता हल्लाउँछ ।वास्तविक आन्दोलन त्यो हो, जसले शासन गर्ने संस्कार बदल्छ । वास्तविक आन्दोलन त्यो हो, जसले नागरिकको जीवन बदल्छ । वास्तविक आन्दोलन त्यो हो, जसले भावी पुस्ताका लागि राम्रो समाज निर्माण गर्छ । त्यसैले जेन्जी आन्दोलनसत्ता प्राप्त गर्ने भर्याोङ होइन, जनताको भविष्य निर्माण गर्ने आधार बनोस् । यसको उपलब्धि कुनै व्यक्ति, समूह वा दलको राजनीतिक पूँजी नबनोस् । यसको उपलब्धि नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय, सुशासन र सम्मानपूर्ण जीवनमा देखियोस् । सडकमा उठेको आवाज अन्तमाःजेन्जी आन्दोलनको परिवर्तन सत्ता बदल्नु मात्रै होइन, नागरिकको जीवन बदल्नु नै वास्तविक परिवर्तन हो ।

जेन–जी आन्दोलनका सम्पूर्ण ज्ञातअज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली !

Himal dental
सम्बन्धित
Loading...