

महेन्द्रनगर । नेपाली काँग्रेसको भीमदत्त नगर १२ ले पार्टीको आधिकारिता विवाद हल नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको छ ।
काँग्रेसको संस्थापन र संस्थापन समूहले १५ औं महाधिवेशन गर्ने कार्य तालिका ल्याएपछि काँग्रेस भीनपा १२ ले आगामी दुबै महाधिवेशनमा भाग नलिने निर्णय गरेको छ ।
काँग्रेसको संस्थापन समूहले असोज र इतर समूहले असोज १५ गतेदेखि महाधिवेशन अन्र्तगत वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरि सकेका छन् ।
कञ्चनपुरमा पनि संस्थापन र इतर समूहले पार्टी कार्यालयमा महाधिवेशन लक्षित कार्यकर्ता भेला गरेका छन् ।

संस्थापन इतर समूहले भदौ २१ गते कार्यकर्ता भेला गरेपछि संस्थापनले तीन दिनपछि पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेला गरेको थियो ।
काँग्रेस कञ्चनपुरको १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला समिति दुबै समूहमा बाँडिएको छ ।
‘हाल नेपाली काँग्रेसमा देखिएको आन्तरिक विभेदका कारण दुबै समूहबाट १६ औं महाधिवेशन तालिका प्रकाशित भए अनुसार नेपाली काँग्रेसको आधिकारिताको निर्णय नभएसम्म कुनै पनि महाधिवेशनमा नलाग्ने निर्णय गरियो’ भेलाले गरेको निर्णयमा भनिएको छ ।
भेलापछि काँग्रेसका युवा नेता राजेन्द्र प्रसाद पन्तले पार्टी र संगठनलाई स्वार्थ अनुसार प्रयोग गर्ने दिन सकिएको बताए ।
‘आज भीमदत्त नगरपालिका–१२ मा नेपाली कांग्रेसको भेलाले आगामी अधिवेशनका लागि कसैको पक्षमा नलाग्ने, कुनै गुट–उपगुटको पछाडि नदौडिने स्पष्ट निर्णय गरेको छ’ सामाजिक सञ्जालमा पन्तले लेखेका छन्, ‘अब व्यक्ति विशेषको दबाब, गुटको राजनीति र भागबण्डाले कांग्रेस चल्दैन । कार्यकर्ताको विवेकलाई कमजोर ठान्ने र आफ्नो स्वार्थका लागि संगठन प्रयोग गर्ने दिन सकिएका छन् ।’

