

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसिएको छ । काँग्रेस केन्द्रीय समितिले उप सभापति हरिश चन्द्र रानालाई कार्य वाहक सभापतिको जिम्मेवारी दिएको छ ।
सभापति बोगटी र उप सभापति राना दुबै १४ औं महाधिवेशनबाट निर्वाचित भएका हुन् । काँग्रेस १५ औं महाधिवेशनका लागि असोज ३ गते वडा अधिवेशन हुन लागेपछि जिल्ला सभापति बोगटीको जिम्मेवारी खोसेर उप सभापति रानालाई दिइएको छ ।
काँग्रेस महामन्त्री गुरुराज घिमिरेले १५ उप सभापति रानालाई कार्य वाहक जिम्मेवारी दिएर पत्र पठाएका छन् ।
काँग्रेसले असोज ३ र ४ गतेको वडा अधिवेशन सहित कञ्चनपुर जिल्ला मातहतका सबै अधिवेशन गर्न र पार्टी कामकाजका लागि रानालाई कार्य बाहक दिएको जिम्मेवारी दिएको हो ।
‘नेपाली काँग्रेसको विधान २०१७ (एघारौ संशोधन सहित) तपाईलाई १५ औं महाधिवेशन अन्र्तगत असोज ३ र ४ गते हुने वडा अधिवेशन सहित जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न जिल्ला कार्य बाहक सभापतिको रुपमा कामकाज गर्ने गरी विशेष जिम्मेवारी दिइएको छ । निर्वाचन समितिसंग समन्वय गरी तोकिएको जिम्मेवारी पूरा गर्न हुनेछ भन्ने विश्वास लिएको छु’ रानालाई कार्य वाहक जिम्मेवारी दिइएको पत्रमा भनिएको छ ।
१४ औं महाधिवेशनमा बोगटी तत्कालिन संस्थापन र राना संस्थापन इतर समूहबाट निर्वाचित भएका थिए । उनीहरु दुबै स्थानीय तह प्रमुख पनि हुन् ।
काँग्रेस महाधिवेशनपछि बोगटी देउवा समूहका छन् । उप सभापति राना संस्थापन भएका छन् ।
देउवा समूहले केही दिन अघि पार्टी कार्यालय सहित जिल्लाभर अगुवा कार्यकर्ता भेला गरेपछि सभापति बोगटीको जिम्मेवारी खोस्न केन्द्रीय समितिमा पत्राचार गरिएको थियो ।

काँग्रेसका केन्द्रीय सदस्य सन्तोसी साउँद, काँग्रेस कञ्चनपुरका पूर्व सभापति हरि प्रसाद बोहरा, पूर्व मन्त्री बहादुर सिह थापा, सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्ट, दिवाकर पाण्डेय लगायत नेताहरु बसेर छलफल गरेका थिए ।
काँग्रेसका पूर्व मन्त्रीद्वय रमेश लेखक र एनपी साउँदले देउवा समूहका भेलालाई सम्बोधन गरेका थिए ।
देउवा समूहको भेला गरिएको तीन दिनपछि संस्थापनले पार्टी कार्यालयमा जिल्लाभरका अगुवा कार्यकर्ताको भेला गरेको थियो । त्यसपछि बोगटीको जिम्मेवारी खोस्न छलफल गरिएको थियो ।
१४ औं महाधिवेशनमा तत्कालिन संस्थापनका दुई समूहबीच प्रतिस्पर्धा भएको थियो ।
तत्कालिन पार्टी सभापति शेर बहादुर देउवा नजिक रमेश लेखक र एनपी साउँदका दुई समूहबीच प्रतिस्पर्धामा लेखकका उम्मेदवार बोगटी सभापति निर्वाचित भएका थिए ।
बोगटीले एनपी समूहका बहादुर सिह थापालाई पराजित गरेका थिए । थापा अहिले साउँदलाई छाडेर काँग्रेस संस्थापन पुगेका छन् ।
जिल्ला सभापति बोगटीको जिम्मेवारी खोस्न गरिएको छलफलमा थापाको सहभागितालाई काँग्रेसभित्र विशेष रुपमा हेरिएको बताइन्छ ।
बोगटीले ८ सय ६ र थापाले ७ सय १५ मत पाएका थिए । उप सभापतिमा मीन बहादुर सिंह र हरिशचन्द्र राना विजयी भएका छन् । सचिवमा हेमराज ओझा र भीमराज भट्ट निर्वाचित भएका थिए ।
सहसचिवमा नाफुसिंह साउद र पुष्कल चौधरी विजयी भएका थिए । सह सचिव चोधरी पार्टी छाडि सकेका छन् ।
यस अघि देउवा समूहका नेताको क्रियाशिल सदस्यता अद्यावधिमा जिम्मेवारी खोसिएको थियो ।
