

महेन्द्रनगर । आधारभूत तथा सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राना थारु सामुदायिक सिकाइ केन्द्रको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रका गतिविधि, उपलब्धि तथा आगामी कार्यक्रमका विषयमा छलफल गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सामुदायिक सिकाइ केन्द्रहरूले आधारभूत शिक्षा तथा सीपमूलक शिक्षा प्रदान गर्दै समुदायको शैक्षिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
केन्द्रको कार्यक्षेत्र फराकिलो भए पनि सीमित स्रोत–साधनका कारण उपलब्ध अवसर र कार्यक्षेत्रको पूर्ण उपयोग गर्न केही कठिनाइ रहेको उल्लेख गर्दै जोशीले आवश्यक कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले केन्द्रबाट सिकेका ज्ञान, सीप र कुराहरूलाई व्यवहारिक जीवनमा समेत प्रयोग गर्नुपर्नेमा जोड दिँदै सिकेको कुरा व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि भीमदत्त नगरपालिका–१६ का वडाध्यक्ष केशव सिंह बिष्टले सामुदायिक सिकाइ केन्द्र समुदायसँग प्रत्यक्ष जोडिएको संस्था भएकाले स्थानीय आवश्यकता र जनजीवनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै केन्द्रलाई अझ प्रभावकारी बनाउन स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय गरिने उनले बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाको सहयोगमा राना थारु समुदायको मौलिक पोसाक घागरा चोली समेत प्रदान गरिएको र आगामी दिनमा समेत यस्ता कला सस्कृती संरक्षणका कार्यक्रम समेत ल्याउने छौं । कार्यक्रमको अध्यक्षता राना थारु सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नवीन रानाले गरेका थिए ।
अध्यक्ष रानाले केन्द्रले समुदायमा आधारभूत शिक्षा, सीप विकास तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा स्रोत–साधनको व्यवस्थापनसँगै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभामा केन्द्रका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सभामा केन्द्रको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरिएको थियो ।
