

महेन्द्रनगर । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार पक्राउ गरेको हो । महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
उनी १७ पुस २०७५ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए ।
संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
२४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यससम्बन्धी चार वटा रिट खारेज हुने फैसला सुनाएको थियो ।
