
सदरमुकाम जोड्ने सेतु चुँडिएपछि मन चुँडिएको महसुस गर्दैछ दोधारा चाँदनी
चिनारी मेटिने चिन्ता, तत्काल पुनः निर्माण थाल्न माग

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ लठ्ठाघाटस्थित क्रिस्टिना नास्ता पसलका सञ्चालक मनोज सिंह बुधबार बिहानदेखि अचानक अक्क न बक्क भए ।
महाकाली नदीमा चुँडिएको झोलुङ्गे हेरेर पसल फर्केपछि दिनभरि उनी निराश भए । मन बुझाउने प्रयास गरे, बुझाउन सकेन । झोलुङ्गे पुल चुडिएझै सिंहले आफ्नो मन पनि चँुडिएको महसुस गरे ।
‘पुल चुँडिएपछि दुःख लागेको छ, रुन पो सकिएको छैन, दुःख त लागेको छ’ बुधबार साँझ पसलमा भेटिएका सिंहले भने, ‘यही झोलुङ्गे त हो दोधारा चाँदनी चिनाएको, पहिला त हामीलाई सदरमुकाम जन कति पीडा हुन्थ्यो ।’
पुल किनार आफ्नै घरमा पसल सञ्चालन गरेका सिंह परिवारले पुल बनेपछि २०६३ मा जग्गा किनेर घर बनाएका थिए ।
पुल बनेपछि आउने क्रम बढेको सिंहले देखेका छन् ।
२०५९ मा एसएलसी गर्न अघिसम्म लठ्ठाघाटमा दुई तीन पसल, चारैतिर झाडी र भारतीय भूमि भएर महेन्द्रनगर आएका सम्झना सिंहसित अझै छन् ।
‘पुल बन्न अघि यहा केही थिएन, बन्जर थियो, झाडी थियो, दुई तीन घर र पसल थिए’ उनी भन्छन्, ‘त्यो बेला महेन्द्रनगर जादाका दुख सम्झदा त अहिले पनि अर्कै हुन्छ ।’
दोधारा चाँदनी नगरपालिका ७ का दिल बहादुर सिजालीको बुधबार दिनभरि पुल आशपास बित्यो । पुल बनेपछि पहिलो पटक बाइकमा पुल चढेर महेन्द्रनगर आउँदाको सम्झना मनमा दोहोरियो ।
झोलुङ्गे चुडिएको सुन्ने बित्तिकै मलाई पुल नहुदाको त्यो पीडा याद भएर आयो, उनले भने, भारतीय प्रहरी र नागरिकको अवहेलना खेपेर कसरी हामी महेन्द्रनगर जान्थौ, त्यो पीडा झलझली आयो ।
पुल बन्न अघिसम्म भारतीय भूमि भएर दैनिक महेन्द्रनगर आउदा खेप्न पर्ने उनको पीडा पुल बनेपछि शान्त भएका थिए ।
पहिलो दिन मोटरसाइकल पुल वारपार गर्दा डर लागेको सिजाली बताउँछन् । भन्छन्, ‘पहिलो दिन अलि डर लागेको थियो, सुरु सुरुमा त डर लाग्थ्यो, पछि त बानी परि हालियो ।’
गैर सरकारी संस्थामा काम गर्न महेन्द्रनगर आउने उनी पछि बैकमा जागीरे भएर २०७४ मा जागिर छाडेर चुनाव लडेका थिए । दोधारा चाँदनी ६ को निवर्तमान वडा अध्यक्ष उनी नगर प्रवक्ता भएका थिए ।
अहिले काँग्रेस राजनीतिमा सक्रिय छन् । काँग्रेसबाट वडा अध्यक्ष भएका थिए । दोधारा चाँदनी ४ लठठाघाट बजारका झोलुङ्गे चुडिएर चिनारी गुम्ने चिन्ता व्यक्त गर्छन् ।
होटेल रिभर साइनका संचालक उनी पुल बन्न अघि लठ्ठाघाट सुनसान भएको उनी सम्झन्छन् । ‘दोधारा चादनी चिनाउने नै यही हो, त्यस अघि त केही थिएन’ उनले भने ।
पुल बनेपछि दोधारा चाँदनी नगरपालिकाका बासिन्दाको भारतीय भूमि भएर सदरमुकाम महेन्द्रनगर आउने बाध्यता हटेको थियो । त्यस अघिसम्म साविक चादनीको स्याउली बजार हुदै शारदा ब्यारेज भएर महेन्द्रनगर आउन पर्ने बाध्यता थियो ।
‘अर्को देशको भूमि भएर आउजाउ गर्दा कस्तो पीडा हुन्छ, त्यो हमीलाई थाह छ’, निवर्तमान वडा अध्यक्ष भन्छन्, ‘भारतीय निर्भरता नै यसले हटाएको हो, नत्र हामीसित केही बिकल्प नै थिएन ।’
सिजाली झोलुङ्गे दोधारा चादनीको ऐतिहासिक धरोहर भएको बताउँछन् । चार लेन पुल बनेर अहिले आवागमन चाप घटे दोधारा चाँदनीको चिनारी सधै हुने उनको भनाई छ ।

बुधबार बिहान स्पाम र टावर अलग भएर लठठा महाकाली नदीमा पुगेको अवस्थामा पुल भेटिएको हो । दोधारा चाँदनीतिरको पुलको भाग चुडिएर नदीमा खसेपछि आवागमन बन्द गरिएको छ ।
२०५९ निर्माण सुरु भएर २०६१ मा पूरा भएको थियो । तत्कालीन स्थानीय प्रशासन मन्त्रालयको झोलुङ्गे पुल महाशाखाले ९ करोड बढीमा पुल बनाएको थियो ।
भदौ तेसो साता दोधारा चाँदनी आएका पूर्व गृहमन्त्री रमेश लेखकले भारतीय भूमि आउनु पर्ने बाध्यता हटाउन आफूले पहल गरी झोलुङ्गे पुल बनेको बताएका थिए ।
लेखक २०५६ मा पहिलो पटक कञ्चनपुर ३ बाट साँसद निर्वाचित भएका थिए ।
लेखकले तत्कालिन मन्त्रालयमा कार्यरत नाता पर्ने प्राविधिकसित कुराकानी गरेपछि पुल बनाउने कार्य अघि बढेको पूर्व परराष्ट्रय मन्त्री एनपी साउँदले बताएका थिए ।

बुधबार बिहान झण्डै ८ः०० बजे पुलको दोधारा चाँदनी क्षेत्रमा एक भाग पूरै चुडिएर नदीमा खसेको थियो । त्यस अघि बिहान पुलको भत्किएको भाग तलमाथि भएको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पुलको ६ मिटर भागमा क्षति पुगेको छ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री खगराज भट्ट सहित मन्त्रीले बुधबार पुलको स्थलगत निरीक्षण गरेका छन् ।
‘यो केवल एउटा पुल होइन, सुदूरपश्चिम प्रदेशको पर्यटन पूर्वाधार पनि हो’, मुख्यमन्त्री भट्टले भने, ‘सङ्घीय सरकारले पुल पुनर्निर्माण गर्नेबारे छलफल गरिरहेको छ । आवश्यक परे प्रदेश सरकार पनि निर्माणका लागि पहल गर्छ’ मुख्यमन्त्री भट्टले भने ।
सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले पुल भत्किनुको कारण खोजिने र तत्काल मर्मत सम्भार कार्य थालिने बताए ।
कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले बुधबार संघीय संसदमा पुल पुनः निर्माण तत्काल अघि बढाउन सरकारतिस माग गरेका छन् ।
साँसद महताले महाकालीमा आएको बाढीले पुल भत्किएको संसदलाई जानकारी गराएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री भाटले नदीजन्य पदार्थ उत्खनन गरिएको वा नगरिएको विषय पनि पुल भत्किने विषयसंग सम्बन्धित हुन सक्ने बताए ।
२२ वर्ष अघि निमाणपछि सञ्चालनमा पुलको स्वामित्व लिने निकाय अझै यकिन हुन सकेको छैन । बुधबार मुख्यमन्त्रीको निरीक्षणमा पनि स्वामित्वको विषय उठेको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्री भाटले स्वामित्वको जसको भए पनि झोलुङ्गे पुल सुदूरपश्चिमको ठूलो पूर्वाधार संरचना भएर प्रदेश सरकार पुनः निर्माणका लागि लाग्ने बताए ।
सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री रावलले तत्काल पुनर्निर्माण आवश्यक रहेको बताए । आगामी दिनमा पुनः बाढी आउनसक्ने भएकाले क्षतिग्रस्त संरचनालाई थप क्षति हुनबाट जोगाउँदै तत्काल पुनर्निर्माण अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘फेरि पनि बाढी आउन सक्छ, क्षतिग्रस्त पुलमा थप क्षति हुन सक्छ,’ रावलले भने, ‘तत्काल तीनै तहका सरकारको समन्वय र लगानीमा पुल पुनर्निर्माण गरिनुपर्छ ।’
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले पुल भत्किँदा दोधारा–चाँदनी क्षेत्रको पर्यटन पूर्वाधारमा समेत क्षति पुगेको बताए ।
पुलको टावर भाँचिएर लठ्ठा सहितको पुल भाग नदीमा खसेको छ ।
भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी नगरपालिकाबाट पुलको तेस्रो नम्बरको भाग भत्किएको छ । पुलमा ८ टावर छन् ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलमा पुगेको क्षतिबारे अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी थालिएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी कोइराला मदन कोइरालाले केही दिनअघि परेको अविरल वर्षापछि महाकाली नदीमा आएको ठूलो बाढीका कारण पुलमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको बताए ।
‘९ गतेदेखि ११ गतेसम्म परेको वर्षाले महाकालीमा बाढी आएको थियो । त्यसबेला नदीको बहाव १ लाख ८० हजार क्युसेकसम्म पुगेको थियो,’ उनले भने, ‘सोही बाढीले क्षति पु¥याएका कारण पुल भाँचिएको हाम्रो प्रारम्भिक अनुमान छ ।’
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले बुधबार पुल मर्मतका लागि मुख्यमन्त्री भट्टलाई माग पत्र बुझाएका छन् ।
दोधारा चाँदनी लठ्ठाघाटका व्यवसायी सिंह पुल मर्मत कार्य छिटो गरी पुरानै स्वरुपमा हेर्न चाहेको बताउँछन् ।
‘पुल भत्किएपछि दोधारा चाँदनीलाई समस्या हुन्छ, झोलुङ्गे आउने पर्यटक दोधारा चाँदनीसम्म आउँन्थे’ सिजाली भन्छन्,‘पर्यटकीय क्षेत्र पनि हो, त्यसैले छटो भन्दा छिटो पुल बनाउनु पर्छ ।’
दुःखी छन् पूर्व गृह मन्त्री लेखक, भन्छन्– पहिलो पटक पुलको कुरा गर्दा हाँसो मजाक गर्थे, भेट्दा महाकाली झोलुङ्गे पुल बन्छ र भनेर सोध्थे
पूर्व गृहमन्त्री रमेश लेखकले पुल भत्किएपछि आफूलाई दुःख लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा भत्किएको पुलका तस्बिर सहित राख्दै लेखकले लामो स्टयाटश लेखेका छन् ।
२०५६ मा साँसद निर्वाचित भएपछि आफूले पहिलो संसदमा पुलको माग गरेपछि हाँसो ठट्टाको विषय बनाइएको पनि लेखकले स्मरण गरेका छन् ।
उनले भनेका छन्, ‘महाकाली नदिको झोलुगें पुल टुटेको घटनाले मलाई अत्यन्त दुःख लागेको छ । देशको अन्य भूभागसंग यातायात सम्पर्क नभएको जनजीवन ज्यादै कठिन भएको दोधारा चादनीलाई तत्कालिन अवस्थामा प्रत्यक्ष देशको भूभागसंग जोडेको यो पुल दोधारा चादनी वा कञ्चनपुर मात्र होईन देशकै ऐतिहासिक हो । म अहिले यससंग सम्बन्धित केहि घटना स्मरण गरिरहेको छु : कंचनपुरबाट २०५६ सालमा पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधि सभामा मैले पहिलो पटक महाकाली नदिमा झोलुगें पुल बनाई दोधारा चादनी जोड्नु पर्छ भन्दा कतिपय साथीहरू यो असम्भव कुरा हो भनि ठठ्ठा गरि हासेका थिए । र मलाई भेट्दा महाकाली नदिमा झोलगें पुल कहिले बन्छ भनि हाँसो गर्थे । तर सोहि अवधीमा कार्य प्रारम्भ भई नेपाल सरकारको बजेट, नेपालकै प्राविधिक र नेपालकै निर्माणकर्ताबाट ऐतिहासिक लामो पुल बनेको हो । यो पुलको निर्माण पछि देशको अन्य ठाँऊमापनि लामो झो. पु. बनाऊने प्रबिधी शुरू भयो। तसर्थ यो पुल नेपालको झो. पु. को बिकासक्रममा सिगों ईतिहासपनि हो । यस्को संरक्षण आवश्यक छ । म नेपाल सरकार र सरकारका सम्बन्धित सबै निकायलाई यथाशक्य चाडो पुलको पुनर्निर्माण, मरमत र सम्भार गर्न अनुरोध गर्दछु ।
