

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत बासुदेब घिमिरे हाजिर भएका छन् ।
घिमिरे कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयबाट सरुवा भएर भीमदत्तमा आएका हुन् । समान्य प्रशासन मन्त्रालयले भदौ २२ गते घिमिरेको सरुवा गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई सोमबार जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहीले सम्मान गरेका छन् ।
भीमदत्त नगरपालिकामा यस अघि महेश बहादुर बम प्रमुख प्रशासकीय अधिकृत थिए । बमलाई गृह मन्त्रालय मातहत निकाय सरुवा गरी घिमिरेलाई उनको स्थानमा पठाइएको थियो ।
गृह मन्त्रालयले बमलाई डोटीको सहायक प्रमुख जिल्ला अधिकारी बनाएपछि असोज ११ गते बमको विदाई भएको थियो ।
बम भीमदत्त नगरपालिकाका वासिन्दा हुन् । भीमदत्तबाट जागिर सुरु गरेका उनी अढाई वर्ष प्रमुख प्रशासकीय अधिकृत भएर सरुवा भएका हुन् ।
बम दार्चुलाबाट सरुवा भएर २०८० माघ तेस्रो साता भीमदत्त आएका थिए ।

भीमदत्तका नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरे पहिलो पटक स्थानीय तहको प्रमुख भएका हुन् ।
सोमबार कार्यालयमा हाजिर भएपछि घिमिरेले प्रशासकीय अधिकृत हरि सिह धामी, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, लेखा अधिकृत बिक्रम भण्डारी, इन्जिनियर हिमालय सिंह ऐर लगायतका भीमदत्तका अधिकारीसित छलफल गरी जानकारी लिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले आफूले नगरपालिकाको वित्तिय अनुशासनलाई सबैभन्दा पहिलो प्राथमिता दिने बताए ।
‘नगरपालिकाको पारदर्शिता, सुशासनका लागि वित्तिय अनुशासन मेरो सबैभन्दा पहिलो काम हुनेछ’ उनले भने ।
विकास निमाण र सेवा प्रवाहलाई सहज र व्यवस्थित गरी सेवाग्राहीलाई फाइदा हुने गरी काम गरिने उनले बताए ।
भीमदत्तका जनप्रतिनिधि, कर्मचारी सहित सरोकारवाला सबैसित समन्वय र सहकार्य गरी आफू अघि बढ्ने घिमिरे बताउँछन् ।
यसैबीच बेदकोटमा नगरपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य हाजिर भएका छन् ।
बेदकोटका हाकिम हरिदत्त भट्टको गृह मन्त्रालय अन्र्तगत सरुवा भएको थियो । बेदकोटका उप मेयर तुलसी जोशीले प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत गरेकी छन् ।
