ghar sansar

शुक्लाफाँटामा सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारीलाई प्राथमिक उपचार तालिम

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विपद व्यवथापन समितिका पदाधिकारीहरुलाई चार दिने आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । विपद्का बेला अस्पताल पुग्नुअघि घाइतेको ज्यान जोगाउनका लागि प्राथमिक उपचारका सीप समुदायस्तरमै विकास गर्ने उद्देश्यले आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको हो ।

शुक्लाफाँटा नगरपालिका–११ स्थित होटल महाकालीमा असोज १७ देखि २० गते सम्म सञ्चालित तालिममा वडा नं १, १० र १२ का सामुदायिक विपद् व्यवस्थापन समितिबाट छनोट भएका २८ जनाले २७ घण्टा प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान लिएका छन् ।

तालिममा घाउ तथा चोटपटकको उपचार, पट्टी बाँध्ने, बेहोसी तथा मुर्छा, हृदयघात, विष सेवन, सर्पदंश, आगलागी र शीतलहरका घटनामा गरिने तत्कालीन प्राथमिक उपचार सिकाइएको थियो।

विपद्पछि उत्पन्न हुन सक्ने मनोवैज्ञानिक समस्या, पीडितलाई सुरक्षित स्थानमा सार्ने तरिका र अस्पताल पु¥याउनुअघि अपनाउनुपर्ने उपचार विधि पनि अभ्यास गराइएको नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका प्रशिक्षक लक्ष्मणदत्त भट्टले बताए ।

तालिमको मुख्य जोड ‘पहिले आफू सुरक्षित हुने, त्यसपछि अरूलाई सुरक्षित बनाउने र अस्पताल पुग्नुअघि आवश्यक प्राथमिक उपचार गर्ने’ सीपमा रहेको थियो । सहभागीलाई विपद्का बेला गाउँ–टोलमै तत्काल प्रतिकार्य गर्न सक्ने गरी प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।

dirghayi clinic

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सिकेको ज्ञान समुदायमा बाँड्न सहभागीलाई आग्रह गर्नुभयो। उहाँले तालिम प्राप्त सहभागीलाई विपद्का बेला समुदाय परिचालन र प्रतिकार्यमा सहयोग गर्ने ‘समुदायका शिक्षक’का रूपमा अघि बढाउनु पर्ने बताए ।

तालिमका सहभागी पदमसिंह कार्कीले गाउँ–टोलमा विपद् आइपर्दा तालिमबाट सिकेको सीप व्यवहारमा प्रयोग गर्न सकिने बताउनुभयो। अर्का सहभागी ज्योति रानाले आफू बाँच्ने, अरूलाई जोगाउने र अस्पताल पुग्नुअघिको प्राथमिक उपचारबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताए ।

सेफर परियोजनाका कार्यक्रम संयोजक सरस्वती पुरीले तालिमबाट प्राप्त ज्ञान र सीप समुदायका अन्य व्यक्तिसम्म पु¥याउनु पर्नेमा जोड दिए ।

सुरक्षित आवास कार्यक्रम अन्तर्गत सेफर परियोजनाले निड्स र शुक्लाफाँटा नगरपालीकोको समन्वयमा सञ्चालन गरेको तालिममा सहभागीको अन्तिम परीक्षा लिइएको थियो। परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने माया चौधरीलाई नगर प्रमुख महराले पुरस्कृत गरे । 

सहभागीलाई प्रमाणपत्रसँगै प्राथमिक उपचार बक्ससमेत वितरण गरिएको थियो।

तालिम समापन कार्यक्रमकी सभापति ईश्वरादेवी कोरले तालिमका अधिकांश विषय प्रयोगात्मक रूपमा सिकाइएको बताउनुभयो। कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्त, नगरपालिकाका विपद् फोकल पर्सन कृष्ण भट्ट, निड्सका प्रतिनिधि तथा कर्मचारी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...