
कञ्चनपुर ३ मा एमालेले थाल्यो चुनाव केन्द्रित पार्टी कार्यक्रम, चुनाव लक्षित भएर लाग्न नेताहरुको निर्देशन

महेन्द्रनगर । स्थानीय तह निर्वाचनको चर्चा हुन थालेपछि एमालेले चुनाव केन्द्रित पार्टी कार्यक्रम सुरु गरेको छ । एमालेले मातहत कमिटी सक्रिय गरी चुनाव लक्षित गतिवधि अघि बढाउन थालेको छ ।
एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) क्षेत्रीय कमिटी बसेर नेता कार्यकर्तालार्य चुनाव केन्द्रित भएर अघि बढ्न निर्देशन दिएको छ ।
एमालेको निर्वाचन ३ (ख) का इन्चार्ज सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सुरेन्द्र विष्टले आगामी निर्वाचनलाई लक्षित गरी पार्टी संगठनलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुन पर्ने बैठकमा निर्देशन दिएका छन् ।
‘पार्टीभित्र दोहोरो रिपोर्टिङ्ग प्रणाली विकास गर्नु पर्ने छ, जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्तालाई सक्रिय र जवाफदेही बनाउन नियमित रिपोर्टिङ आवश्यक छ’ बैठकमा सहभागी एमालेका एक नेताले विष्टको भनाई उद्धृत गर्दै भने ।
विष्टले जिम्मेवारी पाएका नेताले पार्टी र सरकारले गरेका कामका प्रचारप्रसार गर्नुपर्ने र स्थानीय मुद्दामा जिम्मेवार भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

एमाले केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी खरेलले पार्टीको ‘मिसन जागरण’ अभियानलाई थप सुदृढ बनाउनु पर्ने बताए ।
‘संगठनलाई प्रभावकारी बनाउँदै पार्टीका गतिविधिलाई जनस्तरसम्म पु¥याउनु पर्ने छ’ उनले भने ।
एमाले पार्टी कार्यालयमा बसेको बैठकमा प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतका १७ वडा र नगर कमिटी पदाधिकारी सहभागी भएका छन् ।
पार्टी संगठनको अवस्था, सदस्यता नवीकरण र पार्टीका गतिविधिको रिपोर्टिङ्ग लगायतका विषय छलफल भएको प्रदेश कमिटी संयोजक विष्णु कँडेलले बताए ।
बैठकमा खरेल सहित प्रदेश कमिटी सचिवालय सदस्यहरू महेशप्रसाद पन्त र लक्ष्मी विक, प्रदेश कमिटी सदस्य सुरेन्द्र विष्ट, जिल्ला उपाध्यक्ष जनकराज अवस्थी लगायत नेता सहभागी भएका छन् ।
