
दुई महिनादेखि बन्द भीमदत्त ७ हल्दुखालको सिद्धेश्वर आधारभूत विद्यालयलाई सुदूरपश्चिम सरकारले दियो १० लाख बजेट

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले पठनपाठन बन्द गरिएको विद्यालयमा बाल उद्यान बनाउन बजेट दिएको छ ।
भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित सिद्धेश्वर आधारभूत विद्यालयमा बाल उद्यान र समान खरिदका लागि १० लाख बजेट विनियोजन गरेको छ ।
विद्यार्थी संख्या नभएपछि गत भदौमा विद्यालय मर्ज गरिएका थियो । अहिले सिद्धेश्वरमा बाल विकासका कक्षा मात्रै छन् । बाल विकासमा पनि थोरै विद्यार्थी छन् ।
विद्यालय बन्द भएपछि प्रदेश सरकारको बजेट आएपछि स्थानीय आश्चर्यमा परेका छन् । अहिले प्रदेश सरकारले नमूना बाल विकास र समान खरिद शीर्षकमा बजेट दिएको छ ।
यस अघिसम्म प्रदेश सरकारको बजेट नआएको स्थानीय बताउँछन् । बजेटमा के समान किन्ने भन्ने उल्लेख गरिएको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको सचिवालयले जारी उनको सिफारिशका योजनामा बजेट विनियोजन गरिएको उल्लख गरिएको छ ।
सुदूरपश्चिम सरकारले असोज २५ गते बजेट ल्याएको थियो ।

आर्थिक वर्ष सुरु भएको चार महिना आएको बजेटलाई लिएर चौतर्फी आलोचना भएको छ ।
एमालेका प्रदेश सभा सदस्य बीर बहादुर थापाले संसदबाट राजीनमा दिएका छन् ।
भीमदत्त नगरपालिकाले गत भदौमा गरेको शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन र तह घटुवा अन्र्तगत सिद्धेश्वर आधारभूत विद्यालयलाई शुन्यमा झारिएको थियो ।
कक्षा १ देखि ५ सम्मको विद्यालय बन्द भएपछि सुदूरपश्चिम सरकारले बजेट दिएको हो ।
विद्यालय मर्ज भएपछि प्रधानाध्यापक गोपालदत्त जोशी त्रिवेणी आधारभूत विद्यालय आएका थिए ।
भीमदत्तले बैशाख १० गते पहिलो पटक शिक्षक दरबन्दी मिलान, समायोजान र तह घटुवा गरेको थियो ।
सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री रावल एमालेका समानुपातिक साँसद हुन् । उनी भीमदत्त नगरपालिका ६ का वासिन्दा हुन् ।
सुदूरपश्चिम सरकारले ३७ अर्बको बजेट ल्याएको थियो ।
