
एमाले उम्मेदवार धामी भन्छन् –लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा ल्याएकाले एमाले हराउन सबै लागेका छन्, हामीलाई जनताले जिताउँछन्


महेन्द्रनगर । नेकपा एमालेका निवर्तमान प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा संसदबाट पास गरेकाले आगामी निर्वाचनमा एमालेलाई हराउन सत्तारुढ गठबन्धन लागि परेको बताएका छन् ।
कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका धामीले बुधवार शुक्लाफाँटा नगरपालिकामा राष्ट्रिय युवासंघ नेपालको निर्वाचन परिचालन कमिटीको भेलालाई सम्बोधन गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेलाई पराजित गर्न देशी–विदेशी शक्तिहरू लागेका बताए ।

देश, राष्ट्रियता र जनताका पक्षमा वकालत गर्ने पार्टी एमाले नै रहेको भन्दै आफूहरूले विगतमा गरेका काम र एजेण्डा लगेर जनताको घरदैलोमा जान युवाहरूलाई उनले आग्रह गरे । मुलुकको स्वाधिनता संकटमा रहेको भन्दै उनले यसको रक्षाका लागि पनि जनता आफूहरूलाई मत दिएर जिताउनेमा विश्वस्त रहेको बताए ।

प्रदेश सभा क्षेत्र नम्बर २(१) बाट उम्मेदवार वचन बहादुर सिंहले आफूहरूलाई निर्वाचनमा विजयी गराउन युवा वर्गको महत्त्वपूर्ण योगदान रहने बताए । उनले सत्ता गठबन्धनले एमालेविरुद्ध विभिन्न किसिमका भ्रम सिर्जना गरिरहेको बताउँदै कडा प्रतिवाद गर्न युवालाई निदर्शेन दिए ।
युवासंघ नेपालका निवर्तमान अध्यक्ष समेत रहेका सिंहले गठबन्धनका उम्मेदवारभन्दा धेरै मतान्तरले आफूहरू विजयी हुने कुरामा दुईमत नरहेको बताए । जनताको साथ एमाले उम्मेदवारलाई रहेको भन्दै आफूहरूको जीत सुनिश्चित रहेको उनले बताए ।
प्रदेशसभा क्षेत्र २(२) बाट उम्मेदवार रहेका कृपाराम रानाले सिँचाइ, कृषि प्रणालीलाई सुदृढ गर्न, युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्न एमालेलाई मत दिनु आवश्यक रहेको बताए । परमादेशबाट बनेको गठबन्धन सरकारले देशलाई बर्बादीको दिशातिर लगिरहेको बताउँदै रानाले मुलुकको विकास र समृद्धि एमालेबाट मात्रै सम्भव रहेको धारणा राखे ।
गठबन्धन सरकारले राष्ट्रहित विपरीत नागरिकता विधेयक पास गरेर नेपाललाई भारतसँग मिलाउने काम गरेको आरोप उनले लगाए ।
गठबन्धन सरकारको एउटै उद्देश्य देशलाई अधोगतितर्फ लग्ने भएकाले गठबन्धनलाई परास्त गर्न आवश्यक रहेको रानाले बताए । राजेश शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोनिका भण्डारी भट्टले गरेकी थिइन् ।
