
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रीय समितिमा साधारण स्कुलका विष्ट महासचिव, बैजनाथका खत्री र गौरी शंकरका कुँबर सदस्य


महेन्द्रनगर । कञ्चनपुरका तीन सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी र सदस्य सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय समितिमा चुनिएका छन् ।
महासंघको काठमाडौमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय महासचिव र सदस्य पदमा उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।

महासंघ केन्द्रीय महासचिवमा बिरेन्द्रराज विष्ट निर्विरोध भए । विष्ट महेन्द्रनगर नमूना माध्यमिक विद्यालय (साधारण स्कुल) व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
समितिमा यस अघि उनी सचिव थिए । अहिले विष्ट महाचिव निर्विरोध निर्वाचित भएका छन् । उनी कञ्चनपुरमा सबैभन्दा कम उमेर विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने व्यक्ति हुन् ।

महासंघ केन्द्रीय समितिमा गणेश खत्री र मिना कुँबर सदस्य भएका छन् । खत्री बैजनाथ माध्यमिक विद्यालय समितिका अध्यक्ष र कुँबर गौरी शंकर आधारभूत विद्यालय व्यवस्थापन समिति सदस्य हुन् ।
भीनपा ३ का वडा सदस्य कुँबर समितिकी पदेन सदस्य छन् । बैजनाथ अध्यक्ष खत्री र कुँबर दुबै जना पहिलो पटक महासंघ केन्द्रीय समितिमा पुगेका छन् ।
महासंघ केन्द्रीय महासचिव विष्ट २०७१ देखि साधारण स्कुल व्यवस्थापन समिति अध्यक्ष छन् । साधारण स्कुलमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । विष्ट ५ हजार विद्यार्थी पढाउने लक्ष्य राखेर अघि बढेका छन् ।
साधारण स्कुल सुुदूरपश्चिम प्रदेशमा परिचित शिक्षण संस्थाको पहिचान बनाएको छ । विद्यालयमा कक्षा नर्सरीदेखि १२ कक्षा र प्राविधिक विषयका पठनपाठन हुने गर्छ ।
बैजनाथ माध्यमिक विद्यालय कञ्चनपुरको सबैभन्दा जेठो विद्यालय हो । विद्यालयमा एक हजार पाँच सय बढी विद्यार्थी छन् । अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने बैजनाथका खत्रीले गत वर्षदेखि व्यवसथापन समिति नेतृत्व गरेका छन् ।
बैजनाथलाई देशकै उत्कृष्ठ शैक्षिक गन्तव्य बनाउने लक्ष्य राखेर अध्यक्ष विद्यालय सुधारका लागि सक्रिय भएर लागेका छन् । विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गरी विद्यालयलाई नमूना बनाउने चाहना अध्यक्ष खत्रीको छ ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद् प्रो. डा. केदार भक्त माथेमाको प्रमुख आतिथ्यमा सम्मेलन उद्घाटन गरिएको थियो ।
