ghar sansar

सुदूरपश्चिममा धार्मिक पर्यटनः आस्था, सम्भावना र समृद्धिको मार्ग

khasi

शंकरदत्त भट्ट

सुदूरपश्चिम प्रदेशलाई धेरैले भौगोलिक रूपमा टाढाको प्रदेशका रूपमा परिचय दिने गरेका छन् । तर, यही प्रदेश आस्था, लोक संस्कृति, देवस्थल, जात्रा, मेला र प्राकृतिक सौन्दर्यले भरिएको आध्यात्मिक भूगोल पनि हो ।यहाँका धार्मिक स्थलहरू केवल पूजा–पाठका स्थान मात्र होइनन्; ती स्थानीय समाजको इतिहास, संस्कृति, सामूहिक स्मृति र जीवनशैलीसँग जोडिएका पहिचानका आधार हुन् । धार्मिक पर्यटनलाई अब केवल मौसमी तीर्थ यात्रा वा मेला–जात्रामा सीमित राखेर हेर्ने समय सकिएको छ । यसलाई स्थानीय रोजगारी, समुदायको आयआर्जन, सांस्कृतिक संरक्षण, उद्यमशीलता र प्रदेश समृद्धिसँग जोड्न सकिने बलियो विकासमा ध्यमका रूपमा लिनु पर्छ।

सुदूरपश्चिमका धार्मिक गन्तव्यहरूलाई योजनाबद्ध रूपमा विकास गर्न सके प्रदेशले घरेलु पर्यटन, सीमापार भारतीय धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्छ । आस्था र पहिचानको प्रदेश सुदूरपश्चिमका मन्दिररधामहरू स्थानीय समाजको विश्वास प्रणाली, संस्कृति र सामुदायिक पहिचानका केन्द्र हुन् । डोटीको शैलेश्वरी, दार्चुलाको मालिकार्जुन, बैतडीको निङ्गलासैनी, कैलालीको गोदावरीधाम, बेहडाबाबाधामर कञ्चनपुरको सिद्धबाबा (ब्रम्हदेव) मन्दिर जस्ता स्थलहरूले सुदूरपश्चिमको धार्मिक पहिचानलाई जीवन्त बनाएका छन्।यी गन्तव्यहरूमा स्थानीय भक्तजन मात्र होइन, अन्य जिल्लाबाट आउने श्रद्धालु, छिमेकी भारतबाट आउने आगन्तुक र सांस्कृतिक रुचि भएका पर्यटकलाई आकर्षित गर्ने क्षमता छ ।

प्रदेश सरकारको आधिकारिक पोर्टलर ग्यालरीमा समेत विभिन्न धार्मिक तथा सांस्कृतिक गन्तव्यहरू समावेश हुनु आफैंमा तिनको प्रदेश स्तरीय महत्वको संकेत हो ।यसले सुदूरपश्चिमको धार्मिक पर्यटन केवल स्थानीय आस्थाको विषय नभई प्रदेशको पहिचान, प्रचार र विकास रणनीतिसँग जोडिन सक्ने क्षेत्र होभन्ने स्पष्ट गर्छ ।

राष्ट्रिय तथ्यांकले देखाएको अवसर

पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ । नेपाल पर्यटन तथ्याङ्क (२०२४) मा आधारित तथ्यांक अनुसार सन् २०२४ मा नेपालमा करिब ११.४८ लाख विदेशी पर्यटक आएका छन् । औसत बसाइ १३.३ दिन रहेको छ भने पर्यटनबाट करिब ६२३.४ मिलियन अमेरिकी डलर आम्दानी भएको  देखिन्छ ।यो तथ्यांकले नेपालमा पर्यटन पुनरुत्थान हुँदै गएको र धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटनलाई योजनाबद्ध रूपमा अघि बढाउन सकिने अवसर रहेको संकेत गर्छ ।

नेपालको पर्यटन प्रायः हिमाल, पदयात्रा र प्राकृतिक सौन्दर्यसँग मात्र जोडेर बुझ्ने गरिए पनि धार्मिक पर्यटनले पनि ठूलो सम्भावना बोकेको छ। पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाम जस्ता गन्तव्यहरूले नेपालमा धार्मिक पर्यटकको स्थायी बजार रहेको देखाएका छन् ।यही राष्ट्रिय अनुभवलाई आधार मानेर सुदूरपश्चिमले आफ्ना धार्मिक गन्तव्यहरूलाई पहिचान,  पूर्वाधार र प्रचारसँग जोड्न सके प्रदेशले पनि राष्ट्रिय पर्यटन प्रवाहबाट लाभ लिन सक्छ ।

प्रमुख धार्मिक गन्तव्यहरूको परिचय

शैलेश्वरी मन्दिर, सिलगढी, डोटीः शैलेश्वरी मन्दिर डोटीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको प्रमुख शक्तिपीठका रूपमा परिचित छ । स्थानीय जनविश्वास, पर्व–पूजा र परम्परागत धार्मिक अभ्यासका कारण यो मन्दिर डोटीको सांस्कृतिक जीवनको केन्द्र बनेको छ ।दशैं तथा विशेष धार्मिक अवसरमा यहाँ भक्तजनको उल्लेखनीय उपस्थिति रहने गर्दछ । यसलाई धार्मिक–सांस्कृतिक पर्यटनको रूपमा विकास गर्न सके डोटीको स्थानीय व्यापार, आवास सेवा र सांस्कृतिक पहिचानलाई बलियो बनाउन सकिन्छ ।

मालिकार्जुन मन्दिर, दार्चुलाः मालिकार्जुन दार्चुलाको धार्मिक आस्था र पहाडी सांस्कृतिक सम्बन्धको प्रतीक हो।दार्चुला भौगोलिक रूपमा दुर्गम भए पनि यसको धार्मिक र सांस्कृतिक महत्व विशिष्ट छ । मालिकार्जुनलाई दार्चुला, बैतडी र भारतसँगको सीमावर्ती सांस्कृतिक आवागमनसँगजोड्न सके पहाडी धार्मिक पर्यटनको नयाँ मार्ग विकास हुन सक्छ ।

गोदावरीधाम, अत्तरिया, कैलालीः गोदावरीधाम तराई क्षेत्रमा अवस्थित पहुँचयोग्य धार्मिक गन्तव्य हो । सडक, बजार, आवास र यातायातसँग नजिक भएकाले यसले घरेलु धार्मिक पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना राख्छ । कैलाली र कञ्चनपुर क्षेत्रका भक्तजनसँगै अन्य जिल्लाबाट आउने आगन्तुकका लागि पनि यो सहज गन्तव्य बन्न सक्छ ।योजनाबद्ध सरसफाइ, पार्किङ, नदी÷घाट व्यवस्थापन र धार्मिक–सांस्कृतिक कार्यक्रमको प्रचार भएमा गोदावरीधाम सुदूरपश्चिमको प्रमुख धार्मिक प्रवेशद्वार बन्न सक्छ ।

बेहडाबाबाधाम, कैलालीः बेहडाबाबाधाम कैलाली जिल्लाको महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित छ ।स्थानीय भक्तजनको आस्था, मेला–पर्व, पूजा–परम्परा र सहज पहुँचका कारण यस धाम लेकैलालीको धार्मिक पर्यटनलाई बलियो बनाउन सक्छ। गोदावरीधाम, बेहडाबाबा र कञ्चनपुरको सिद्धबाबा क्षेत्रलाई एउटै तराई धार्मिक पर्यटन मार्गका रूपमा जोड्न सके सुदूरपश्चिमको दक्षिणी भूभाग घरेलु तथा सीमापार भारतीय धार्मिक पर्यटकका लागि आकर्षक बन्न सक्छ ।यसका लागि सडक पहुँच, सरसफाइ, पार्किङ, सूचना बोर्ड, पूजा सामग्री बजार, स्थानीय परिकार र साना व्यवसायलाई व्यवस्थित गर्न आवश्यक छ ।

निङ्गलासैनी मन्दिर, बैतडीः निङ्गलासैनी मन्दिर बैतडीको पहाडी आस्था, स्थानीय धार्मिक परम्परा र सांस्कृतिक निरन्तरतासँग जोडिएको गन्तव्य हो । यसले बैतडीको धार्मिक पहिचानलाई प्रदेश स्तरमा चिनाउने क्षमता राख्छ ।यहाँको धार्मिक वातावरण, स्थानीय पर्व र सामुदायिक सहभागितालाई व्यवस्थित पर्यटन सेवासँग  जोड्न सके स्थानीय युवालाई गाइड, यातायात, भोजन र सूचना सेवामा अवसर सिर्जना गर्न सकिन्छ ।

सिद्धबाबा÷सिद्धनाथ मन्दिर, ब्रह्मदेव, कञ्चनपुरः सिद्धबा बावा सिद्धनाथ मन्दिर भारतसँगको सीमा नजिक रहेको कञ्चनपुरको महत्वपूर्ण धार्मिक स्थल हो । यसको विशेषता केवल स्थानीय आस्थामा सीमित छैन ; यो भारतको उत्तराखण्डस्थित पूर्णागिरि मातासँग जोडिएको धार्मिक विश्वास र सीमापार तीर्थ यात्राको परम्परासँग पनि सम्बन्धित छ । जनविश्वास अनुसार पूर्णागिरिमाताको दर्शनपछि ब्रह्मदेवस्थित सिद्धबाबाको दर्शन गरेपछि मात्र तीर्थयात्रा पूर्ण हुन्छ । यही विश्वासका कारण पूर्णागिरि मेला र चैत्र नवरात्रिका समयमा भारतीय भक्तजन महेन्द्रनगर–ब्रह्मदेव क्षेत्रमा आउने गर्छन् । यसलाई व्यवस्थित गर्न सके सिद्धबाबा क्षेत्रसीमा पार धार्मिक पर्यटन, स्थानीय व्यापार, होटल–रेस्टुरेन्ट, पूजा सामग्री बजा र र सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण केन्द्र बन्न सक्छ ।

सुदूरपश्चिमको वास्तविक सम्भावना र अन्तर्राष्ट्रिय सम्बन्ध

सुदूरपश्चिममा धार्मिक पर्यटनको सम्भावना केवल विश्वासमा आधारित छैन; यहाँ सेवा–सुविधा र स्थानीय व्यवसायिक आधार पनि विस्तार हुँदै गएको छ । राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण, २०२३÷२४ अनुसार सुदूरपश्चिममा छोटो अवधिका आवास सम्बन्धी १,३०१ स्थापना, ६,३७३ रेस्टुरेन्ट तथा मोबाइल फुड सेवा स्थापना र ५४५ पेय पदार्थ सेवा स्थापना रहेका छन् । यो तथ्यांकले प्रदेशमा पर्यटन सेवाको आधारभूत संरचना विस्तार हुँदै गएको देखाउँछ ।

अब चुनौती भनेको यही संरचनालाई धार्मिक पर्यटनसँग जोड्नु हो ।  मन्दिरसम्म पुग्ने बाटो, स्थानीय होटल तथा लज, भोजनालय, यातायात, पूजा सामग्री पसल, स्थानीय उत्पादन बजार र सामुदायिक सेवा बीच समन्वय हुन सके धार्मिक पर्यटन स्थानीय अर्थतन्त्र चलायमान बनाउने माध्यम बन्न सक्छ । यसका लागि धार्मिक स्थललाई अलग–अलग रूपमा होइन, एकीकृत धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न आवश्यक छ ।

सुदूरपश्चिम भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँग सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध राख्ने प्रदेश हो ।पारिवारिक सम्बन्ध, व्यापारिक आवागमन, धार्मिक समानता र सीमावर्ती खुलापनका कार ण यहाँ सीमापार धार्मिक पर्यटनको राम्रो सम्भावना छ । त्यसैले धार्मिक पर्यटनको योजना बनाउँदा केवल घरेलु पर्यटक होइन, भारतीय तीर्थयात्री र सांस्कृतिक पर्यटकलाई पनि लक्षित गर्नु पर्छ ।

पूर्णागिरि–सिद्धबाबा सम्बन्धः सीमापार धार्मिक पर्यटनको बलियो आधार

सुदूरपश्चिमको धार्मिक पर्यटनलाई भारतसँग जोड्ने सबैभन्दा जीवन्त उदाहरण पूर्णागिरि–सिद्धबाबा धार्मिक सम्बन्ध हो । भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लास्थित टनकपुर नजिक रहेको पूर्णागिरि मन्दिर र नेपालको कञ्चनपुर, ब्रह्मदेव क्षेत्रमा रहेको सिद्धबाबा÷सिद्धनाथ मन्दिर बीच गहिरो धार्मिक सम्बन्ध रहेको जनविश्वास छ ।पूर्णागिरि मन्दिर भारततर्फ शारदा÷महाकाली नदी किनारको पहाडी क्षेत्रमा अवस्थित प्रसिद्ध शक्तिपीठ हो, जहाँ विशेष गरी चैत्र नवरात्रि र पूर्णागिरि मेलाका समयमा ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन् ।भारतको चम्पावत जिल्ला प्रशासनले पूर्णागिरिलाई टनकपुरबाट करिब २० किलोमिटर टाढा रहेको र चैत्र नवरात्रिका बेला देशका विभिन्न भागबाट भक्तजन आउने महत्वपूर्ण धार्मिकस्थलका रूपमा उल्लेख गरेको छ ।

धार्मिक मान्यता अनुसार पूर्णागिरिमाताको दर्शनपछि सिद्धबाबाको दर्शन गरेपछि मात्र तीर्थयात्रा पूर्ण हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।परम्परागत कथनमा सिद्धबाबा पूर्णागिरि माताका भक्त थिए र पूर्णागिरिले आफ्नो दर्शनपछि सिद्धबाबाको पनि दर्शन गर्नुपर्ने वरदान दिएको मानिन्छ ।यही कारण भारतबाट पूर्णागिरि दर्शन गर्न आएका धेरै भक्तजन नेपालतर्फ महेन्द्रनगर÷ब्रह्मदेव पुगेर सिद्धबाबाको दर्शन गर्ने परम्परा छ ।

यो सम्बन्ध केवल धार्मिक विश्वासको विषय मात्र होइन, सीमापार धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रको ठूलो अवसर पनि हो । पूर्णागिरि मेला चल्ने समयमा महेन्द्रनगर, ब्रह्मदेव, गड्डाचौकी, बनबासा र आसपासका बजारमा भक्तजनको चहलपहल बढ्ने गर्छ । भारतीय भक्तजन नेपालतर्फ प्रवेश गर्दा यातायात, पूजा सामग्री, प्रसाद, भोजनालय, होटल, स्थानीय बजार, साना पसल र धार्मिक सेवामा खर्च गर्छन् । यसले कञ्चनपुरको स्थानीय व्यापार, रोजगारी र साना उद्यमलाई प्रत्यक्ष लाभ दिन सक्छ । यसैले सुदूरपश्चिम प्रदेशले पूर्णागिरि–सिद्धबाबा सम्बन्धलाई औपचारिक सीमापार धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्नु पर्छ । यसका लागि गड्डाचौकी–ब्रह्मदेवमार्गमा सूचना केन्द्र, सरसफाइ, सार्वजनिक शौचालय, सुरक्षित यातायात, पार्किङ, धार्मिक मार्ग चित्र, दुई भाषी सूचना बोर्ड, डिजिटल प्रचार र स्थानीय उत्पादन बजारको व्यवस्था गर्न सकिन्छ । पूर्णागिरि–सिद्धबाबा सर्किटलाई गोदावरी धाम, बेहडाबाबा, शैलेश्वरी, निङ्गलासैनी र मालिकार्जुनसँग जोड्न सके सुदूरपश्चिमको धार्मिक पर्यटन केवल स्थानीय आस्थामा सीमित नरही नेपाल–भारत सांस्कृतिक सम्बन्ध र सीमापार आर्थिक गतिविधिको बलियो आधार बन्न सक्छ ।

घरेलुर भारतीय आगन्तुकः मुख्य बजार

राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण, २०२३÷२४ अनुसार सुदूरपश्चिमका होटल तथा आवासमा बस्ने आगन्तुकमध्ये ९३.८ प्रतिशत नेपाली, ५.१ प्रतिशत भारतीय र ०.९ प्रतिशत अन्य विदेशी रहेका छन् । यो तथ्यांकले सुदूरपश्चिमको तत्कालीन पर्यटन बजार मुख्यतःघरेलु र सीमापार भारतीय आगन्तुकमा आधारित रहेको देखाउँछ ।

यसको स्पष्ट नीतिगत अर्थ छ । पहिलो चरणमा प्रदेशले घरेलु धार्मिक पर्यटकलाई लक्षित गरी प्रचार, पूर्वाधार र सेवा सुधारमा ध्यान दिनु पर्छ । दोस्रो चरणमा भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको धार्मिक पर्यटन सर्किट विकास गर्नु पर्छ । भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँग सुदूरपश्चिमको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो भएकाले सीमापार धार्मिक पर्यटनलाई व्यवस्थित बनाउने ठूलो सम्भावना छ ।

भारतको अनुभवः  तीर्थ–पर्यटन अर्थतन्त्र

सुदूरपश्चिमले धार्मिक पर्यटन विकास गर्दा छिमेकी भारतको अनुभवबाट पनि सिक्न सक्छ । भारतमा विशेष गरी उत्तर प्रदेशले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास गरेको देखिन्छ । काशी विश्वनाथ, अयोध्या, प्रयागराज र मथुरा–वृन्दावन जस्ता धार्मिक गन्तव्यहरू केवल पूजा–आराधनाका केन्द्र मात्र होइनन्; ती होटल, यातायात, प्रसाद सामग्री, हस्तकला, फूलमाला, भोजनालय, गाइड सेवा, साना पसल, नदी–घाटसेवा र स्थानीय रोजगारीसँग जोडिएका ठूला आर्थिक केन्द्र पनि बनेका छन् ।

धार्मिक गन्तव्यमा आउने ठूलो संख्याका भक्तजन र पर्यटकले गर्ने खर्चले स्थानीय अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्छ । भारतको सरकारी समाचार संस्था News on Air  का अनुसार काशी विश्वनाथधाम करिडोर उद्घाटनपछि २५.२८ करोड भन्दा बढी भक्तजनले दर्शन गरेका र करिब १.२५ लाख करोड बराबरको आर्थिक गतिविधि उत्तर प्रदेशको अर्थतन्त्रमा प्रवाह भएको अनुमान गरिएको छ ।

dirghayi clinic

यस उदाहरणले सुदूरपश्चिमका लागि महत्त्वपूर्ण सन्देश दिन्छ । यदि शैलेश्वरी, निङ्गलासैनी, मालिकार्जुन, गोदावरीधाम, बेहडाबाबा, सिद्धबाबा र अन्य धार्मिक गन्तव्यहरूलाई सडक, सरसफाइ, सूचना, सुरक्षा, स्थानीय बजार, होमस्टे, प्रसाद सामग्री र सांस्कृतिक कार्यक्रमसँग जोड्न सकियो भने धार्मिक पर्यटनले मन्दिर परिसर मात्र होइन, वरपरको गाउँ–बजार र स्थानीय उत्पादन प्रणालीलाई पनि चलायमान बनाउन सक्छ ।

उत्तर प्रदेशको पर्यटन नीतिले होमस्टे, पर्यटन इकाइ, लगानी, प्रचार, संकेत बोर्ड र पर्यटन सेवा प्रदायकलाई संस्थागत ढंगले अघि बढाउने विषयलाई जोड दिएको देखिन्छ । सुदूरपश्चिमले पनि यसबाट सिक्दै धार्मिक स्थललाई केवल अलग–अलग मन्दिरका रूपमा होइन, धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्नु पर्छ ।भारतसँग जोडिएको सीमावर्ती भूगोल, नेपाली र भारतीय भक्तजनको सांस्कृतिक निकटता, स्थानीय मेला–जात्रा, प्राकृतिक सौन्दर्य र समुदायमा आधारित सेवा प्रणालीलाई एउटै योजनामा जोड्न सके सुदूरपश्चिमले धार्मिक पर्यटनलाई स्थानीय समृद्धिको व्यावहारिक आधार बनाउन सक्छ ।

समृद्धिसँग जोडिने बाटो

धार्मिक पर्यटक मन्दिर दर्शन गरेर मात्रै फर्किँदैनन् । उनीहरूले यातायात, खाना, बास, पूजा सामग्री, प्रसाद, स्थानीय उत्पादन, गाइ डसेवा, पार्किङ र स्मृति सामग्रीमा खर्च गर्छन् । यही खर्च होटल व्यवसायी, साना पसले, किसान, यातायात व्यवसायी, पुजारी, महिला समूह, युवा र स्थानीय उद्यमीसम्म पुग्न सक्छ ।

सुदूरपश्चिममा धार्मिक पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सकिए यसको आर्थिक प्रभाव अझ बढ्न सक्छ ।स्थानीय अन्न, फलफूल, दुग्धजन्य पदार्थ, जडीबुटी, हस्तकला, धार्मिक सामग्री, परम्परागत पोसाक र सांस्कृतिक स्मृति वस्तुहरू पर्यटन बजारसँग जोडिन सक्छन् । यसरी धार्मिक पर्यटनले केवल मन्दिरको आय बढाउने होइन, स्थानीय अर्थतन्त्रलाई बहुआयामिक रूपमा चलायमान बनाउने क्षमता राख्छ ।

स्थानीय शासनको भूमिका

धार्मिक पर्यटनको विकास मन्दिरको प्रसिद्धिमा मात्र निर्भ रहुँदैन; यसको मूल आधार व्यवस्थापन हो । स्थानी सरकारले मन्दिरसम्म पुग्ने सडक, पदमार्ग, शौचालय, खानेपानी, सरसफाइ, प्रकाश, सुरक्षा, पार्किङ, सूचना बोर्ड र विश्राम स्थललाई प्राथमिकता दिनु पर्छ । धार्मिक स्थलमा आउने भक्तजनको संख्या, मेला–जात्राको समय, खर्चको ढाँचा र सेवा आवश्यकताको अभिलेखीकरण गर्न पनि स्थानीय तहले ध्यान दिनु पर्छ ।

मन्दिर व्यवस्थापन समिति, स्थानीय तह, समुदाय, युवा क्लब, महिला समूह र व्यवसायी बीच समन्वय संयन्त्र बन्नु पर्छ । भेटी, दान र सहयोगको पारदर्शी अभिलेखीकरण गरी त्यसलाई संरक्षण, सरसफाइ, भक्तजन सुविधा र समुदाय हितमा लगानी गर्नु पर्छ ।यस्तो पारदर्शी व्यवस्थापनले स्थानीय विश्वास बढाउँछ र धार्मिक स्थलको दिगो विकासमा सहयोग पुर्याउँछ ।

समुदायको सहभागिता र दिगोपन

समुदाय सहभागी नभएको पर्यटन दिगो हुँदैन । स्थानीय बासिन्दा धार्मिक सम्पदाका संरक्षक हुन् । उनीहरूलाई होमस्टे, स्थानीय परिकार, हस्तकला, प्रसाद सामग्री, सांस्कृतिक कार्यक्रम, गाइड सेवा, सरसफाइ अभियान र डिजिटल प्रचारमा जोड्न सकिन्छ ।

महिला समूहले स्थानीय खानपान, प्रसाद सामग्री, हस्तकला र आतिथ्य सेवा मार्फत आय आर्जन गर्न सक्छन् ।युवाहरूले सामाजिक सञ्जाल, डिजिटल नक्सा, सूचना केन्द्र, स्वयं सेवा र गाइड सेवा मार्फत धार्मिक पर्यटनलाई आधुनिक रूप दिन सक्छन् । दलित, विपन्न र सीमान्तकृत समुदायलाई समेत धार्मिक पर्यटन सेवामा जोड्न सके पर्यटन समावेशी विकासको माध्यम बन्न सक्छ ।

नीतिगत कार्यदिशा

अब सुदूरपश्चिमले धार्मिक पर्यटनलाई छुट्टाछुट्टै मन्दिरको प्रवद्र्धनका रूपमा मात्र होइन, एकीकृत  धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्नु पर्छ । शैलेश्वरी–निङ्गलासैनी–मालिकार्जुन–गोदावरीधाम–बेहडाबाबा–सिद्धबाबा–पूर्णागिरि सम्बन्ध जस्ता गन्तव्य तथा धार्मिक सम्बन्धलाई सडक, सूचना, प्रचार, सुरक्षा र सेवा–सुविधाका हिसाबले जोड्नु पर्छ ।

प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका धार्मिक स्थलको अभिलेखीकरण, पूर्वाधार योजना, वातावरणीय संरक्षण योजना र स्थानीय उद्यम प्रवद्र्धन कार्यक्रम तयार गर्नु पर्छ । प्रदेश सरकारले प्राथमिक धार्मिक पर्यटन सर्किट पहिचान गरी बजेट, प्रचार, डिजिटल सूचना प्रणाली र निजी क्षेत्रसँगको सहकार्यलाई स्पष्ट कार्य योजनासँग जोड्नु पर्छ ।धार्मिक पर्यटन विकास गर्दा फोहोर व्यवस्थापन, सांस्कृतिक मर्यादा, धार्मिक संवेदनशीलता र स्थानीय स्वामित्वलाई अनिवार्य शर्त बनाइनु पर्छ ।

भारतको उत्तर प्रदेशमा देखिएको तीर्थ–पर्यटन अर्थतन्त्रको अनुभवले के देखाउँछ भने धार्मिक सम्पदा आफैंमा विकासको साधन हुँदैन; त्यसलाई पूर्वाधार, सेवा, प्रचार, सुरक्षा, स्थानीय उद्यम र समुदायको सहभागितासँग जोड्दा मात्र आर्थिक प्रभाव देखिन्छ । सुदूरपश्चिमले पनि आफ्ना धार्मिक स्थलहरूलाई त्यही दृष्टिले हेर्नु पर्छ ।

निष्कर्ष
सुदूरपश्चिमको धार्मिक पर्यटन आस्था, सम्भावना र समृद्धिको त्रिकोणमा उभिएको छ। आस्था यहाँको सामाजिक शक्ति हो, सम्भावना यहाँका धार्मिक स्थल र प्राकृतिक–सांस्कृतिक सम्पदामा छ, र समृद्धिको मार्ग स्थानीय शासन, समुदायको सहभागिता र नीतिकार्यान्वयनबाट खुल्छ ।

अब आवश्यक कुरा नयाँ नारा होइन, कार्यान्वयन हो । धार्मिक सम्पदालाई संरक्षण गर्दै, स्थानीय समुदायलाई साझेदार बनाउँदै र पर्यटनलाई रोजगारी तथा आय आर्जनसँग जोड्दै अघि बढ्न सके सुदूरपश्चिम नेपालको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ । मन्दिरको दान–भेटीभन्दा ठूलो कुरा तीर्थयात्रीले स्थानीय अर्थतन्त्रमा गर्ने खर्च, रोजगारी सिर्जना, साना व्यवसायको विस्तार र सांस्कृतिक पहिचानको संरक्षण हो । यसका लागि स्थानीय तह, प्रदेश सरकार, समुदाय, निजी क्षेत्र र धार्मिक व्यवस्थापन समितिहरूबीच सहकार्य अपरिहार्य छ ।

लेखक :  नेपालमा धार्मिक पर्यटन विषयमा विद्यावारिधि तहका शोधार्थी हुन्  ।  लृेखकका अनुसन्धान विशेष गरी नेपालका प्रमुख धार्मिक तीर्थ स्थलहरू, तीर्थयात्रीका खर्च व्यवहार, स्थानीय व्यवसायमा पर्ने प्रभाव र धार्मिक पर्यटनको दिगो विकाससँग सम्बन्धित छ ।

आधार स्रोतहरू

Government of Nepal, Ministry of Culture, Tourism and Civil Aviation. (2024). Nepal Tourism Statistics 2024.

National Statistics Office. (2025). Nepal in Figures 2025.

National Statistics Office. (2024). Statistical Pocket Book Nepal 2024.

National Statistics Office. (2023/24). National Hotel and Restaurant Survey 2023/24.

Office of the Chief Minister and Council of Ministers, Sudurpashchim Province. Official portal and gallery.

Sudurpashchim Province Government. Sudurpashchim Province Tourism Master Plan.

News on Air. (2025). Kashi Vishwanath Dham Corridor Boosts Uttar Pradesh Economy by ₹1.25 Lakh Crore Since 2021.

Government of Uttar Pradesh / Invest UP. Tourism Policy 2022.

District Administration Champawat, Uttarakhand. Purnagiri tourist place information.

Kantipur/eKantipur. News report on Purnagiri–Siddhababa religious relationship.

Ratopati English. Report on Indian pilgrims visiting Mahendranagar/Brahmadev after Purnagiri fair.

 

 

Himal dental
सम्बन्धित
Loading...