
यस्तो थियो गठबन्धन सरकारले कटौती गरेको प्रदेश सभा सदस्यका उम्मेदवार विष्टको महेन्द्रनगर स्मार्ट सिटी योजना
भीमदत्तका तत्कालिन प्रवक्ता चन्द भन्छन्– अरुमा सकिएन, स्मार्ट सिटी योजना कटौती गरी रिस फेरियो


महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेशमा सभा सदस्यमा एमालेले भीमदत्तको महेन्द्रनगर स्मार्ट सिटीको योजना कटौतीलाई चुनावी प्रचारमा व्यापक बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारले अघिल्लो आर्थिक वर्ष बजेट सुनिश्चिता सहित महेन्द्रनगर स्मार्ट सिटीको योजना ल्याएको थियो ।
ओली नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन बजेट ल्याएर स्मार्ट सिटीको योजना कटौती गरेको थियो । महेन्द्रनगर स्मार्ट सिटीका लागि एक अर्ब बजेट सहित योजना आएको हो ।
भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टले महेन्द्रनगर स्मार्ट सिटीको योजना कटौती गरिएको असन्तुष्टिलाई चुनावी प्रचारमा व्यक्त गरेका छन् । उनले विकासका योजना कटौती गरी निर्वाचनमा विकास गर्छौ भनेर मत माग्न जनतालाई ढाँट्ने बाहेक अरु बहाना नभएको बताए ।
‘अहिले विकास गर्छौ भनेर मतदाताका घरमा आएका छन्, म भीमदत्तको मेयर हुँदा स्मार्ट सिटीका लागि आएको योजना हाम्रो सरकार ढलेपछि कटौती गरिएको छ,’ उनले भने,‘स्मार्ट सिटीको बजेट कटौती गर्नेले कहिल्यै विकास गर्दैनन्, भ्रम छर्ने बाहेक अरु केही काम छैन ।’
भीमदत्त नगरपालिकाका निवर्तमान मेयर विष्ट अहिले निर्वाचन क्षेत्र नं. ३ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । उनी पाँच वर्षे विकासका योजना लिएर भीमदत्त र दोधारा चाँदनी नगरपालिका दुबै क्षेत्रका मतदाताका घरदैलोमा पुगेका छन् ।
स्मार्ट सिटीका लागि स्मार्ट सहरी पार्क एवम् सौन्र्दयीकरण, स्मार्ट सहरी सडक र नदी किनार सौन्र्दयीकरण तथा विकासका योजना समावेश गरिएका थिए । यी तीन योजनाभित्र डेढ दर्जन योजना कार्यान्वयनका लागि छनौट गरिएका थिए ।
स्मार्ट सहरी पार्क एवम् सौन्र्दयीकरणमा सहिद पार्क, भीमदत्त पार्क, सहरी पार्किङ्ग, वसपार्क, खुला मञ्च, नगर पुस्तकालय र इको पार्कका योजना समावेश गरिएका छन् ।

निवर्तमान मेयर विष्टले आकाशे पुल सहितको ६ सडक बनाउने सहितका योजना स्मार्ट सहरी सडकमा राखिएका छन् । त्यसमा रेडक्रस सडक, कबर्ड हल, सब्जीमण्डी राजमार्ग, एयरपोर्ट ऐरीघाट, आकाशे पुल र सब्जीमण्डी नाली सुधारका छन् ।
स्मार्ट शौचालय, स्मार्ट लाइट जडान र डिजिटल साइनेज तथा सूचना बोर्डका योजना नदी किनार सौन्र्दयीकरण तथा विकासमा राखिएका थिए । भीमदत्त नगरपालिकाको कार्यपालिकाबाट पारित गरिएका ती सबै योजना छनौट गरिएका थिए ।
निवर्तमान मेयर विष्टले निवर्तमान साँसदद्वय डा.दिपक प्रकाश भट्ट र निरुदेवी पालसित समन्वय गरी तत्कालिन प्रधानमन्त्री ओलीसम्म योजना पुगाएर छनौट गराएका थिए । ओली नेतृत्वको सरकार ढलेपछि ती प्रतिस्थान बजेटबाट स्मार्ट सिटीको योजना कटौती गरिएको थियो ।
गठबन्धन नेतृत्वको सरकार बनेपछि सरकारको साझा नीति तथा कार्यक्रम बनाउने समितिमा काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखक सदस्य भएका थिए । उनी अहिले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका छन् ।
एमालेका उम्मेदवारले लेखकको नाम नलिई चुनावी प्रचारमा उनीमाथि स्मार्ट सिटीको योजना कटौती गरिएको आरोप लगाउँदै आएका छन् । लेखकले अझैसम्म एमालेको आरोपबारे आफ्नो धारणा बाहिर ल्याएका छैनन् ।
अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि उनलाई काम गर्न नदिने गरी रोक्ने प्रयास गरिएको थियो । ती सबै प्रयासका असफल पारेका उनलाई अन्तिममा उनले ल्याएको स्मार्ट सिटी योजना कटौती गरिएको थियो ।
भीमदत्त नगरपालिकाका तत्कालिन नगर प्रवक्ता हिमाल बहादुर चन्दले तत्कालिन मेयरलाई कुनै काम गर्न नदिने योजना अनुसार चौतर्फी प्रहार गरिएको बताए ।
‘सुरुदेखि रोक्न प्रयास गरिएको थियो, यो सबैलाई जगजाहेर नै छ’ उनले भने,‘त्यहीं रोक्ने योजना अनुसार नै स्मार्ट सिटी योजना कटौती नगरलाई ठूलो घाटा लगाइएको छ, अहिले मतदाताले राम्रोसंग बुझेका छन् ।’
सुदूरपश्चिममा भीमदत्त र अमरगढी नगरपालिका स्मार्ट सिटीका लागि छनौट गरिएका थिए । त्यस बाहेक झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रूपन्देहीको लुम्बिनी र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको थियो ।
