

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षको रातो किताबमा समावेश गत आर्थिक वर्षको आन्तरिक आम्दानी भन्दा बढी रकम सार्वजनिक सुुनवाईमा प्रस्तुत गरेको छ ।
भीमदत्त नगरपालिकाको नगर सभामा प्रस्तुत गरिएको गत आर्थिक वर्षको प्रगति प्रतिवेदनमा आन्तरिक आम्दानी समावेश गरिएको छ । त्यसमा भीमदत्तले गत आर्थिक वर्षमा २७ करोड ५४ लाख आन्तरिक आम्दानी भएको उल्लेख गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले गत आर्थिक वर्ष सहित २०७४÷०७५ देखिको आन्तरिक आम्दानी प्रस्तुत गरेका थिए । त्यसमा २०७९÷०८० मा २७ करोड आम्दानी भएको उल्लेख गरिएको छ ।
भीमदत्तको १३ र्औं नगर सभाबाट चालु आर्थिक वर्षका लागि पारित नीति, कार्यक्रम तथा बजेट पुस्तिकामा गत आर्थिक वर्षमा २१ करोड ३० लाख आन्तरिक आम्दानी गरिएको छ । बजेट पुस्तिकाको अनुसूची ७ मा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को आन्तरिक स्रोततर्फको यथार्थ विवरण भनेर उल्लेख गरिएको छ ।

उक्त अनुसूचीमा नगरपालिकाले विभिन्न ३८ स्रोतबाट आन्तरिक आम्दानी भएको उल्लेख गरिएको छ । भीमदत्तले चालु आर्थिक वर्षका लागि २६ करोड ५८ आन्तरिक आम्दानी हुने अनुमान गरेको छ । भीमदत्तले चालु आर्थिक वर्षका लागि एक अर्ब ८१ करोडको बजेट ल्याएको थियो ।
शुक्लाफाँटा मिडिया प्रालिले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भीमदत्तका मेयर पदम बोगटी, नगर प्रवक्ता महेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत गौली सहितका सहभागी भएका छन् ।
सार्वजनिक सुनुवाई उद्घाटन कार्यक्रममा भीनपा १० का वडा अध्यक्ष महेश चन्दले सार्वजनिक सुनुवाई हलमा गरिएको भन्दै आपत्ति जनाएपछि केही समय लफडा मच्चिएको छ ।


