

भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको १५ दिन बिति सकेका छन् । यो अवधिमा उनको मृत्युको विषयलाई लिएर विभिन्न शंका उपशंकाहरु भइरहेका छन् । घटना भएपछि यसरी शंका उप शंका गरिनु अस्वभाविक होइन । घटनाको प्रकृति हेरेपछि प्रहरीले पाइपमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको थियो । उनुसन्धान गर्ने निकाय नै प्रहरी भएकोले प्रहरीले भनेको कुरा सबैका लागि सर्वस्वीकार्य हुने नै भयो । तर यो १५ दिनको अवधिमा विभिन्न थरीका कुराहरु बाहिरिन थालेका छन् ।

मृतक खडकाले लगाएको हेलमेटमा कुनै क्षति नभएको तर खडकाको आँखाको माथि र निधारमा गहिरो चोट लागेकोले शंका पैदा गरेको छ । यो अवधिमा प्रहरीले आप्mनो किसिमले अनुसन्धान अगाडि बढाएकै होला तर जुन होटेलमा उहाँहरुले मदिरा सेवन गरेरका थिए त्यहा ठूलो झगडा परेको र मृतक खडका झगडा भएसंगै हिँडेको भन्ने कुरा बाहिर आएको छ । नेपाल विद्यार्थी संघ कञ्चनपुरले पनि समिति गठन गरी सम्बन्धि घट्नाको छानबिन गर्न स्थानीय प्रशासनसित माग गरेको छ ।

नरेश पण्डित नेतृत्वको नेवि संघले बुधबार सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई वडा अध्यक्ष खड्काको मृत्यु छानबिनका लागि समिति गठन लगायतका ६ बँुँदे माग राखेर माग पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघको माग मात्र नभएर खड्काको मृत्युको घटनाको सत्यतथ्य छानविन हुनु पर्ने माग सबैको हो । अनुसन्धानको क्रममा रहेको प्रहरी प्रशासनले आप्mनो तरिकाले अनुसन्धान गरेकै होला तर जनताको माग छिटो अनुसन्धान गरियोस र सत्यतथ्य बाहिर आओस भन्ने हो । प्रहरी अनुसन्धानमा ढिलाई हँुदै जाने हो भने कर्तव्यले मृत्यु भएको भए धेरै प्रमाणहरु मासिन सक्छन् र दोषी पत्ता नलाग्न सक्छ भन्ने चिन्ता नगरवासीको हो । हुन त प्रहरीले धेरैसंग सोधपुछ गरेको भन्ने सुन्नमा आएको छ तर प्रहरीले यसरी सामान्य सोधपुछ गर्दैमा घटनाको वास्तविकतासम्म पुग्न नसकिएला ।
त्यसैले बजारमा आएको हल्ला साँचो हो र होटेलमा झगडा भएको हो भने होटेलमा काम गर्ने र होटेल मालिक सबैलाई नियन्त्रणमा लिनु पर्दछ । यस्ता घटनाहरुको सतही अनुशन्धानले दोषी पत्ता लगाउन सकिदैन । यस्तै प्रकृतिको घटनाबाट धेरै वर्ष पहिला नगर विकास समितिको ईन्जिनियरको पनि मृत्यु भएको थियो । मोलमोलाइ र सौदाबाजीमा ईन्जिनियरले नमाने पछि हत्या गरिएको थियो । त्यति बेला पनि सतही अनुसन्धान र सोधपुछ मात्र गरेर फाइल नै बन्द गरिएको थियो । पछि मिडियाले धारावाही रुपमा खोजमूलक समाचार प्रकाशित गर्दै हत्याराहरुको हुलियासम्म सार्वजनिक गरेपछि प्रहरीले बाध्य भएर बन्द गरिएको फाइल खोल्नु प¥यो र हत्याराहरु पक्राउ परेका थिए । त्यसैले यस्ता घटनाहरुको गहिरो अनुसन्धान गरियोस र सत्यतथ्य सार्वजनिक गरियोस ।

