

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाले चौथो पटक चौथो पटक उत्कृष्ठ करदाता सम्मान पाएको छ ।
आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले सोमबार आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा बढी कर दाखिला गरी राजश्व संकलनमा पुगाएको योगदानका लागि सम्मान प्रदान गरेको हो ।

उदयदेब सहकारी यो सहित सम्मानित भएको यो चौथो पटक हो । गत वर्षदेखि सहकारीले लगातार सम्मान पाएको छ । त्यस अघि दुई पटक सम्मान पाएको थियो ।
आन्तरिक राजश्व कार्यालयमा गरिएको कार्यक्रममा सहकारीका उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट र प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सम्मान पत्र ग्रहण गरे ।
आन्तरिक राजश्व कार्यालयका ३३ हजार करदातामध्ये सबैभन्दा बढी कर दाखिला गरी सहकारीलाई सम्मान गरिएको छ ।

सम्मानपछि सहकारीका उपाध्यक्ष भट्टले सहकारीलाई सम्मान हुन आफूहरुको लागि गौरबको विषय भएको बताए ।

सुदूरपश्चिम प्रदेशका सबैभन्दा ठूलो सहकारीभित्र उदयदेय सहकारीले आफ्नो पहिचान बनाएको छ । सहकारीमा हाल २७ हजार शेयर सदस्य छन् ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका चौथो पटक सम्मानित हुन पाउँदा खुसी भएको बताए ।
‘यो सम्मान र उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र होइन, हाम्रा सम्पूर्ण २७ हजारभन्दा बढी शेयर सदस्यहरूको साझा गौरव र उपलब्धि हो । यसको सम्पूर्ण श्रेय हाम्रा आदरणीय सदस्यहरू, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूमा जान्छ’ उनले भने ।
आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्म कुमार भुसाल, प्रमुख जिल्ला अधिकारी मदन कोइराला र प्रमुख कर अधिकृत हरि आचार्य लगायतका सरकारी अधिकारी, उद्यमी व्यवसायी कार्यक्रममा सहभागी भएका छन् ।

