

महेन्द्रनगर । कञ्चनपुरमा आइतबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । मोर्चा आवद्ध चार दलले शुक्रबार पत्रकार सम्मेलन गरी आइतबार भानु पार्टी प्यालेशमा सन्देश सभा गरी मोर्चा घोषणा गर्ने जानकारी गराएका हुन् ।
कञ्चनपुरमा सत्तारुढ नेकपा माओवादी केन्द्र सहित सत्ता साझेदार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मोर्चामा आवद्ध छन् ।

कञ्चनपुरमा समाजवादी मोर्चाको जिल्ला संयोजन जिम्मा नेकपालाई दिइएको छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा नेताहरुले वैज्ञानिक समाजवादी स्थापनाका लागि समाजवादी दलहरुबीच मोर्चाबन्दी भएर अघि बढेको बताए ।

पत्रकार सम्मेलनमा समाजवादीका केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री लाल बहादुर खड्काले गणतन्त्र जोगाउन समाजवादी विचारधारा र लोकतन्त्रमा विश्वास गर्ने सबै राजनीतिक शक्तिसित सहकार्य गरी मोर्चा बनाएर अघि बढेको बताए । उनले मोर्चाले सत्ता भन्दा आन्दोलनका उपलब्धिको रक्षाका लागि मोर्चा बनाएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एबम् कञ्चनपुर इन्चार्ज विराट सी ले दलाल पूँजीबाद विरुद्ध सशक्त संघर्ष गर्नका समाजवाद मान्ने राजनीतिक दलहरु एक ठाउँमा आएको बताए ।
‘हामी कुनै सरकार सत्तामा छैनौ, दलाल पूँजीवाद विरुद्धको लडाई हो, त्यस विरुद्ध जाने सबै शक्ति एक ठाउँमा छौ’ उनले भने,‘सरकार जसको भएर पनि के भो त, कठपुतली छ, त्यसलाई दलाल पूँजीवादले चलाई रहेको छ ।’
आइतबार मोर्चा घोषणापछि त्यसलाई जिल्लाका पालिका स्तरसम्म पुगाउने नेताहरुले बताए ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता देबेन्द्र ढुङ्गाना, जनता समाजवादीका नेता सिता नागरी, समाजवादीका नेता बीर बहादुर बुढाथोकी, बिस्ना पन्त भट्ट, माओवादी केन्द्रका बिरेन्द्रराज विष्ट, नेकपाका विकास लगायतका नेताहरु सहभागी भएका छन् ।

