

महेन्द्रनगर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।
केन्द्रका अध्यक्ष कृष्ण प्रसाद बोकटीको अध्यक्षतामा केन्द्रका पदाधिकारी, सदस्य सहित विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् । कार्यक्रममा केन्द्रका प्रहरी सहायक हवल्दार देबकी भट्टलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक जोशीले प्रहरी सहायक हवल्दार भट्टलाई सम्मान प्रदान गरे ।

कार्यक्रममा प्रहरी उपरीक्षक जोशीले अपराध न्यूनीकरण, शान्ति सुरक्षा लगायतका लागि केन्द्रसित सहकार्य र समन्वय गरी प्रहरी कार्यालय अघि बढ्ने बताए । उनले सबै पक्षकोृ साथ र सहयोगले मात्रै कञ्चनपुरलाई सुन्दर र शान्त बनाउन सकिनेमा जोड दिए ।

‘प्रहरी र सामुदायिक सेवा केन्द्र मिलेर कञ्चनपुरलाई सुन्दर र शान्त बनाउन सकिन्छ, पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउन सकिन्छ, यहाँ विभिन्न धार्मिक तथा पर्यटकीय स्थल छन्’ उनले भने,‘त्यसका लागि आपशी सहयोग र सहकार्यको सधैं आवश्यकता हुन्छ ।’
प्रहरी उपरीक्षक जोशीले कञ्चनपुरमा लागु औषध दुव्र्यसनको समस्या भयावह रुपमा देखिएकाले त्यसलाई न्यूनीकरणका लागि सबैले ध्यान दिनु पर्ने औल्याए । लागु औषध न्यूनीकरणका लागि सञ्चालित जनचेतना मुलक कार्यक्रम प्रभावकारी हुनु पर्नेमा जोड दिए ।
‘अहिले यो भीमदत्तमा पनि हेर्ने हो भने ड्रग्सको समस्या धेरै नै छ, २०७७ को सर्भेक्षण अनुसार देशभर एक लाख ३० हजार सेवनकर्ता थिए, यस पटक पनि सर्भेक्षण हुँदैन, पहिलो सर्भेक्षण अनुसार काठमाडौंंपछि कैलाली दोस्रो नम्बरमा थियो’ उनले भने,‘अहिले यो संख्या धेरै नै पुग्छ होला, कञ्चनपुरमा पनि यो समस्या भयावह नै छ ।’
प्रहरी उपरीक्षक जोशीले केही दिन अघि कारागार अनुगमन जाँदा ५ सय २२ कैदीबन्दीमध्ये एक सय ९६ जना लागु औषधका मात्रै पाइएको बताए ।

लागु औषध न्यूनीकरणका लागि हुने जनचेतना मुलक कार्यक्रम देखावटी मात्रै भएकाले प्रभावकारी हुन नसक्ने प्रहरी उपरीक्षक जोशीको भनाई थियो ।
‘अब जनचेतना मात्रै फैलाएर भएन, देखावटी जनचेतना फैलाएर रोकथाम गर्न सकिदैन’ उनले भने,‘अब त्यस्ता जनचेतना जगाउन आवश्यक छ, जसबाट मेरो छोरा बिग्रियो, अरुका छोरालाई यस्तो नहोस, मेरो छोरालाई भएको छैन, अरुका भए होस भन्ने नहोस, अनि दुई हजारमा किनेर पाँच हजार आउँछ भन्ने सोच हट्ने खालका हुनु पर्छ ।’
कार्यक्रममा प्रहरी उपरीक्षक जोशीले लागु औषध नियन्त्रणका लागि जनचेतना र कानुनी कारवाही संगसंगै अघि बढाउनु पर्नेमा जोड दिएका छन् । उनले समुदाय स्तरमा आमा समूह गठन गरी लागु औषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्नु पर्ने उल्लेख गरे ।


कार्यक्रममा सहभागी भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीलाई उनले नगरपालिकाबाट पुनस्र्थापन केन्द्र सञ्चालनका लागि आग्रह गरे ।
‘भीमदत्तका नगर प्रवक्ताज्यू यही हुनु हुन्छ, लागु औषध दुव्र्यसनी भई सकेपछि पूर्ण रुपमा त हटाउन समस्या हुन्छ तर रिहाइब सेन्टरमा राखेर सुधार ल्याउन सकिन्छ’ उनले भने,‘त्यसका लागि गरीब परिवारले अहिले सञ्चालित सेन्टरमा १८÷२० हजार तिरेर राख्न सक्ने कुरा हुँदैन, त्यसका नगरपालिकाले केही सहुलियत हुने गरी सेन्टर सञ्चालन गर्न सक्छ ।’
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता अवस्थीले प्रहरी उपरीक्षक जोशीले राखेको प्रस्तावमाथि नगर कार्यपालिकामा छलफल गरी अघि बढाइने बताए ।

‘एसपी सापले एकदमै महत्वपूर्ण प्रस्ताव राख्नु भएको छ, यसलाई नगर कार्यपालिकामा लगेर छलफल गरी अघि बढ्छौ’ उनले भने ।
भीमदत्त नगरपालिकाले सबै वडामा लागु औषध विद्धरु जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको नगर प्रवक्ता अवस्थीले बताए ।
सेवा केन्द्रका सल्लाहकार एबम् पूर्व अध्यक्ष महेन्द्र बहादुर चन्दले प्रहरीले साुमदायिक सेवा केन्द्रलाई विश्वास गर्न पर्ने र केन्द्रले प्रहरीलाई सधैं सहयोग गर्ने बताए ।
उनले आफ्नो कार्यकालमा तत्कालिन प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी र तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख माधव नेपालसम्म कार्य योजना बनाएर लगेको उल्लेख गरे ।
केन्द्रका सचिव बिमल खडायतले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष विनोद बिक्रम जैरुले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । केन्द्रका सचिव खडायतले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा लक्ष्मी मल्ल, पूर्व कृषि अधिकृत नारायण दत्त भट्टलाई आजीवन सदस्यता प्रदान गरिएको छ ।
केन्द्रका अध्यक्ष बोकटीले समुदायमा विकृति, विसंगति र अपराध न्यूनीकरणका लागि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । केन्द्रका उपाध्यक्ष भुवन कुँबरले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल भट्ट, भीनपा १८ का वडा सदस्य पदम बहादुर चन्द, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नरेश विक, धुमपान निषेधका अभियन्ता मदन बहादुर चन्द, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहरा लगायतका सहभागी भएका छन् ।
