
भीमदत्तका सामुदायिक विद्यालयमा महाकाली बहुप्राविधिक शिक्षालयले थाल्यो प्राविधिक शिक्षामा पहुँच कार्यक्रम, बिहीबार तीन विद्यालयमा अभिमुखीकरण

महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयले भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
विद्यार्थीहरुको प्राविधिक शिक्षा अध्ययनमा सहज पहुँच बनाउन यस वर्ष एसइई परीक्षमा दिने विद्यार्थीहरुका लागि विद्यालय पुगेर अभिमुखीकरण कार्यक्रम गर्न थालिएको हो ।

भीमदत्त नगरपालिकाका सबै सामुदायिक विद्यालयमा सञ्चालन हुने कार्यक्रम बिहीबार सुरुवात गरिएको छ । शिक्षालयका निर्देशक परमल सिह साउँदले अभिमुखीकरण तथा प्रचारप्रसार कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रम उद्घाटन गर्दै उनले अभिमुखीकरणबाट विद्यार्थीहरुलाई प्राविधिक शिक्षा सम्बन्धि जानकारी भएर अध्ययनका लागि सहज हुने बताए ।

‘विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच अभ्विृद्धि होस भनेर भनेर यो कार्यक्रम सञ्चालन गरिएको छ, यसबाट विद्यार्थीहरुलाई भोलि प्राविधिक शिक्षा अध्ययन गर्न सहज हुन्छ’ उनले भने,‘कहाँ पढ्ने, किन पढ्ने कसरी पढ्ने भन्ने सबै कुराहरु विद्यार्थीहरुले जानकारी पाएकाले समस्या हुँदैन ।’
कार्यक्रम भीमदत्त नगरपालिका सबै सामुदायिक विद्यालयमा सञ्चालन हुने भएको छ । भीमदत्तमा ५५ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गरेको हो । सिटीईभिटीको सम्बन्धनमा शिक्षालय सञ्चालन गरिएको छ । शिक्षालयमा हाल फार्मेसी, ल्याब, एच र अप्थाम्लिक साइन्स पठनपाठन भई रहेको छ ।
अभिमुखीकरण कार्यक्रममा विद्याीर्थीहरुलाई विद्यार्थी भर्ना प्रक्रिया, छात्रबृत्ति, छात्रबृत्ति कोटा लगायतका विषयमा जानकारी दिइएको छ । बिहीबार भीमदत्त नगरपालिका ६ स्थित शान्ति निकेतन मावि, सिद्धनाथ अमर मावि गड्डाचौकी र सत्यवादी मावि वनगाउँमा कार्यक्रम गरिएको छ ।


शिक्षालयका प्रशिक्षकद्वय चुडामणी शर्मा र महेश महराले अभिमुखीकरण कार्यक्रममा सहजीकरण गरे । कार्यक्रममा निर्देशक साउँद सहित प्रशिक्षक भागरथी भट्ट, प्रि फार्मेसी क्बलका अध्यक्ष सिर्जना न्यौपाने र मिडिया हाउस क्बलबका अध्यक्ष जीवन भट्ट लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा विद्यार्थीहरुले प्राविधिक शिक्षा र महाकाली प्राविधिक शिक्षालय सम्बन्धि विभिन्न जिज्ञासा राखे ।
शिक्षालयका निर्देशक साउँदले आगामी वर्षदेखि शिक्षालयले सीटिभिीटीको कोटा बाहेक अन्य छात्रबृत्ति दिने बताए । ‘अहिलेसम्म सीटिइभिटीको कोटा अनुसार छात्रबृत्ति दिँदै आएका थियौ, अर्को वर्षदेखि यस कोटा बाहेकलाई पनि छात्रबृत्ति दिने गरी शिक्षालयको ऐन संशोधन गरिएको छ’ उनले भने,‘यसबाट भीमदत्त नगरपालिकाका विद्यार्थीलाई लाभ हुनेछ, कार्यक्रममा यस बारे पनि जानकारी दिइ रहेका छौ ।’

प्राविधिक शिक्षा सम्बन्धि जानकारी नभएकाले विद्यार्थीहरुलाई अध्ययनका लागि समस्या पर्ने भएकाले अभिमुखीकरण कार्यक्रमबाट अन्यौलता हट्ने निर्देशक साउँदले बताए । ‘प्राविधिक शिक्षा सम्बन्धि जानकारी नभएर पनि विद्यार्थीले पढ्न पाएका छैनन्, के पढ्ने भन्ने अन्यौल हुन्छ, कार्यक्रमबाट यी सबै कुरा हट्छन्’ उनले भने ।
महाकाली बहुप्राविधिक शिक्षालयमा फार्मेसी र ल्याबको चार वर्षदेखि पठनपाठन हुँदै आएको हो । यस शैक्षिक सत्रदेखि एचए र अप्लाम्मिक साइन्सको पठनपाठन सञ्चालनमा आएको हो । शिक्षालयले सात कार्यक्रम सञ्चालनका लागि अनुमति पाएको छ ।

शिक्षालयमा हाल चार कार्यक्रममा २ सय ९० विद्यार्थी अध्ययनरत छन् । आगामी शैक्षिक सत्रदेखि नर्सिङ्ग र डेन्टल साइन्सको अध्यापनका लागि प्रक्रिया अघि बढाइएको शिक्षालयका निर्देशक साउँदले जानकारी दिए ।
आगामी शैक्षिक सत्रका लागि प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पूर्व तयारी कक्षा(ब्रिज कोर्ष) कक्षा सञ्चालन गरिने शिक्षालयले जनाएको छ ।
