

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा सहभागी प्रतिनिधिहरु तीन दिनदेखि मतदानको आशमा पार्टी कार्यालयमा छन् । अध्यक्ष मण्डलले सहमतिका लागि छलफल जारी राखेपछि निर्वाचन कार्य तालिका हेरफेर गरी मतदान लम्बिएको छ ।
एमाले कञ्चनपुरका नेतृत्व सहित पदाधिकारी र सदस्यमा अढाई सय भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु सबै अहिले प्रतिनिधि भेटघाटमा व्यस्त छन् ।

भीमदत्त नगरपालिकाको भूगोलबाट जिल्ला सदस्यका लागि उम्मेदवारी दिएका मदन कुमार भण्डारीले पनि प्रतिनिधि भेटघाटमा व्यस्त भएका छन् । उनले सबै प्रतिनिधिबाट सहयोगको आश्वासन पाएको बताए ।

भीमदत्त नगरपालिका १० जिमुवाका भण्डारी विद्यार्थी जीवनदेखि एमाले राजनीतिमा होमिएका हुन् । जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा २०४८ मा अनेरास्ववियु इकाई कमिटी सचिव भएर उनी विद्यार्थी राजनीतिमा आएका हुन् ।
सिद्धनाथ माविमा दुई वर्ष अखिलको राजनीति गरेका भण्डारीले त्यसपछि उच्च शिक्षा अध्ययनका क्रममा भारतको देहरादुनमा डिएभी कलेजमा राजनीतिलाई निरन्तरता दिएका थिए ।
त्यहाँ उनी अखिल भारतीय नेपाल स्ववतन्त्र विद्यार्थी युनियन (अभाने स्ववियु) को उप सचिव भएका थिए । देहरादुनबाट स्नातक उत्तीर्ण गरेपछि भण्डारी काठमाडौं फर्किएका थिए । काठमाडौंमा स्नातकोत्तर अध्ययनका क्रममा भण्डारी कञ्चनपुर काठमाडौं सम्पर्क मञ्चमा आवद्ध भए । भण्डारीले मञ्चमा सचिव र उपाध्यक्षको जिम्मेवारी वहन गरेका थिए ।
काठमाडौंमा हुँदा उनी जिल्ला कमिटी सरहको महाकाली अञ्चल सम्पर्क कमिटीको आर्थिक विभाग प्रमुख भएर जिम्मेवारी वहन गरेका थिए । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा भण्डारी जिल्ला सल्लाहकार परिषद्बाट प्रतिनिधि भएका हुन् । एमाले कञ्चनपुरको आठौं अधिवेशनपछि उनी सल्लाहकार परिषद् सदस्य भएका थिए ।
नवौ अधिवेशनमा भण्डारी भीमदत्तको भूगोलबाट जिल्ला सदस्यका उम्मेदवार भएका छन् । एमालेलाई कञ्चनपुरमा बलियो बनाउने, पार्टीलाई गतिशिल बनाउने, मिसन ८४ लाई सफल पार्ने लक्ष्य राखेर जिल्ला कमिटी सदस्यको उम्मेदवार भएको भण्डारीले बताए ।

