
धौलेपानी कटान अनुसन्धानमै हुन थाल्यो आलटाल
तीन सदस्यीय विस्तृत छानबिन समितिलाई पाँच पृष्ठको प्रतिवेदन बनाउन धौधौ

महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरले धौलेपानी काठ कटान प्रकरणको अनुसन्धान गर्न बनाएको समितिले तोकिएको समय अवधि भन्दा ढिलो गरी प्रतिवेदन बुझाएको छ ।
कैलाली डिभिजन वन कार्यालयले गत आर्थिक बर्षमा कृष्णपुर नगरपालिका ४ स्थित धौलेपानी राष्ट्रिय वन क्षेत्रमा क्षेत्राधिकार मिचेर रुख कटान गर्न लगाएपछि भदौ १८ गते विस्तृत अध्ययनका लागि तीन सदस्यीय समिति बनाएको थियो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत रणेन्द्र सिंह नेतृत्वको तीन सदस्यीय समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति बनाएको थियो । समितिमा वन अधिकृत सन्तोसराज भट्ट र रेन्जर राम मिलन राना सदस्य थिए ।
समितिले दुई महिनापछि कार्तिकमा पाँच पृष्ठको प्रतिवेदन डिभिजन वन कार्यालयमा बुझाएको हो ।
भदौमा बनाएको समितिले वर्षा, दशैं र तिहार देखाउँदै दिइएको समय अवधि गुजार्दै छानबिन प्रतिवेदन बुझाएका छन् ।
विस्तृत छानबिनका लागि बनाएको समितिले पाँच पृष्ठको प्रतिवेदन बनाएपछि धौलेपानी कटान प्रकरण आलटाल आलटाल गर्न खोजिएको आशंका बढेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले समितिले प्रतिवेदन दिएको बताए । ‘ डिटेल प्रतिवेदन बनाउन भनेर समिति बनाएका थियौ, प्रतिवेदन दिइएको छ, त्यस्तै ४÷५ पृष्ठको प्रतिवेदन छ ’ उनले भने ।
प्रतिवेदनमा काठ कटानमा संलग्नलाई कारवाही सिफारिश गरिएको प्रमुख जोशीले बताए ।
गत साउन दोस्रो साता धौलेपानीमा काटिएको काठ बाणीबाट बरामद भएपछि सुदूरपश्चिम वन निर्देशनालयले डिजिभन वन कार्यालयका तत्कालिन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टलाई अनुसन्धान गर्न जिम्मा दिएको थियो ।
भट्टले साउन तेस्रो साता काठ कटान गरिएको स्थानमा पुगेर स्थलगत निरीक्षण गरी तोकिएको समयभित्र २८ पृष्ठको प्रतिवेदन बनाएर निर्देशनालयलाई बुझाएका थिए ।
भट्टको प्रतिवेदन कार्यान्वयन नगरी निर्देशनालयले भदौ १५ गते डिभिजन वनलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको थियो । त्यसपछि सिंह नेतृत्वको तीन सदस्यीय समिति बनाइएको थियो ।
विस्तृत प्रतिवेदन भट्ट प्रतिवेदनसित हुबहु मिलेको बताइन्छ । वन निर्देशनालयले एकपछि अर्को समिति गठन गरी छानबनि थालेपछि चौतर्फी रुपमा आलटान गर्न खोजिएको आशंका गरिएको थियो ।
कृष्णपुरका स्थानीयले सव डिभिजन वन कार्यालयमा अनिश्चितकाल तालाबन्दी गरि दिएका थिए ।

अहिले सिंह नेतृत्वको समितिले विस्तृत अनुसन्धान नगरी प्रतिवेदन बुझाएपछि त्यति बेलाको आशंकालाई पुष्टि गर्ने बल पुगेको छ ।
डिभिजन वन प्रमुख जोशीले धौलेपानीमा कटान गरी छाडिएको काठ भने बाणी सव डिभिजनमा ल्याइएको बताए ।
धौलेपानीमा काटिएका गोलिया साउन १५ गते कृष्णपुर नगरपालिका १ स्थित दिपेन्द्र स्मृति सामुदायिक वन, बण्ड र निगालीबाट बरामद गरिएको थियो ।
डिभिजन वनले काठ बरामदपछि बाणी सव डिभिजन प्रमुख भरत प्रसाद शाहलाई शुक्लाफाँटा पठाएर रेन्जर रानालाई जिम्मेवारी दिएको थियो ।
अहिले भने निरञ्जन कडाललाई सव डिभिजन प्रमुखको जिम्मेवारी दिइएको छ । कडाल ब्र्रह्मदेब सब डिजिभनमा कार्यरत थिए ।
धौलेपानी वन क्षेत्र बाणी सब डिभिजन अन्तर्गत पर्छ । बाणी सब डिभिजनका तत्कालिन प्रमुख शाह विदा बसेका बेला निमित्त प्रमुख राना र डिभिजन वन कार्यालय कञ्चनपुरका तत्कालीन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्ट नेतृत्वको टोलीले काठ बरामद गरेको थियो ।
बाणी सब डिभिजनका तत्कालीन प्रमुख भरत शाह धौलेपानीको काठ घाटगद्दीका लागि मौखिक निर्देशन दिएर बिदा बसेका थिए । शाहलाई भदौ १८ गते जिम्मेवारीबाट हटाइएको थियो ।
डिभिजन वन कार्यालय कंचनपुरका प्रमुख डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीले काठको बिस्तृत रुपमा छानविन गर्न पर्ने भएकाले समिति गठन गरिएको बताएका थिए ।
‘यो काठको बिस्तृत रुपमा छानविन गर्न पर्ने देखियो, काठ कति काटिएको छ, कति काट्न बाकी छ, सबै नाप जाच गरी एक्चुएल अवस्था पत्ता लगाउन छानबिन समिति बनाएका छौ’ उनले भनेका थिए ।
छानबिन समितिलाई स्थानीय, सामुदायिक वन उपभोक्ता समूह, वन संरक्षणकर्मी लगायत सरोकारवालाई धौलेपानी क्षेत्रमा लगेर छलफल गर्न सकिने कार्यादेश दिइएको थियो ।
डिभिजन वनले कंचनपुर कैलालीको सीमा विवाद समाधान नभएसम्म सामुदायिक वनमा काठ दाउरा कारोबार रोक्का गर्न निर्देशन दिएको छ ।
सुदूरपश्चिम वन निर्देशनालयले बाणी वन डिभिजन वन कार्यालयमा राखिएको बरामद काठ र धौलेपानीमा छाडिएको काठ सुरक्षित गर्न समेत डिभिजनलाई निर्देशन दिएको थियो ।
बाणीमा दुइ सय १६ गोलिया काठ छ । यो एक हजार चार सय ७० क्यूफिट हो । धौलेपानीमा एक सय आठ गोलिया छाडिएको देखिएको छ ।
कैलाली डिभिजन वन कार्यालयले धौलेपानीमा एक सय ७९ रुख कटानको पेशी दिएको थियो । त्यसमध्ये ६६ रुख काटिएको जानकारी कैलाली डिभिजनले कञ्चनपुरलाई दिएको छ ।
