
भीमदत्तमा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई कारवाही र सरुवा गर्ने अधिकार एकलौटी रुपमा मेयरलाई दिने तयारी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई नगर प्रमुखको चाहना अनुसार कारवाही र सरुवा गर्ने अधिकार सहितको कार्यविधि ल्याउन लागेको हो ।
भीमदत्तले शिक्षक व्यस्थापन तथा अनुदान वितरण कार्यविधि २०८० मा मा शिक्षक सरुवा र कारवाहीको अधिकार मेयरलाई दिने गरी विधेयकको मस्यौदा तयार गरेको हो । विधेयक समितिले तयार गरेको मस्यौदा कार्यपालिकाबाट पारित भएर केही संशोधनका लागि शिक्षा शाखामा पठाइएको छ ।
शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन र गुणस्तरीय शिक्षामा पहुँच बढाउन कार्यविधि ल्याउन लागिएको हो । शिक्षा शाखाबाट संशोधनका बुँदालाई कार्यविधिमा समावेश गरिएपछि स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यविधि लागू गरिनेछ ।
कार्यविधिको परिच्छेद ४ अन्र्तगत विविधको १८ नं. बुँदाको शिक्षक सरुवामा नगर प्रमुखलाई शिक्षक कर्मचारी सरुवाको अधिकार दिइएको हो । कार्यविधिमा अनुदानमा कार्यरत प्रधानाध्यापकको करार सम्झौता रद्द गर्न सक्ने व्यवस्था गरिएको छ ।
‘विद्यालय सञ्चालन र व्यवस्थापनमा प्रतिकूल वातावरण सिर्जना गर्ने, पठनपाठन अवरोध तथा समस्या सिर्जना गर्ने, कार्य सम्पादनमा न्यून स्तर भएका र प्रचलित काुनुन बमोजिम कामकाज नगर्ने प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाइृ नियमानुसार कारवाहीका साथै नगर प्रमुख स्तरीय निर्णयबाट नगर भित्रका जुनसुकै विद्यालयमा कुनै पनि समयमा सरुवा गर्न सकिनेछ र यदि त्यस्तो शिक्षक अनुदानमा कार्यरत भएमा प्रधानाध्यापकलाई तत्काल करार सम्झौता रद्द गर्न नगरपालिकाले निर्देशन दिन सक्नेछ’ कार्य विधिमा भनिएको छ ।
कार्यविधिमा शिक्षकलाई पाँच वर्षपछि अर्को विद्यालयमा सरुवा गर्ने तथा विद्यालयले करारमा नयाँ शिक्षक नियुक्ति गर्दा वा अन्य विद्यालयबाट शिक्षक सरुवा सहमतिका लागि नगरपालिकाबाट पूर्व स्वीकृत लिनु पर्ने प्रावधान राखिएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख कलावति मिश्र भट्टले सामुदायिक शिक्षालाई गुणस्तरीय र सबैको पहुँच पुगाउन कार्यविधि बनाएर लागू गर्ने तयारी गरिएको बताइन् ।
‘कार्य विधि कार्यपालिकाबाट पारित भइ सकेको छ, कार्यपालिकामा छलफलका क्रममा केही संंशोधनका कुरा आएका छन्, शिक्षा शाखाले ती संशोधनका कुरा समावेश गरेपछि स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यविधि लागू हुन्छ’ शाखा प्रमुख भट्टले भनिन् ।
भीमदत्त नगरपालिकाको केही दिन अघि बसेको कार्यपालिका बैठकमा कार्यविधिको पेश गरिएको थियो । केही जनप्रतिनिधिले कार्यविधिको मस्यौदामा असमति जनाएपछि विरोध गरेका थिए । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा विरोधमा भुँईमा बसेका थिए ।
नगरपालिकाले बैठक अघि मात्रै कार्यपालिका सदस्यहरुलाई मस्यौदा पठाएको थियो । अधिकाँश कार्यपालिका सदस्यले आफूहरुलाई मस्यौदाबारे केही जानकारी नभएको भन्दै असन्तुष्टि पोखेका थिए ।
शिक्षक संघ संगठनहरुले भीमदत्तका मेयर पदम बोगटी र शिक्षा शाखा प्रमुख भट्टलाई भेटेर कार्य विधिमा असन्तुष्टि राखेर संशोधन गर्न सुझाव दिएका थिए ।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका पदाधिकारीले कार्यविधि संशोधनका लागि दबाव दिएका हुन् । शिक्षक संगठन र कार्यपालिका सदस्यको विरोधपछि कार्यविधि संशोधन गरी ल्याउन लागिएको हो ।
कार्यविधिमा विद्यालयमा रहने न्यूनतम शिक्षक दरबन्दी, शिक्षक सिकाई अनुदान, विविध गरी चार परिच्छेदको कार्यविधि मस्यौदा तयार गरिएको छ । कार्य विधिमा विद्यालय समायोजना तथा स्तर निर्धारण (मर्ज तथा डाउन साइजिङ्ग) गर्ने प्रावधान ल्याइएको छ ।
