

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले आर्थिक वर्ष सुरु भएको दुई महिनापछि ल्याएको बजेटमा पनि टुक्रे योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री बहादुर सिह थापाले नदी तटबन्धनका टुक्रे योजनाका लागि सवा ३२ करोड बजेट विनियोजन गरेका हुन् ।
चालु आर्थिक वर्षको बजेटमा ५ र १० लाख गरेर नदी तटबन्धन गर्न सवा ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। टुक्रे योजनामा बजेट नहाल्ने बताएको सुदूरपश्चिम सरकारले २८६ तटबन्धका टुक्रे योजनाका लागि बजेट विनियोजन गरेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले कार्यान्वयन गर्ने योजनामा ५ लाख, १० लाख र २० लाख बजेट छुट्याइएको छ ।

१० लाख बजेटमा तटबन्धका सबैभन्दा बढी योजना पहाडी ७ जिल्लामा परेका छन् । टुक्रे योजनामा बजेट नहाल्ने घोषणा गरेको प्रदेश सरकारले तटबन्धका २८६ योजनामा ३२ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कैलाली, डडेल्धुरा, डोटी र दार्चुला कार्यक्षेत्र रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले बाँकी जिल्ला समेत हेर्नुपर्ने जिम्मेवारी छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय कैलालीले कञ्चनपुरमा समेत काम गर्दै आएको छ। प्रदेश सरकारले कैलालीमा २५ र कञ्चनपुरमा ११ योजनामा बजेट विनियोजन गरेको छ। कैलालीमा २५ वटा तटबन्धका योजनामा एक करोड ९३ लाख बजेट विनियोजन गरेको छ ।
कैलालीमा १४ तटबन्धका योजनामा ५ लाखका दरले बजेट विनियोजन गरेको छ भने सात योजनामा १० लाखका दरले बजेट विनियोजन गरेको छ। यस्तै एउटा योजनामा ८ लाख र ९ लाख ६० हजार तथा दुई योजनामा १५÷१५ लाखका दरले बजेट छुट्याएको छ। कञ्चनपुरमा ११ वटा तटबन्धको योजनामा प्रदेश सरकारले १ करोड १७ लाख बजेट विनियोजन गरेको छ ।

दुई तटबन्धका योजनामा ५÷५ लाख, एउटामा ८ लाख, थप अर्को योजनाका लागि ९ लाख र ६ योजनामा १० लाखका दरले तथा एउटा योजनामा ३० लाख बजेट विनियोजन गरिएको छ । डोटीमा २४ तटबन्धका योजनाका लागि दुई करोड ४६ लाख बजेट विनियोजन गरेको छ । डोटीमा १५ वटा योजनामा १० लाखका दरले बजेट छ भने दुई योजनामा २०÷२० लाख र अन्यमा ५ र ८ लाखका दरले बजेट विनियोजन गरिएको छ ।
अछाममा तटबन्धका ३४ योजनामा ३ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ । एउटा योजनामा ७ लाख, अर्कोमा ८ लाख, थप २ योजनामा १६÷१६ लाख बजेट विनियोजन गरिएकोमा ३० योजनामा १० लाखका दरले बजेट राखिएको छ। दार्चुलामा २९ तटबन्धका योजनामा ४ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ । जिल्लामा १२ योजनामा १० लाखका दरले बजेट छ भने थप १० योजनाममा २० लाखका दरले बजेट छुट्याइएको छ ।
दार्चुलामा ८ लाखको एक, १५ लाखको एक, १६ लाखको एक, ३० लाखको एक तथा ३२ लाखको एउटा तटबन्धको योजना राखिएको छ । डडेल्धुरामा तटबन्धका ४२ टुक्रे योजना छन् । ४२ योजनामा ५ करोड २३ लाख बजेट विनियोजन गरिएको छ । अधिकांश योजनामा १० लाख बजेट राखिएको छ । बैतडीमा तटबन्धका टुक्रे योजनाको संख्या ४६ वटा छन् । जसमा प्रदेश सरकारले ५ करोड ३५ लाख बजेट छरेको छ ।
बझाङमा सर्वाधिक ५७ योजनामा सरकारले ६ करोड ४१ लाख बजेट वितरण गरेको छ । बझाङको ४६ वटा तटबन्धको योजनामा १० लाखका दरले बजेट हालिएको छ भने ३० लाख र ३२ लाखको एक÷एक योजना, १५ लाखको दुई, २५ लाखको दुई, ८ लाखको दुई र ६ लाखको एउटा योजना परेको छ ।
प्रदेश सरकारले दुईदेखि चार ठाउँका लागि एकै शिर्षकको कार्यक्रम राखेर २० लाख र ३० लाख बजेट छुट्याएको छ । कार्यान्वयन गर्दा एक ठाउँका लागि ५ लाख र १० लाख नै भाग पर्ने देखिएको छ। व्यक्ति विशेषलाई पोस्न टुक्रे योजनामा बजेट विनियोजन गरेको पाइएको छ ।
साभार : दिनेश खबर

