
सहकारी ठगी प्रकरण : पूर्व डीआईजी जोशी कास्की पु¥याइयो, लामिछाने पक्राउ पर्ने आशंकामा रास्वपा पार्टी कार्यालयमा भीडभाड

महेन्द्रनगर । सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले कास्की पु¥याएको छ ।
आइतबार अपरान्ह पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पु¥याएको हो । कास्की प्रहरीका एक अधिकारीका अनुसार जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।
जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको थियो ।


यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको भीड जम्मा भएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया प्रालिका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि उक्त पार्टीका नेता–कार्यकर्ताहरू वनस्थलीस्थित रास्वपा कार्यालयमा जम्मा भएका हुन् ।
सहकारी प्रकरणमा छानबिन समितिले कारबाही सिफारिस गरेका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयमै नेताहरूसँग आन्तरिक छलफलमा छन् ।
स्रोतका अनुसार रास्वपाले सभापति लामिछानेलाई समेत आजै पक्राउ गर्ने आशंकापछि काठमाडौं उपत्यकाका पार्टी–कार्यकर्तालाई केन्द्रीय कार्यालयमा जम्मा हुन सर्कुलर जारी गरेको थियो ।
अहिले केन्द्रीय कार्यालय परिसरमा डेढ सयभन्दा बढी नेता–कार्यकर्ता जम्मा भएका छन् भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
