

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ खैरभट्टीस्थित लक्ष्मी माध्यमिक विद्यालयमा नगर स्तरीय डे नाइट खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सङ्गम टोल विकास संस्थाले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी थालिएको छ ।
टोल विकास संस्थाले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी सम्बन्धि जानकारी दिएको छ । प्रतियोगितामा सहभागिताका लागि बुधबारदेखि टीम दर्ता सुरु गरिएको छ । भीमदत्त नगरपालिका क्षेत्रका २० भन्दा बढी टीम सहभागी हुने अपेक्षा गरिएको छ ।

कार्तिक ८ गतेसम्म टीम दर्ता हुने प्रतियोगिता संयोजक शिशिर थापाले जानकारी दिएका छन् । उनका अनुसार कार्तिक ८ गते खेल तालिका सार्वजनिक गरिनेछ । लक्ष्मी माविको खेल मैदानमा प्रतियोगिता हुने छ ।
खैरभट्टीमा २०७६ मा पहिलो पटक नगर स्तरीय डे नाइट क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । शिवशक्ति टोल विकास संस्थाले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा २० टीम सहभागी भएका थिए ।
पहिलो प्रतियोगिता सकिएपछि कोरोना महामारी फैलिएपछि प्रतियोगिता आयोजना हुन सकेको थिएन । यस वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिने गरी तयारी थालिएको हो ।
‘क्रिकेट खेलको विकास, खेलाडीमा उत्साह सहित समग्रमा खेलकूदको विकासका लागि खैरभट्टी र निम्बुखेडाका टोल विकास संस्थाले बर्सेनी खेल प्रतियोगिता आयोजना गर्ने गरी अघि पहिलो प्रतियोगिता गरिएको थियो’ शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष बिरेन्द्र सिह साउँदले भने,‘कोरोना महामारीका कारण निरन्तरता दिन सकिएन, यस वर्ष फेरि निरन्तरता दिने गरी तयारी अघि बढाएका छौ ।’
अध्यक्ष साउँदका अनुसार खैरभट्टी र निम्बुखेडाका ८ टोलले बर्सेनी खेल प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छन् । सबै टोलले प्रतियोगिता आयोजना गर्न पर्ने योजना अनुसार यस वर्ष सङ्गम टोलले क्रिकेट गर्न लागेको हो ।
‘पहिलो पटक क्रिकेट गरियो, यस वर्ष संगम टोलले पनि क्रिकेट गरेको छ, कुन खेल आयोजना गर्ने भन्ने कुरा टोल विकास संस्थाले तय गर्छ’ अध्यक्ष साउँदले भने,‘क्रिकेट बाहेक भलिबल, फूटबल लगायतका प्रतियोगिता पनि आयोजना गर्न सक्ने छन् ।’

नगर स्तरीय डे नाइट क्रिकेट प्रतियोगिताका लागि ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । टीम दर्ता, संघ संस्था संस्था र व्यक्तिगत रुपमा सहयोग संकलन गरी प्रतियोगिताको खर्च जुटाउन लागिएको छ ।
‘टीम दर्ता र सहयोग संकलनबाट खर्च हुन्छ, यसका लागि सबैसित सहयोगका लागि आग्रह गरेका छौ’ सङ्गम टोल विकास संस्थाका अध्यक्ष प्रजापति पाण्डेयले भने ।
प्रतियोगितामा सहभागी हुन १५ हजार दर्ता शुल्क राखिएको छ । प्रतियोगिताका विजेतालाई एक लाख ११ हजार १ सय ११ रुपैँया नगद पुरस्कार सहित ट्रफी, शिल्ड प्रमाण प्रदान गरिनेछ । उप विजेतालाई ५५ हजार ५सय ५५ रुपैँया नगद सहित ट्रफी, शिल्ड, प्रमाण दिइनेछ ।
प्रतियोगिताका मेन अफ सिरिज र सबै खेलका मेन अफ दि म्याचलाई पुरस्कार दिइने प्रतियोगिताका खेल संयोजक थापाले बताए ।
पत्रकार सम्मेलनमा आयोजक टोल विकास संस्थाका अध्यक्ष पाण्डेय सहित शिवशक्ति टोलका अध्यक्ष साउँद, प्रतियोगिताका खेल संयोजक थापा, संगम टोलका संस्थाका सचिव नरेन्द्र चन्द लगायतका सहभागी भए ।
प्रतियोगितालाई लक्ष्मी माध्यमिक विद्यालय खैरभट्टी लगायतका संघ संस्थाले सहयोग गर्ने भएका छन् । शिवशक्ति टोलका अध्यक्ष साउँद लक्ष्मी मावि व्यवस्थापन समितिका पनि अध्यक्ष हुन् ।
डे नाइट क्रिकेट प्रतियोगितामा रात्रिकालिन खेलका लागि उज्यालो(लाइट) व्यवस्थापन गर्ने जिम्मा स्थानीय टेन्ट हाउसले लिएको छ ।
पहिलो पटक प्रतियोगिता गरिएपछि भीमदत्त नगरपालिकाका अन्य वडामा पनि प्रतियोगिता गरिएको अध्यक्ष साउँदले बताए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले पहिलो प्रतियोगिता उद्घाटन गरेका थिए । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टले प्रतियोगिता समापन गरेका थिए ।
नेपाल राष्ट्रिय क्रिकेट टोलीका विनोद भण्डारी भीनपा १८ का वासिन्दा हुन् । यसैगरी अर्का खेलाडी प्रदिप माल(पप्पु) १८ नम्बर वडाका हुन् ।
प्रतियोगिताबाट त्रिकेटमा नयाँ खेलाडी आउने खेल संंयोजक थापाले बताए ।

