ghar sansar

हिमालय उपभोक्ता समितिले गर्‍यो झोलुङ्गे पार्कमा सरसफाई, पार्कलाई पारियो चिटिक्क

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ स्थित हिमालय मध्यवर्ती उपभोक्ता समितिले झोलुङ्गे पार्कमा सरसफाई गरेको छ ।

समितिले विगतदेखि बर्सेनी पार्कमा सरसफाई गर्दै आएको छ । यस वर्ष दशै तिहार र छठ सकिएपछि सोमबार पार्क र आशपास क्षेत्रमा सरसफाई गरिएको छ ।

समितिका पदाधिकारी, सदस्य, स्थानीय, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, व्यवसायी सरसफाई कार्यक्रममा सहभागी भएका छन् । समितिले यसलाई बृहत जन चेतना मुलक सरसफाई कार्यक्रम नाम दिएको छ ।

महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि २०६० मा नदी पुल छेउमा नदी किनारमा पार्क निर्माण गरिएको थियो । दुई कट्टा बढी जमिनमा फैलिएको पार्क झोलुङ्ग पार्क नामले चिन्ने गरिन्छ ।

पार्कभित्र सेल्फी पोइन्ट, गोलघर र शौचालय लगायतका संरचना छन् । पुल हेर्ने आउने आन्तरिक तथा बाह्य पर्यटक पार्कमा पुगेर फर्किने गरेका छन् ।

पर्यटकहरुले प्रयोग गरी फालेका समान, घाँसपात तथा झाडीले पार्क अव्यवस्थित हुन पुगेको थियो । सरसफाईपछि पार्क चिटिक्क बनेको छ । पार्क भित्र र बाहिर सरसफाई तथा झाडी कटान गरिएको छ ।

भित्र र बाहिर सुकेपछि जलाउने सकिने गरी फोहर राखिएको छ । गत असोज १२ गते झोलुङ्ग पुलको पिल्लर धसिएपछि पुलमा आवागमन बन्द भएको छ ।

पार्क सरसफाईमा सहभागी स्थानीले झोलुङ्गे पुल मर्मत कार्य अघि बढाउन सरकारसित माग समेत गरेका छन् ।

समितिका अध्यक्ष पदम बहादुर सिंहले सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफाई गरिएको बताए ।

झोलुङ्गे पुल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकोले यस क्षेत्रलाई सफा राख्न आवश्यक भएको अध्यक्ष सिंहले उल्लेख गर्दै भने, ‘यो पुलको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान छ, आन्तरिक र बाह्य पर्यटक आउँछन्, अहिले बाढीले पुल भत्किएपछि त्यसमा अवरोध आएको छ, पर्यटकका लागि यो क्षेत्र सफा राख्नु पर्छ ।’

dirghayi clinic

पार्कमा स्थानीय वासिन्दा पनि आउने भएकाले सरसफाई आवश्यक भएको अध्यक्ष सिंहले बताए ।

स्थानीय लक्ष्मीदेबी सिंहले पार्कलाई सधैं सफा र चिटिक्क राख्नु पर्ने बताइन् । ‘यो पुल हेर्न टाढा टाढाबाट आउँछन्, पार्क आँछन्, फोहर भइ हाल्छ, यसलाई सधंै सफा राख्नु पर्छ’ उनले भनिन्, ‘जहींतही फोहर फाल्नु हुँदैन भनेर बोर्ड लगाउँदा पनि राम्रो हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दोधारा चाँदनी नगर सचिव कृष्ण प्रसाद बडुले झोलुङ्गे पार्क सरसफाई झोलुङ्गे पुलको पहिचानसंगै जोडिएको बताए ।

‘आज हामीहरु यो पार्कमा सरसफाई गरि रहेका छौ, यो पार्कसित मात्रै नभएर झोलुङ्गे पुलसित जोडिएको छ, पुलको पहिचानसंग जोडिएको छ’ उनले भने, ‘यसलाई हाम्रो नगरपालिकाको अर्थसित, पर्यटनसित जोड्न सकिन्छ ।’

बडुले झोलुङ्गे पुल पार्क सहित आशपासका क्षेत्रमा नियमित सरसफाई गरिनु पर्ने आवश्यकता औंल्याए ।

हिमालय मध्यवर्ती समितिका कोषाध्यक्ष धनसरा चन्दले पार्क सरसफाईमा बजार व्यवस्थापन समिति सहित स्थानीयले सक्रियता देखाउनु पर्ने उल्लेख गरिन् ।

उनले सरसफाई कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिइन् ।

अभियन्ता दुर्गा बडुवालले सरसफाई कार्यक्रमले झोलुङ्गे पुल मर्मतमा सरकारको ध्यान जाने आशा व्यक्त गरिन् । ‘यो सरसफाई भई रहेको छ, योसंगै हामीले भत्किएको पुल मर्मत होस भन्ने चाहना राखेका छौ’ उनले भनिन् ।

दोधारा चाँदनी नगरपालिका ४ का वडा सदस्य पदमराज भट्टले नगरपालिका कार्यालयको वेवास्ताले पार्कभित्र फोहर थुप्रिएको बताए ।

‘यहाँ पर्यटक आउँछन्, बस्छन्, त्यसपछि फोहर हुन्छ, यसमा नगरपालिकाले मतलब नै गर्दैन, हामी समन्वय त गर्छौ, हाम्रो कुरा नै सुन्दैन’ उनले भने ।

वडा सदस्य भट्टले यस अघि वर्षमा तीन चार पटक पार्कमा सरसफाई हुने गरेको बताए ।

दोधारा चाँदनी नगरपालिकाले आफ्नो पुस्तकमा तस्बिर राखे पनि पार्क सरसफाईमा वेवास्ता गर्दै आएको उनले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...