

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनका लागि दुई स्वतन्त्र सहित १२ जनाले वडा अध्यक्षमा उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
भीमदत्त नगरपालिका ६ को वडा कार्यालयस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार विहानदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिएको हो । मंसिर १६ गते वडा अध्यक्षका लागि भीनपा ६ मा उप निर्वाचन हुन लागेको हो ।

मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले वडा अध्यक्ष पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
सत्तारुढ काँग्रेसबाट प्रकाश बहादुर चन्द, एमालेका बहादुर चन्द, माओवादी केन्द्र नानाराम कोली, एकीकृत समाजवादी जितेन्द्र बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपाका) रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पाटीका सुशिल कुमार भट्ट, नागरिक उन्मुक्ति पाटी हरिश डगौरा, जनमत पाटीका यादव बहादुर चन्द, राप्रपा नेपालका दिल बहादुर धामी, नेपाल मजदुृर किसान पार्टी (नेमकिपा) का दल बहादुर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । थानेश्वर लेखक र युवराज चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित महेन्द्र खड्काको गत वर्ष निधन भएपछि उप निर्वाचन हुन लागेको हो । २०७९ मा काँग्रेसले पहिलो पटक ६ नम्बर वडा जितेको थियो ।
एमालेले २०७४, २०५४ र २०४९ मा ६ नम्बर वडा जित हात पारेको थियो । भीनपा ६ मा २ हजार ७६९ महिला र २ हजार ६६५ पुरुष गरी ५ हजार ४ सय ३४मतदाता छन् ।
