

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले भीमदत्त नगरपालिकासित रोजगारी सृजनाका लागि प्रबन्धपत्र(एमओयु) सम्झौता बहिस्कार गरेको छ । नगरपालिकाले बुधबार नगरपालिका कार्यालयमा गरेको रोजगारदाताबीच सम्झौता कार्यक्रममा सहभागी बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तयारी विना हचुवाको भरमा सम्झौता नगर्ने भन्दै बहिस्कार गरेका हुन् ।
भीमदत्त नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रम डेस्क सञ्चालनमा आएपछि बुधबार रोजगारदातासित सम्झौताका लागि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागी संघका अध्यक्ष जोशीले तयारी नगरी हचुवाको भरमा सम्झौता गर्न लागिएको आक्रोश पोखे । उनले नगरपालिकाले संघसित गरिएको विगतका सहमति कार्यान्वयन नभएको विषयलाई पनि कार्यक्रममा उठाए ।

‘त्यो कार्यक्रममा कुनै तयारी थिएन, खाली हचुवाका भरमा गरिएको जस्तो देखियो, संघसित विगतमा गरिएका कुनै पनि सहमति सम्झौता कार्यान्वयन गरिएको छैन, उद्यमी व्यवसायीलाई समस्यामा मात्रै काम भएको छ’ उनले भने,‘त्यस्तो अवस्थामा यो सम्झौता गर्नको कुनै अर्थ छैन ।’
भीमदत्त नगरपालिको झण्डै वर्षदेखि मदनचोकका २२ सटरका व्यवसायीलाई व्यवस्थापन गर्न नसकेकोमा अध्यक्ष जोशीको असन्तुष्टि पोखे ।
बाणिज्य संघले सम्झौता बहिस्कार गरेपछि मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर र निङलाशैनी बहुउद्देश्यीय सहकारी संस्थासित सम्झौता गरिएको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम लगायतका कार्यक्रम सहभागी भए ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी समेत कार्यक्रममा अनुपस्थित भएका छन् । कार्यक्रममा मजदुर नेता शंकर जोशीले पनि नगरपालिकाले श्रमिकको लागि केही गर्न नसकेको भन्दै आक्रोश पोखे ।
भीमदत्त नगरपालिकाका उप प्रमुख जोशीले रोजगारी सृजना गर्दै स्थानीय सरकारले रोजगारदातालाई जनशक्ति र जनशक्तिलाई रोजगारी दिलाउन सम्झौता गरिएको बताए ।

