
कबर्ड हलमा बुधबारदेखि एलबीए टी २० क्रिकेट कप हुँदै, कञ्चनपुर कैलालीका १६ टीमले गर्दैछन् प्रतिस्पर्धा


महेन्द्रनगर । कबर्ड हलमा बुधबारदेखि एलबीए टी २० क्रिकेट कप ०८१ आयोजना हुन लागेको छ । लिटिल बुद्ध एकेडेमीले आयोजना गर्ने प्रतियोगिता सम्बन्धि मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
लिटिल बुद्धले सात वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटक प्रतियोगिताको सातौ संस्करण गर्न लागिएको छ । कञ्चनपुरका १३ र कैलालीका ३ गरी १६ विद्यालयका टीम प्रतियोगितामा सहभागी हुन लागेका छन् । सहभागी टीमका सबै खेलाडी कक्षा १२ सम्मका छन् ।

विद्यालयका प्रिन्सिपल श्याम सिह मौनीले पत्रकार सम्मेलनमा सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले खेलकूदमा रुची, उत्कुसुता बढाउने, खेलाडी उत्पादन र भविष्यका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

लिटिल बुद्ध सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी विद्यार्थी अध्यापन गराउने विद्यालयमा पर्छ । कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुने विद्यालयमा अढाई हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रराज खत्रीको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनका विद्यालयका संयोजक महेन्द्र चन्द, व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रेमराज खाती, कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र चन्द लगायतका सहभागी भए ।
प्रतियोगितामा विद्यालयका टीम पनि सहभागी हुनेछ । पत्रकार सम्मेलनमा विद्यालयको टीमका कप्तान लगायत प्रशिक्षक पनि सहभागी भएका छन् ।
प्रतियोगितामा विजेता टिमलाई नगद १लाख १५ हजार र उप विजेता टिमलाई नगद ६० हजार सहित ट्रफि, मेडल प्रदान गरिने जानकारी दिएएको छ । प्रतियोगितामा क्रिकेट संघले प्राविधिक सहयोग गर्ने विद्यालयका प्रिन्सिल मौनीले बताए ।
