

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कञ्चनपुरले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रमख आतिथ्यमा संस्थापक तथा प्रिन्सिपल भेला आयोजना गरेको छ ।
भेलामा प्याब्सनका कार्यक्रममको समीक्षा, आगामी योजना लगायतक विषयमा छलफल गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री रावलले विद्यालय सञ्चालकलाई शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी लगाउन आग्रह गरे ।
सुदूरपश्श्चिम प्रदेश लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताए । त्यसमा तपाईहरुका कहाँ लगानी लगाउनु चाहनु हुन्छ, त्यसमा संघ सरकारसित सहजीकरण गर्ने, योजना बैंक बनाउने कुरा छ, तपाईहरुको यो भेलामा यसबारे पनि छलफल होस’ उनले भने ।
सुदूरपश्चिम सरकारले लगानी सम्मेलन सम्बन्धि छलफलका लागि रावल सहितका पूर्व तीन मुख्यमन्त्रीलाई सुदूरपश्चिमका तीन÷तीन जिल्लाको जिम्मेवारी दिएको छ ।
भेलामा रावलले आफूहरु तिनै जनाले आ–आफ्नो जिम्मेजवारीको जिल्लामा गएर छलफल गर्ने बताए । भेलालाई औपचारिकतामा मात्रै सीमित नगर्न कार्य योजना सहितको वार्षिक अपरेसनल क्यालेण्डर बनाउनु सुझाव दिए ।

प्याब्सनमा महिला, दलित, जनजाति सबैको समावेशी हुनु पर्ने, समावेशीकरण गर्ने कुरामा प्याब्सनले ध्यान दिनु पर्ने र समावेशी नीति सरकारको प्रमुख प्राथमिकता रहेको पूर्व मुख्यमन्त्री रावलले बताए ।
विद्यालयको पाठ्यक्रममा विश्वव्यापीकरणको कुरा गरिए पनि स्थानीय विषय वस्तु समावेश हुन नसकेकोमा चिन्ता व्यक्त गरे । पाठ्यक्रममा समावेश नभएपछि विद्यार्थीहरुले स्थानीय कला, संस्कृति, इतिहास सम्बन्धि थाह पाउन नसक्ने उनको भनाई थियो ।
कार्यक्रममा पूर्व मन्त्री रावलले सुदूरपश्चिम विश्वविद्यालय अपेक्षित रुपमा सञ्चालन हुन नसकेको भन्दै असन्तुष्टि पोखे । विश्वविद्यालय आफन्त जागिर खाने र चाप्लुसीको केन्द्र बनेको रावलको भनाई थियो । ‘यो विश्वविद्यालय नाता गोता जागिर खाने थलो बनाईएको छ’ उनले भने ।

पूर्व मुख्यमन्त्री रावलले महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय बाहेक अर्को विश्वविद्यालय आवश्यक भएको उल्लेख गर्दै त्यसको नेतृत्व प्याब्सनले लिनु पर्नेमा जोड दिए ।
उनले दुई हजार विद्यार्थी भए विश्वविद्यालय खोल्न सकिने बताए । विश्वविद्यालयमा पढाउने भन्ने कुरा महत्वपूर्ण हुने बताए ।

कार्यक्रमका विशियठ अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निजी क्षेत्रले शैक्षिक क्षेत्रमा पुगाएको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै समन्वय समितिले सर्धैं साथ सहयोग गर्ने बताए ।
कार्यक्रमका अर्का विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. चन्दले राज्यले निजी क्षेत्रका विद्यालयलाई विभिन्न नाममा विभेद गर्दै आएको गुनासो व्यक्त गरे ।
नयाँ संविधान आएपछि माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको जिम्मामा आएको उल्लेख गर्दै उनले त्यसलाई व्यवस्थित बनाउने कार्य अझै हुन नसकेको उल्लेख गरे ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा अध्यक्ष भट्टले संस्थापक तथा प्रिन्सिपल भेलाको औचित्य सम्बन्धि प्रकाश पार्र्दै स्थानीय, प्रदेश र संघ सरकारसित समन्वय गरी अघि बढ्ने बताए ।
कार्यक्रममा बेलौरी नगरपालिकाका उप मेयर चौधरी, भीमदत्तका शिक्षा शाखा प्रमुख जोशी, बेलौरी शिक्षा शाखा प्रमुख भट्ट,बाल ब्रह्मचार्य ईश्वरीय विश्वविद्यालयका सञ्चालिक महिला बहिम लगायतले शुभ कामना मन्तव्य राखे ।
प्याब्सन वरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अक्कल बहादुर रोकायाले गरेका थिए ।
कार्यक्रममा प्याब्सन कार्यालयको जग्गा खरिदका लागि सहयोग गर्ने विद्यालय सञ्चालकलाई सम्मान गरिएको छ ।
भेलामा प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपकराज चालिसे, सुरेन्द्रराज ओझा, प्याब्सन केन्द्रीय सदस्य अमराज भट्ट लगायतका सहभागी भएका छन् ।
