
भीमदत्तका मेयर उप मेयर किन गर्दै छन् वादीलाई वेवास्ता
हाकिमसित भने – हामीलाई हाम्रा टहरा भत्काएकै ठाउँमा बस्न दिनु, होइन भने बजारमा डेरा खोजि दिनु

तुलसी चन्द
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा मेयर र उप मेयर नभएपछि प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले आन्दोलनरत वादी समुदायसित छलफल गरेका छन् ।
वादी समुदायले आफूहरुले माग सुनुवाई नभएको भन्दै आइतबार विहान अर्धनग्न जुलुुश प्रदर्शन गरी नगरपालिका कार्यालयमा धर्ना बसेपछि प्रमुख प्रशासकीय अधिकृत बमले कार्यकक्षमा बोलाएर छलफल गरेका छन् ।
छलफलमा बम सहित मेयर पदम बोगटीका सचिवालयका चक्र महता सहभागी भए । वादी समुदाय अर्धनग्न भएर कार्यालय प्रवेशद्वारमा पुगेपछि महता र सचिवालयका अर्का उत्तर कुँबरले छलफलका लागि प्रमुख प्रशासकीय अधिकृत बमसित आग्रह गरेका थिए ।
उनीहरुको आग्रहपछि प्रमुख प्रशासकीय अधिकृत बमले आन्दोलनरत वादी समुदायका अगुवासित छलफल गरेका छन् । छलफलमा वादी समुदायका अगुवाले २५ दिनसम्म प्रवेशद्वारमा धर्ना दिँदा समेत नगरपालिकाले वेवास्ता गरेको दुखेसो पोखे ।
वादी समुदायका अगुवा शिवीराज रानाले नगरपालिका प्रवेशद्वारमा धर्नामा बसेका वादी समुदायसित देशभर टहरो बनाउने जमिन नभएकाले ३० वर्षदेखि ओपेरा नजिक सार्वजनिक जमिनमा बस्दै आएको जानकारी दिए ।
‘जो हामी यहाँ आन्दोलन गरि रहेका छौ, यसमा कसैको पनि देशभर कतै पनि जमिन छैन, टहरो बनाउने जमिन छैन, केही सीप नभएर त्यहाँ बसि रहेका छौ’ उनले भने,‘यस्तो अवस्थामा नगरपालिकाले वहाँहरुलाई साथ सहयोग गर्नु पर्छ, यो समुदाय अरु समुदाय जस्तो होइन, अरु र हामीलाई एकै आँखाले हेरिनु हुन्न ।’
भीमदत्तले वादी समुदाय गरीब भएका कारण नगर प्रहरीले टहराबाट समान समेत बाहिर ल्याउन नदिई डोजर लगाएको रानाले गुनासो पोखे । उनले स्थानीय सरकारले वादी समुदायलाई संरक्षण गर्नु पर्नेमा डोजर लगाएर आतंकित बनाएको उनको भनाई थियो ।
नगरपालिकाले डोजर लगाएर टहरा भत्काएपछि बिचल्लीमा परेको उल्लेख गर्दै उनले बजार क्षेत्रमा डेरा समेत पाउन नसकिने अवस्था भएकाले भीमदत्तले स्थानीय सरकारका रुपमा मानवीयता देखाउनु पर्ने उनले बताए ।

अगुवा रानाले भीमदत्तले अर्को व्यवस्था नभएसम्मका लागि टहरा भत्काएका स्थानमा वादी सुमुदायलाई बस्नु दिनु पर्ने र त्यस्तो गर्न नसकिए उनीहरुका लागि बजार क्षेत्रमा डेरा खोजि दिनु पर्ने प्रस्ताव गरे ।
‘ठिक छ, त्यहाँ सरकारी जमिनमा बस्नु दिनु हुँदैन भने हामीलाई बजार क्षेत्रमा डेरा खोजि दिनु पर्यो, हामी भाडा तिरी बस्छौ’ उनले भने ।
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बमले समुदायका मागलाई आफूले मेयर, उप मेयर र प्रवक्तासम्म पुगाउने आश्वासन दिए । ‘तपाईहरुका माग म मेयर साप, उप मेयर साप, प्रवक्ता सबैसम्म पुगाउँछु’ उनले भने ।
भीमदत्तका मेयर बोगटीका सचिवका महताले भने वादी समुदायलाई मात्रै व्यवस्थापन गर्न सकिने अवस्था नभएकाले बताए । ‘सरकारी जमिनमा बसेका सबैलाई हटाई रहेका छौ, व्यवस्थापन गर्ने कुरा गर्दा वादी समुदायको मात्रै गर्ने भन्ने हुँदैन’ उनले भने ।
भीमदत्तका मेयर बोगटी केही दिन नगरपालिका कार्यालय आएका छैनन् । २२ सटरका व्यवसायीसित आफ्नै कार्यकक्षमा लफडा भएपछि उनी कार्यालय नआएको कर्मचारीहरुले बताए ।
वादी समुदायले विहानैदेखि प्रवेशद्वारमा धर्ना बस्ने भएकाले दक्षिणको प्रवेशद्वारमा जनप्रतिनिधि र कर्मचारी कार्यालय जाने गरेका छन् ।
भीमदत्तका उप मेयर निलम लेखक जोशी भने आइतबार कार्यालय पुगेर प्रधानमन्त्री रोजगार कार्यक्रमको हाते औजार समान वितरण कार्यक्रममा निस्किएकी थिइन् ।
नगर विकास पीडित वादी अधिकार संघर्ष समितिकी संयोजक वसन्ती वादीले भीमदत्तले आफूहरुका मागमा सुनुवाई नगरेपछि बाध्य भएर अर्धनग्न हुनु पर्ने अवस्थामा आएको बताइन् ।
‘हाम्रा टहरा भत्काएर बिचल्लीमा पारेपछि हामी सोही स्थानमा व्यवस्थापनको माग गर्दै आन्दोलनमा छौ, भीमदत्तले अहिलेसम्म कुनै मतलब गरेको छैन’ उनले भनिन्,‘केही मतलब नगरेपछि हामीहरु अर्धनग्न भएर बस्नु पर्ने अवस्था आयो, यो देखेर त अलिकति त लाज लाग्ला ।’
भीमदत्त नगरपालिकाले चैत २१ गते नगर प्रहरी लगाएर होटेल ओपेरा नजिक बस्दै आएका वादी समुदायका घर घर टहरा डोजर लगाएर भत्काएको थियो ।
