ghar sansar

भीमदत्त १७ नम्बर वडाले गरायो ज्येष्ठ नागरिक र एकल महिलालाई सुदूरपश्चिमका विभिन्न तिर्थस्थल भ्रमण

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ नम्बर वडाले ज्येष्ठ नागरिक र एकल महिलालाई सुदूरपश्चिमका तिर्थस्थलको भ्रमण गराएको छ ।

वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार वडाभित्रका ज्येष्ठ नागरिक र एकल महिलालाई कञ्चनपुर, कैलाली र डडेल्धुराका तिर्थस्थलको भ्रमण गरी दर्शन गराएको छ ।

वडा अध्यक्ष पदम बुडाले ज्येष्ठ नागरिकको माग अनुसार चालु आर्थिक वर्षमा तिर्थस्थल दर्शन कार्यक्रम राखिएको जानकारी दिए ।

‘वडाभित्रका ज्येगठ नागरिकको माग अनुसार यो वर्ष यो कार्यक्रम राखिएको हो, यसबाट तिर्थस्थल दर्शन, ज्येष्ठ नागरिकहरुबीच अनुभव आदानप्रदान लगायतका फाइदा हुने नै भयो’ वडा अध्यक्ष बुडाले भने,‘यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्छ ।’

वडा अध्यक्ष बुडाले आगामी वर्ष पनि तिर्थ स्थल दर्शन भ्रमण कार्यक्रमलाई निरन्तरता दिइने बताए । भ्रमणमा ज्येष्ठ नागरिक र एकल महिला गरी ४५ जना सहभागी भएका छन् ।

भ्रमणमा सहभागी बाँसखेडाका डिल्लीराज जोशीले भ्रमणबाट आफूहरुलाई मनोरञ्जन प्राप्त हुने, आपशी परिचयन र विभिन्न तिर्थस्थलको दर्शन गरी मनोसिद्धि गर्न सकिने बताए ।

उनले भ्रमणबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने उल्लेख गरे । ‘हामी इण्डियाको तिर्थस्थल जान्छौ, त्यस्ता ठाउँ हामीसित पनि छन्, यसबाट ती ठाउँहरुको प्रचारप्रसार हुन्छ’ उनले भने ।

भीमदत्त नगरपालिका ८ स्थित भम्केनीबाट तिर्थस्थल भ्रमण सुरु गरिएको थियो । भम्केनीबाट बेदकोट ताल, गोदावरी हुँदै डडेल्धुराको परशुराम धाम, घटाल थान, असिग्राम र उग्रतारा मन्दिर भ्रमण गरी दर्शन गरिएको छ ।

शनिबारदेखि सुरु तिर्थस्थल भ्रमण टोली सोमबार वडा फर्किएको छ । भम्केनी धामबाट शनिबार सुरु गरिएको भ्रमणको पहिलो दिन डडेल्धुरा परशुराम धाममा टोली पुगेको थियो ।

dirghayi clinic

आइतबार परशुरामबाट डडेल्धुरा पुगेर टोलीले घटाल थान, असिग्राम र उग्रतारा मन्दिरको दर्शन गरेको छ ।

भ्रमण गरिएका सबै तिर्थस्थलमा सहभागीहरुले पूजापाठ गरे । परशुराम धाममा उनीहरुले महाकाली नदीमा स्नान गरे ।
परशुराम धामका व्यवसायी ललितरा जोशीले वडा अध्यक्ष पदम बुडालाई खादा ओढाएर सम्मान गरे । उनले जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरी सन्तुष्ट बनाउनु सुझाव दिए ।

जोशी धाम प्रवेश नजिक पसल सञ्चालन गर्दै आएका छन् । परशुरामले भक्तजनको मनोकाँक्षा पूरा गर्ने विश्वास गरिन्छ ।

परशुराम नगरपालिका ५ स्थित महाकाली नदी किनारको यो धाममा परशुरामको विशाल मूर्ति स्थापना गरिएको छ । परशुरामले महाकाली नदी किनारमा तपस्या गरेको इतिहास छ । परशुरामले तपस्या गरेको स्थान महाकाली नदीमै छ ।
महाकाली नदीले तपस्या स्थललाई हालसम्म केही असर पार्न नसकेको स्थानीयले बताए ।

भ्रमणमा वडा अध्यक्ष बुडा सहित वडा सदस्य र सचिव राज बहादुर थापा सहभागी भएका छन् । घटाल थान, असिग्राम र उग्रतारा मन्दिर डडेल्धृुराका तीन प्रसिद्ध धार्मिक स्थल मानिन्छन् ।

घटाल थान र असिग्राम नजिक छन् । असिग्राम दर्शन गरेपछि मात्रै घटाल दर्शन गर्ने परम्परा छ । घटाल थान नदी बिचमा स्थापना गरिएको छ । घटाल थान दर्शनका लागि भारतका विभिन्न सहरबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

भीमदत्त नगरपालिकाका सव इन्जिनियर पवनचन्द्र लेखकले तिर्थ स्थल दर्शन ज्येष्ठ नागरिकका लागि निकै महत्वपूर्ण भएको बताए ।

‘ज्येष्ठ नागरिकहरुबाट धर्म संस्कृति मान्ने चाहना धेरै हुन्छ, घरमा बसेर एक हिसाबले दिक्क पनि लागेको हुन्छ’ उनले भने,‘यसले वहाँहरुलाई धेरै नै फाइदा हुन्छ ।’

भ्रमणमा निस्कन अघि वडा कार्यालयमा उनीहरुलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष बुडाले सहभागी सबैलाई खादा ओढाएर सम्मान गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...