

महेन्द्रनगर । केही दिनदेखि बढेको अत्यधिक गर्मीपछि मंगलबार राति झरी परेपछि बुधबार दिनभर शितल भयो । दिनभर झरी आउने आशमा सर्वसाधारणले साँझ कुर्न प¥यो । साँझपख झरी आएर सर्वसाधारणको प्रतिक्षाको घडी तोडियो । अहिले झरी परि रहेको छ ।
गर्मीले अस्तव्यस्त जीवनलाई झरीले केही राहत दिएको छ । झरी आउन केही दिन अघि मात्रै सार्वजनिक महालेखा परीक्षको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले भने सर्वसाधारणलाई झरीको शितलमा आनन्द बस्न नसक्ने अवस्थातिर पुगाएको छ ।
महालेखा परीक्षकको कार्यालयको ६२ औँ वार्षिक लेखा परीक्षण प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कञ्चनपुरका स्थानीय तहको बेरुजु आधा अर्ब नजिक पुगेको औल्याइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको बेरुजु रकमलाई हेर्दा जेठको गर्मीमा परेको झरीलाई बिर्साउने गरी बेरुजुको बाढी आएको रुपमा लिन सकिने अवस्था देखिएको छ ।
९ स्थानीय तहमा ४० करोड ६० लाख बेरुजु महालेखाको प्रतिवेदनमा औल्याएको छ । कञ्चनपुरमा दुई गाउँपालिका र सात नगरपालिका छन् ।
बेलौरी नगरपालिकाले यस वर्ष बेरुजुमा सबैलाई उछिनेर शीर्ष स्थान बनाएको छ । बेदेकाट नगरपालिकाले सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा परेको छ ।
स्थानीय तहको लेखा परीक्षण गरिएको रकमका आधारमा भीमदत्त नगरपालिकामा सबैभन्दा बढी बेरुजु छ । भीमदत्त कञ्चनपुरको सबैभन्दा पूराना नगरपालिका हो ।
बेलौरी नगरपालिकाको बेरुजु रकम ६ करोड ७३ लाख छ । यो लेखा परीक्षण गरिएको रकमको ५ दशमलव ३५ प्रतिशत हो । बेलौरीमा एक अर्ब २५ करोड ९१ लाख रकमको लेखा परीक्षण गरिएको थियो ।
बेलौरीमा माओवादी केन्द्रका नेता पोतिलाल चौधरी मेयर छन् । उनी २०७४ देखि लगातार मेयर छन् । सबैभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत फेरिने नगरपालिकामा बेलौरी सबैभन्दा अगाडि आउँछ ।
काँग्रेस कञ्चनपुरका पूर्व सचिव भोजराज बोहराले बेदकोटलाई सबैभन्दा कम बेरुजु भएको नगरपालिका बनाएका छन् । उनी २०७९ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका हुन् ।
बेदकोट लेखा परीक्षण गरिएको रकमको शुन्य दशमव ४८ प्रतिशत मात्रै बेरुजु छ । एक अर्ब तीन करोड २२ लाखको लेखा परीक्षण हुँदा ८२ लाख ७६ हजार मात्रै बेरुजु आएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा बेदकोटमा पदमराज भट्ट प्रमुख प्रशासकीय अधिकृत थिए । अहिले उनी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बाहिर छन् ।

तत्कालिन जिल्ला विकास समितिमा लामो समय आन्तरिक लेखा परीक्षण शाखा सम्हालेका केशव भट्ट बेदकोटमा आलेप शाखा प्रमुख छन् ।
बेदकोटका आलेप शाखा प्रमुख भट्टले आन्तरिक लेखा परीक्षणका क्रममा मसिनो ढङ्गले कागजात हेर्ने गरिएको बताए ।
बेदकोटपछि छिमेकी शुक्लाफाँटा नगरपालिका बेरुजु कम भएको स्थानीय तह भएको छ । शुक्लाफाँटामा एमालेका नेता रण बहादुर महरा मेयर छन् । २०७९ मा मेयर निर्वाचित भएका हुन् ।
शुक्लाफाँटामा लेखा परीक्षण गरिएको एक अर्ब ५८ करोड ४१ लाख रकममा शुन्य दशमलव ७१ प्रतिशत बेरुजु आएको छ । यो एक करोड १३ लाख हो ।
शुक्लाफाँटामा २०८०÷०८१ मा टिकेन्द्र प्रसाद भट्ट प्रमुख प्रशासकीय अधिकृत थिए । अहिले उनी पनि जिम्मेवारी बाहिर छन् ।
कञ्चनपुरको सबैभन्दा पूरानो नगरपालिका भीमदत्तमा १५ करोड एक लाख बेरुजु रकम आएको छ । यो ४ दशमलव २४ प्रतिशत हो । भीमदत्तमा तीन अर्ब ५३ करोड १८ लाख रकम लेखा परीक्षण गरिएको थियो ।
भीमदत्तमा काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी मेयर छन् । उनी २०७९ मा मेयर निर्वाचित भएका हुन् ।
काँग्रेस कञ्चनपुरका सचिव हेमराज ओझा कृष्णपुर नगरपालिकाका मेयर छन् । कृष्णपुरमा ४ करोड ७१ लाख बेरुजु आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा १ अर्ब ८६ करोड ३७ लाख रकम लेखा परीक्षण गरिएको थियो । यो रकमको २ दशमलव ५३ प्रतिशत बेरुजु आएको हो ।
पुर्नवास नगरपालिकाको २ दशमलव २७ प्रतिशत बेरुजु आएको छ । एक १ अर्ब २६ करोड २२ लेखा परीक्षण हुँदा २ करोड ८६ लाख बेरुजु आएको छ । शिक्षक पृष्ठभूमिका काँग्रेस नेता तोयप्रसाद शर्मा पुनर्वासका मेयर छन् ।
महाकाली नदी पारीको दोधारा चाँदनीले पनि बेरुजुमा फड्को मारेको छ । दोधारा चाँदनीमा एमाले किशोर कुमार लिम्बु मेयर छन् । ९९ करोड ४२ लाख लेखा परीक्षण भएकोमा ३ करोड ८४ लाख बेरुजु आएको छ । यो ३ दशमलव ८७ प्रतिशत हो ।
दुई गाउँपालिकाको लेखा परीक्षण रकमका आधारमा बेरुजु हाराहारी छ । बेलडाँडीमा काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना अध्यक्ष छन् । राना शिक्षण पेशा छाडेर चुनाव लडेका हुन् ।
बेलडाँडी गाउँपालिकाको बेरुजु ४ दशमलव शुन्य ६ प्रतिशत छ । ६७ करोड १ लाख लेखा परीक्षण हुँदा २ करोड ७२ लाख बेरुजु आएको छ ।
लालझाँडी गाउँपालिकाको बेरुजु रकम २ करोड ७५ लाख छ । ९३ करोड ९० लाख लेखा परीक्षण हुँदा यो बेरुजु आएको छ । यो रकम २ दशमलव ९३ प्रतिशत हो ।
