
३ करोड ८४ लाखको बेरुजुमा दोधारा चाँदनीका मेयर लिम्बुले भने– पत्रकारले जनप्रतिनिधि र कर्मचारीलाई धम्क्याउँदै ४०/५० लाख लगेकै छन्

महेन्द्रनगर । आर्थिक वर्ष २०८०÷०८१ मा दोधारा चाँदनी नगरपालिकामा ३ करोड ८४ लाख रुपैयाँको बेरुजु देखिएको छ। सार्वजनिक लेखा परीक्षण प्रतिवेदनपछि नगरपालिकामाथि उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै नगर प्रमुख किशोर लिम्बुले उक्त बेरुजुका विषयमा स्पष्टिकरण दिएका छन् ।
मेयर लिम्बुका अनुसार यो बेरुजु भ्रष्टाचारबाट नभई जनताको काम गर्दा उत्पन्न खर्च र तेस्रो पक्षको जिम्मेवारी नपुरा भएका कारण देखिएको हो। उहाँले महाकाली नदीमाथिको पुल निर्माणको क्रममा ठेकेदार कम्पनीले नगरपालिकालाई झण्डै १ करोड रुपैयाँ बराबरको रोयल्टी दिने प्रतिवद्धता गरेको भए पनि पछि त्यो रकम नदिएको उदाहरण प्रस्तुत गरेका छन् ।
“७४ सालतिर आम्दानी बढाउने काम गरियो, तर कम्पनीले पछि त्यो पैसा दिएन,” मेयर लिम्बु भन्छन्, “महालेखाले त्यही रकम पनि बेरुजु देखायो भने नगरपालिकाको के दोष? ”
उहाँले लेखा परीक्षणले देखाएका बेरुजुहरू मध्ये धेरै सैद्धान्तिक रहेको र तीलाई हटाउन वा घटाउन सकिने कानुनी प्रावधान रहेको पनि उल्लेख गरेका छन ।


यसै सन्दर्भमा मेयर लिम्बुले पत्रकारिता क्षेत्रप्रति असन्तोष पनि पोखेका छन । उनका अनुसार अधिकांश पालिकाबाट ४०–५० लाख रुपैयाँसम्म पत्रकारहरूले विभिन्न शीर्षकमा रकम लिएको पाइन्छ, जुन बेलामा कुनै पनि समाचार नबनेको आरोप लगाउँदै भनेका छन् ।
मेयर लिम्बुले फेसबुकबाट आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनको प्रतिक्रिया यस्ते छ ।
“पत्रकारलाई दिइएको रकम पनि अब बेरुजु देखाउने कानुन बन्नु पर्छ। धम्क्याएर समाचार लेख्ने र प्रसारण नै नहुने रिपोर्ट बनाउने चलन अन्त्य हुनुपर्छ।”
अहिले देखिएको बेरुजुमा दोषारोपणभन्दा पनि उत्तरदायित्व वहन गर्ने र पारदर्शिता कायम गर्ने विषय प्राथमिक हुनुपर्ने स्थानीय नागरिकहरू बताउँछन्। मेयरको भनाइप्रति विभिन्न प्रतिक्रिया आउन थालेका छन्, भने लेखा परीक्षणको नतिजा र त्यसको समाधानतर्फ नगरपालिकाले कस्तो कदम चाल्छ भन्नेमा अब सबैको ध्यान केन्द्रित हुने देखिन्छ।
साभार : दोधारा चाँदनी खबर
