ghar sansar

खुला मञ्चमा हुँदैछ बृहत योग शिविर, अर्थमन्त्री थापाले उद्घाटन गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । खुला मञ्चमा शनिबारदेखि बृहत योग शिविर सञ्चालन हुन लागेको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले शनिबारदेखि एक सातासम्म शिविर आयोजना गर्न लागेका हुन् ।

सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह थापाले शिविर उद्घाटन गर्ने छन् । शिविर शनिबार विहान ४ः३० बजेदेखि सुरु हुने छ । मन्त्री थापाले उद्घाटन गरेपछि शिविर औपचारिक रुपमा सुरु हुने बताइएको छ ।

मन्त्री थापाले पानसमा बत्ती बालेर शिविर उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सहित अतिथिहरुलाई स्वागत बाहेक मन्तव्यका कार्यक्रम राखिएको छ ।

शिविरको सबै तयारी गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । ‘तयारी लगभगत भई सकेको छ, निर्धारित समयमै उद्घाटन गरी शिविर सुरु हुन्छ’ अध्यक्ष भट्टले भने ।

केन्द्रले पत्रकार सम्मेलन गरी शिविर सञ्चालन सम्बन्धि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी खडक बहादुर खत्री सहित केन्द्रका सल्लाहकार, पदाधिकारी, पूर्व पदाधिकारी सहभागी भए ।

पतञ्जली योग समितिसित सहकार्य गरी केन्द्रले पहिलो पटक योग शिविर आयोजना गर्न लागेको हो ।

शिविरमा पतञ्जली योगपिठ हरिद्वारका योग गुरु साध्वी डा. देवविजया जी प्रमुख प्रशिक्षक हुने छिन् । पतञ्जली योग समितिका केन्द्रीय सदस्य योग गुरु लवराज भट्ट लगायतका शिविरमा प्रशिक्षक हुने छन् ।

शिविर सञ्चालनका लागि भीमदत्त नगरपालिका सहित विभिन्न संघ संस्थासित सहकार्य गरिएको केन्द्रका अध्यक्ष भट्टले बताए ।

स्वस्थ्य जीवन र सभ्य समाज निर्माणमा सहयोग पुगाउन शिविर आयोजना गरिएको केन्द्रका अध्यक्ष भट्टले बताए ।
‘स्वस्थ्य जीवन, सभ्य र असल सभाज निर्माणमा योगको ठूलो भूमिका छ, योगबाट समाजलाई सभ्य बनाउने लक्ष्य राखेर शिविर आयोजना गरिएको छ’ उनले भने ।

योग शिविरबाट समाजमा बढ्दो लागु औषध कुलतलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास राखिएको उनले बताए ।
‘अहिले समाजमा युवाहरु सबैभन्दा बढी लागु औषधको कुलतमा परेका छन्, समाज डरलाग्दो गरी लागू औषधमा फसेको छ’ उनले भने,‘शिविरबाट त्यस्ता लागु औषध नियन्त्रणका लागि सहयोग पुग्छ, योग गर्दा हुने ध्यानले उनीहरुलाई त्यस्ता कुलतमा लाग्नबाट जोगाउँछ ।’

शिविरमा भीमदत्त नगरपालिका क्षेत्रका एक दर्जन विद्यालयका विद्यार्थीहरु सहभागी गराउने तयारी गरिएको छ ।

केन्द्रले ती विद्यालयमा पुगेर शिविरमा विद्यार्थीहरुको सहभागिता सम्बन्धि छलफल गरेको छ । विद्यालयहरु शिविरमा विद्यार्थी पठाउन सकारात्मक देखिएको अध्यक्ष भट्टले बताए ।

शिविरको व्यापक प्रचारप्रसार गरिएको छ । पतञ्जली योग समिति आवद्ध १९ योग साधना केन्द्रमा पुगेर शिविरको प्रचार गरिएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बोकटीले लागु औषध दुव्र्यसन नियन्त्रणका लागि युवा विद्यार्थीलाई सचेत बनाउनु पर्ने आवश्यकता औल्याए ।

dirghayi clinic

‘अहिले लागु औषध दुव्र्यसन यसरी बढी रहेको छ कि आगामी पुस्ता यसबाट सुरक्षित हुन सक्ने अवस्था छैन’ पत्रकार सम्मेलनमा उनले भने,‘यो योग शिविरमा विद्यार्थी युवा सहभागी गराएर लागु औषध विरुद्ध जनचेतना फैलाउन सके मात्रै आगामी पुस्ता सुरक्षित हुन सक्छ ।’

योग ध्यानले युवा विद्यार्थी गलत पेशा व्यवसायमा नलाग्ने र समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न सक्ने क्षमता हासिल गर्न सक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खत्रीले कञ्चनपुर लागु औषधको समस्या व्यापक भएको बताए ।

एसपी खत्रीका अनुसार प्रहरी कार्यालयको हिरासतमा ८० प्रतिशत थुनुवा लागु औषध मुद्दाका छन् । ‘कारागारभित्र पनि लागु औषधको बढी छन्’ उनले भने ।

शिविरमा दैनिक डेढ हजार बढी योग साधक सहभागी हुने अपेक्षा गरिएको छ । शिविरमा विद्यार्थी सहित विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुने आशा छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका कानुनी सल्लाहकार अधिवक्ता पूर्णा भट्टले शिविरमा सहभागी हुने विद्यार्थीले लागु औषध विरुद्ध जनचेतना फैलाउन सक्ने बताइन् ।

कानुनी सल्लाहकार भट्ट केन्द्रका संस्थापक अध्यक्ष स्वर्गिय वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टकी छोरी हुन् । स्वर्गिय भट्टको अध्यक्षमा २०५६ मा सामुदायिक सेवा केन्द्र गठन गरिएको थियो ।

पत्रकार सम्मेलनमा कानुनी सल्लाहकार भट्टले आफ्ना स्वर्गिय बुवा भट्टलाई सम्झिइन् ।

काठमाडौंमा प्राध्यापन गर्दै आएकी भट्ट केही वर्षदेखि गृह नगर फर्केर सामाजिक कार्य र वकालत पेशामा सक्रिय छिन् । भट्टले काठमाडांैमा विभिन्न कलेजमा प्राध्यापन गरेकी थिइन् ।

भीमदत्त नगरपालिका क्षेत्रका एक दर्जन विद्यालय पुगेर भट्टले लागु औषध सम्बन्धि अध्ययन गरेकी छन् । उनी १३ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीमा लागु औषधको कुलतमा फसेको बताउँछिन् ।

‘विद्यालयमा कितावी ज्ञान सिकाइन्छ, अब त्यसले मात्रै लागु औषध कुलत रोक्न सकिदैन’ उनले भनिन्,‘त्यसका लागि विद्यार्थीलाई के गर्ने के नगर्ने भन्ने अन्य ज्ञान आवश्यक छ ।’

योगले विद्यार्थीहरुलाई आफू स्वस्थ रहन र कुलत संस्कारबाट जोगाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

‘यो शिविरबाट विद्यार्थीहरुलाई स्वस्थ रहौ, निरोगी बनौ, समाजलाई सभ्य बनाउ भन्ने शिक्षा मिल्छ, त्यसलाई अरुसम्म पुगाउँदा अरुलाई चेतना हुन्छ’ उनले भनिन् ।

शिविरमा अढाई लाख खर्च हुने अनुमान गरिएको छ । शिविर सञ्चालनका लागि कानुनी सल्लाहकार भट्टले व्यक्तिगत रुपमा १० हजार सहयोग गरेकी छन् ।

भीमदत्त नगरपालिका, एनएनएसडब्लुए, आदर्श विद्या निकेतन लगायत संघ संस्थाले शिविर सञ्चालनमा सहयोग गर्ने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रका उपाध्यक्ष बिमल खडायत, योग गुरु लवबराज भट्ट सहित सहभागी भए । केन्द्रका सचिव भुवन कुँबरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

Himal dental
सम्बन्धित
Loading...