

महेन्द्रनगर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट यस वर्ष पनि पशु पालक किसानहरुले अनुदान पाउन लागेका छन् । यस वर्ष १४ करोडसम्म अनुदान वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
कार्यालयका वरिष्ठ पशु चिकित्सक एबम् सूचना अधिकारी खडक बहादुर पाण्डेयले यस वर्ष १२ देखि १४ करोडसम्म अनुदान वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘अनुदान वितरण कार्यक्रम विगतको निरन्तरता हो, यस वर्ष १२ देखि १४ करोडसम्म अनुदान वितरण हुन्छ’ उनले भने,‘त्यसको सबै प्रक्रिया पूरा भएर अन्तिम चरणमा आइ सकेका छौ ।’
सार्वजनिक सूचना आव्हान गरी किसानहरुबाट निवेदन मागेर अनुदान वितरण प्रक्रिया सुरु गरिएको थियो ।
सार्वजनिक सूचना अनुसार विभिन्न कार्यक्रममा पेश भएका निवेदन अनुसार छनौट गरिएका किसानलाई अुनदान दिन लागिएको हो । व्यक्तिगत फर्म, समूह तथा सहकारीले मात्रै अनुदानका लागि निवेदन दिन सक्ने व्यवस्था छ । कार्यालयका अनुसार फर्म, समूह र सहकारीले अनुदान पाउने छन् ।
कार्यालयका अनुसार व्यक्तिगत फर्मले ५० प्रतिशत तथा सहकारी र समूहले ७५ प्रतिशत अनुदान पाउने छन् ।

कार्यालयसित सम्झौता अनुसार कार्य सम्पन्न भएपछि फिल्ड अवलोकन गरेपछि उनीहरुलाई भुक्तानी दिने प्रक्रिया थालिने सूचना अधिकारी पाण्डेयले बताए ।
‘सम्झौता अनुसार काम भए नभएको फिल्ड अनुगमन हुन्छ, त्यसपछि भुक्तानी प्रक्रिया अघि बढ्छ’ उनले भने ।
भैसी पालन, फर्म सुधार, बाख्रा पालन, कुखुरा पालन, मासु पसल, डेरी प्रवद्र्धन र मत्स्य पालमा अनुदान दिन लागिएको हो ।
यस वर्ष कुखुरा पालन अन्र्तगत वातानुकूलित खोर निर्माणका लागि पनि अनुदान छ । ६ ठाउँमा बन्ने खोर निर्माणका लागि ३० लाखका दरले अनुदान दिन सम्झौता गरिएको छ ।
वातानुकूलित खोर निर्माणले कुखृुरा पालक किसानलाई गर्मी याममा कुखुराका चल्लालाई बचाउन सहयोग पुग्ने सूचना अधिकारी पाण्डेयले बताए ।
माछा पालनमा दुई करोड अनुदान वितरण गर्ने तयारी छ । कार्यालयका अनुसार पक्की पोखरी निर्माण भूरा(ह्याचरी) निर्माणका लागि अनुदान दिन लागिएको हो ।
कार्यालयबाट सबैभन्दा कम अनुदान २० हजारका दरले विपन्न वर्ग वा लक्षित समूहलाई दिइने भएको छ । उनीहरुलाई सामूहिक रुपमा बाख्रा पालनका लागि अनुदान दिइनेछ ।
यस वर्ष ठूलो रकम खोर निर्माणमा खर्च हुने कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिएका छन् ।
