

महेन्द्रनगर । होटल व्यवसायीहरुलाई दुई दिने आतिथ्यता सम्बन्धि तालिम आयोजना गरिएको छ । होटल व्यवसाय संघ कञ्चनपुरले होटल तथा पर्यटन व्यवसायीहरुका लागि आतिथ्यता व्यवस्थापन सम्बन्धि तालिम आयोजना गरेको छ ।
पछिल्लो समय खस्किदै गएको व्यापार र घट्दै गएका पर्यटकलाई उचित व्यवस्थापन गर्न तालिमको आयोजना गरिएको कार्यक्रमका सभापती होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

अतिथिहरुको स्वागत सत्कार कसरी गर्ने, आएका ग्राहकलाई दोस्रो चोटी आउन कसरी वातावरण सृजना गर्ने, पेशा व्यवसायलाई कसरी गुणस्तरिय बनाउन सकिन्छ, भन्ने विषयमा तालिमले व्यवसायीहरुलाई सक्षम बनाउने उनले बताए । उद्दघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले तालिमले कञ्चनपुरलाई प्रमुख पर्यटक केन्द्र बनाउन महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको बताए ।
पर्यटकहरुलाई गर्ने व्यवहार, दृष्टीकोणमा पनि सुधार गरिदै जानुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव दत्त पाण्डेले होटल व्यवसायीको क्षमता विकास हुने गरि दक्ष जनशक्ति उत्पादन गर्न तालिमले महत्वपूर्ण भुमिका खेल्न शुभकामना व्यक्त गरे ।


उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले हाल पर्यटकले रमाउने स्थिति नरहेको, विदेशी मदिरामा राज्यले सय प्रतिशत कर लगाएकाले व्यवसायीहरुमाथि अन्यायभएको बताए । राज्यले कर छुट गरि व्यवसाय सँग सहज वातावरण सृजना गर्नुपर्ने उनले बताए ।
होटल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश प्रसाद जोशीले अतिथिहरुलाई देवता सरह ठानेर व्यवसायीहरुले व्यवहार गर्नुपर्नेमा जोड दिए । होटल व्यवसायीलाई प्रशासन र प्रहरीको हेर्ने दृष्टिकोणमा समेत सुधार हुनुपर्ने उनले बताए । ‘होटलवाला’ भन्दै प्रहरी प्रशासनले नराम्रो व्यवहार दर्शाउने गरेकाले यसमा सुधार गर्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी खड्क बहादुर खत्रीले होेटल व्यवसाय सञ्चालनमा सुरक्षाको पूर्ण व्यवस्था गर्न प्रहरी तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले समाजको हित हुने गरी होटेल व्यवसाय सञ्चालन गर्न आग्रह गरे । व्यावसायिक हित र सामाजिक हित लाई ध्यानमा राख्दै होटेल व्यवसाय सञ्चालनको समय खुकुलो बनाउँदै लगिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
होटल तथा पर्यटन व्यवसायीहरूका लागि आतिथ्य व्यवस्थापन तालिम कार्यक्रममा सभापति होटेल व्यवसाय कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लक्ष्मण अधिकारी, होटेल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश प्रसाद जोशी, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव दत्त पाण्डेय, उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पीताम्बर जोशी, डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नरेश प्रसाद भट्ट लगायत होटेल व्यवसायीहरूको सहभागिता रहेको थियो । तालिममा ५० बढी होटल व्यवसायीहरुको सहभागिता रहेको छ ।
तालिमको प्रमुख प्रशिक्षक दिल्लीराज भण्डारी रहेका छन् ।

