

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० कुतियाकबरमा साँसद ज्ञानेन्द्र महता सहित सरकारी अधिकारी पुगेपछि ऐलानी जग्गा नाप जाँच कार्य सुरु भएको छ ।
कञ्चनपुर ३ का साँसद महता सहित प्रम्ुख जिल्ला अधिकारी मदन कोइराला, दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी लगायत अधिकारी मंगलबार मध्यान्ह बस्तीमा पुगेका छन् ।
साँसद सहित सरकारी अधिकारी बस्तीमा पुगेपछि दोधारा चाँदनी नगरपालिका भूमि व्यवस्थापन शाखाले ऐलानी जग्गा नाप जाँच सुरु गरेको छ ।
कुतियावकरका ५५ फायल जग्गाधनी पूर्जाका लागि भूमि व्यवस्थापन शाखामा पुगेका छन् ।
साँसद महता सहितको उपस्थितिमा ऐलानी जग्गा नाप जाँच सुुरु भएको छ । २०२२ देखि बस्दै आएको बस्तीका वासिन्दा हालसम्म ऐलानी जग्गा भोगचलन गर्दै आएका छन् ।
बस्तीमा पुगेको साँसद सहितको टोलीमा दोधारा चाँदनीका उप मेयर गंगा जोशी सहभागी भएका छन् । उप मेयर जोशी सोमबार पनि कुतियाकवरमा जग्गा नाप जाँच उद्घाटनमा सहभागी भएकी थिइन् ।
दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले सोमबार जग्गा नापजाँच गरेका समाचार आएका थिए ।
मंगलबार मेयर लिम्बु साँसद सहित बस्तीमा पुग्दा अनुपस्थित भएका छन् । वस्तीका वासिन्दाले मेयर लिम्बु सोमबार बस्तीमा आएको बताए ।
दोधारा चाँदनी नगरपालिकाका कर्मचारीले भने सोमबार मेयर बस्तीमा आएपछि वडा अध्यक्ष नेतृत्वको भूमि समस्या सम्बन्धि समितिको बैठक बसेको दाबी गरे ।
कर्मचारीले दावी विपरित सोमबार मेयर लिम्बुले जग्गा नाप जाँच गरेका समाचार भने बाहिर आएका छन् ।
प्रमुख जिल्ला अधिकारी जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष हुन् ।
वस्तीमा जग्गा नापजाँच सुरु भएपछि साँसद महताले दोधारा चाँदनीका जनतालाई कुतियाकबरबाटै जग्गाको मालिक बनाउने प्रक्रिया सुरु गरिएको बताए ।
‘जनतालाई भूमि अधिकार लालपुर्जा शिघ्र वितरणमा हामीलाई ढिलोचाँडो गर्ने कुनै छुट छैन, ‘उनले भने, ‘फिल्डमा काममा क्रममा कुनै समस्या आए हामीलाई भन्नु हामीले तुरुन्तै सम्बन्धीत निकायमा प्रस्ताव अघि सारेर समाधान गछौँ, जनतालाई अब कसरी भएपनि दुखमुक्त गर्नुपर्छ ।’
दोधारा चाँदनीका मेयर लिम्बु २०७९ को स्थानीय तह निर्वाचन अघि भूमि समस्या समाधान समितिमा आफैं विज्ञ सदस्य थिए ।
कुतियाकबरमा सबै फाइल अवस्थित बसोबासी छन् । २०२२ देखि बसेको बस्तीमा २०७४ मा जग्गा नाप जाँच भएको थियो । अहिले फेरि नाप जाँच सुरु भएको छ ।
दोधारा चाँदनीमा हालसम्म वडा नं. ४, ६ र ७ मा जग्गा नापी कार्य सुरु हुन सकेको छैन । विगतका आयोगले दिएका केही सेतो पूर्जालाई रातो बनाएर यस अघि वितरण गरिएको छ ।
दोधारा चाँदनी नगरपालिका भूमि व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चन्द्र ओझाले उनले पहिलो दिन वस्तीको सबै भोगचलन गरिएको जमिनको प्वाईन्ट लिने र त्यसपछि फाराम र भोगचलनका आधारमा व्यक्ति व्यक्तिको नापचाँज गरिने बताए ।
यस पटक वस्ती स्तमा जग्गा नाप जाँच सकिएपछि जग्गाधनी पूर्जा प्रक्रिया सुरु गरिने ओझाले बताए ।

‘यस पटक जुन बस्तीमा सकियो, त्यहींबाट पूर्जाधनी प्रक्रिया सुरु गर्ने भन्ने छ’ उनले भने, ‘यस अनुसार काम गर्र्दै अघि बढ्छौ ।’
दोधारा चाँदनीका सबै १० वडामा चार हजार हेक्टर बढी जमिन नाप जाँच गरिने उनले बताए ।
जग्गा नाप जाँचमा दुई सर्भेक्षक र दुई अमिन गरी चार जना सहित अन्य जनशक्ति परिचालन गरिएका छन् ।
जग्गा नाप जाँच सुरु भएपछि वासिन्दाले जग्गा धनी पूर्जा पाउने आश पलाएको बताए ।
विगतमा नापी भएर जग्गाधनी पूर्जा पाउन नसकेका उनीहरु यस पटक सरकार हेरफेर भए पनि आयोग विघटन नहुने भएपछि आशावादी भएका छन् ।
कुतियावरका मोहन सिंह सुनारले यस पटक पूर्जा पाउनेमा आशावादी भएको बताए ।
‘२०२२ सालदेखि बस्दै आएका छौ, पूर्जा पाउन सकेका छैनौ, यस पटक पूर्जा पाउन सकिन्छ भन्ने आश गरेका छौ’ उनले भने ।
‘हाम्रो यो जग्गा त यस अघि पनि नापिएको हो, त्यसपछि त्यसै छाडियो, यस पटक पनि हुँदैछ, जग्गा पाउने आश त छ’ उनले भने ।
२०४३ को पञ्चालत कालका वडा सदस्य सुनारले बस्ती बसेपछि पूर्जाको माग गर्दै आएको बताए ।
स्थानीय दिलु सिंह खत्रीले विगतमा सरकार हेरफेर हुने आयोग फेरिने समस्या भए पनि यस पटक त्यस्तो नभएको उनले बताए ।
‘यो जग्गा नापी त पहिला पनि भएकै हो, पूर्जा पाएनौ, सरकार बदलियो भने आयोग नै विघटन हुने समस्या थियो, यस पटक त्यस्तो केही छैन’ उनले भने, ‘सिडिओ सापको अध्यक्षतामा छ, त्यसैले पूर्जा पाउँछौ भन्ने आश छ ।’
सरकारले पूर्जासंगै बस्तीमा आउने बाढी रोक्न बलियो तटबन्ध बनाउनु पर्ने उनले बताए ।
स्थानीयले बस्तीमा पुगेका साँसद महतासित महाकाली नदी र जोगबुडा नदीमा तटबन्ध बनाएर बस्ती जोगाउनु माग राखे ।
स्थानीय टेक बहादुर सुनारले ६१बर्षमा जमिन नापजाँच भएपछि यस पटक जमिनको मालिक बन्ने आशा व्यक्त गरे ।
‘यस अघि हाम्रो गाँउमा जमिन नापी भएको थिएन, ‘उनले भने, ‘अहिले भईरहेको छ, हामी अब जमिनको मालिक बन्ने आशा पलाएको छ ।’
स्थानीय खत्रीले वर्षौदेखि जग्गा भोगचलन गर्दै आए पनि आफूहरु पूर्जा नभएर सुकुम्बासी जीवन बिताउँदै आएको बताए ।
जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष समेत प्रमुख जिल्ला अधिकारी कोईरालाले कुतियाकबर गाँउमा नाँपजाच गरेर लालपुर्जा वितरण सुरुवात गरिएको बताए ।
जग्गा नाप जाँच सकिएपछि सात दिने हकदावी सूचना सार्वजनिक हुने, त्यसपछि जग्गाधनीको फिल्ड बुक तयार गरिने र पूर्जाका लागि जिल्ला भूमि आयोगमा सिफारिश गरिने दोधारा चाँदनी नगरपालिका भूमि व्यवस्थापन शाखा प्रमुख ओझाले बताए ।
कञ्चनपुरमा जिल्लाभर ६५ हजार वासिन्दाले जग्गाधनी पूर्जाका लागि आयोगमा आवेदन दिएका छन् ।
