

महेन्द्रनगर । शुक्रबार साँझ दैजी क्षेत्रमा झलारीका ललितराज जोशीको सवारी दुर्घटनामा परी मृत्यु भएको घटना दुई प्रहरी पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका १० झलारीका ३८ वर्षीय ललितराज जोशीको ज्यान सवारी दुर्घटनामा ज्यान गएको थियो ।
जोशीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर घटना भएको सुरुमा जानकारी दिएपछि शनिबार दुई प्रहरीलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका प्रहरी दुबै कैलाली प्रहरीका घुमुवा हुन् ।
तर शनिबार मृतक जोशीकी श्रीमती लक्ष्मी ठगुन्नाले प्रदेश प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सिद्धराज जोशी र अमित भट्ट विरुद्ध जाहेरी दर्ता गरेकी छन् । जाहेरीमा उल्लेख भए अनुसार, ती दुई प्रहरी सवार मोटरसाइकलले ललित सवार मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

घटनामा संलग्न प्रहरीलाई जोगाउन र दुर्घटनालाई सामान्य अनियन्त्रित घटना जस्तो देखाउन खोजिएको भन्दै पीडित परिवार र स्थानीय बासिन्दा आक्रोशित भएका छन् । “उनीहरू प्रहरी भएका कारण सवारी साधन चेकजाँच, मदिरा सेवन र तीव्र गतिका विषयमा पनि छुट दिइएको थियो कि भन्ने शङ्का उत्पन्न भएको छ,” मृतकका एक आफन्तले भने, “अब दोषी प्रहरीलाई कानुनी कारबाही गरिएन भने हामी सडकमा उत्रिन बाध्य हुनेछौँ ।”
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खड्क बहादुर खत्रीसँग टेलिफोन कुरा हुँदा उनले भने, “दुई जना प्रहरी नियन्त्रणमा छन् । नियन्त्रणमा रहेका प्रहरीको अवस्था सामान्य छ । अनुसन्धान भइरहेको छ ।”
मृतक जोशी स्थानीय स्तरमा परिचित मार्केटिङ व्यवसायी थिए । उनी नियमित रूपमा कामका लागि मोटरसाइकलमा झलारी–दैजी–महेन्द्रनगर रुटमा ओहोरदोहोर गर्ने गरेका थिए ।
शुक्रबार बेलुका करिब ८ बजे वेदकोट नगरपालिका वडा नम्बर १० स्थित त्रिपुरा मन्दिर नजिकै दुर्घटना भएपछि गम्भीर घाइते जोशीलाई उपचारका लागि तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ८ः३५ बजे उनको निधन भएको थियो ।
