

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा ठूलो मात्रामा रकमान्तर गरिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक २०८१÷०८२ को लेखा परीक्षण प्रतिवेदनमा उक्त रकम रकमान्तर भएको औल्याइएको छ ।
महालेखाका अनुसार ५२ योजना तथा कार्यक्रमको २ करोड ३२ लाख ८२ हजार बजेट रकमान्तर गरिएको छ । यसमा चालु प्रकृतिका ४२ र १० ओटा पूँजीगत योजना तथा कार्यक्रमको रकमान्तर गरिएको छ ।

यो रकम ७१ चालु र ३४ पूँजीगत योजनामा रकमान्तर गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालु योजनामा १ करोड ३ लाख र पूँजीगत योजनामा १ करोड २८ लाख रकम रकमान्तर गरिएको छ ।
महालेखाले ठूलो मात्रामा गरिएको रकमान्तरलाई बजेट विनियोजन दक्षता कमजोर भएको र्औल्याएको छ । महालेखाले गाउँपालिकालाई विनियोजन दक्षता वृद्धि गर्न सुझाव दिएको छ ।
यसैगरी बेलडाँडी गाउँपालिकामा अबण्ड बजेट राखेर मनपरी खर्च गरेको पाइएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा एक करोड १४ लाख ४१ हजार भैपरी आउने बजेट सभाबाट पारित गरी कार्यपालिका निर्णय अनुसार खर्च गरेको हो ।

महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षण अनुसार अबण्डा बजेट विभिन्न योजनामा बाँडफाँट गरी हिउँदे सभाबाट पारित गरिएको उल्लेख छ । महालेखाले यसलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित अबण्डा बजेट राखेर खर्च गरिएको रुपमा प्रतिवेदमा समावेश गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ र ६७ मा स्रोत तथा बजेट निर्धारण समितिले विषयतगत क्षेत्रको बजेटको सीमा निर्धारण गर्ने र सोही सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी योजना तर्जुमा गर्न पर्ने प्रावधान छ ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनको यो प्रावधान विपरित ठूलो मात्रा अबण्डा राखेर कार्यपालिकाको निर्णयबाट बाँडफाँट गरेको हो । यो बजेट ९ दशमलव १८ प्रतिशत हो ।
महालेखाले गाउँपालिकाले अबण्डा बजेर राखेर स्थानीयतह योजना दिग्दशर्नलाई समेत ख्याल नगरिएको उल्लेख गरेको छ । महालेखाले बजेट खर्चलाई अनुशासन पद्धति अनुसार बनाउनु सुझाव दिएको छ ।
गाउँपालिकाको गाउँ सभामा गत वर्ष ८१ करोड ८ लाख बजेट पेश गरिएको थियो । काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना गाउँपालिका अध्यक्ष छन् ।
स्थानीय तहमा आफू खुसी योजना बनाएर खर्च गर्नका लागि पालिका सभाबाट अबण्डा बजेट पारित गरी खर्च गर्ने परिपाटी छ ।

