

महेन्द्रनगर । एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल जिल्ला कमिटी प्रतिनिधि परिषद् बैठकमा निराश भएर छोटो भाषण गरेकी छन् ।
इन्चार्ज पालको सम्बोधनसम्म बैठकमा सहभागी अधिकाँश प्रतिनिधि हलबाट बाहिरिएपछि उनी निराश भएर मन्तव्य राखेकी हुन् । मन्तव्यका क्रममा इन्चार्ज पालले कार्यक्रम छाडेर जानु पनि अराजकता भएको बताइन् ।

बैठकका प्रमुख अतिथि एमाले महासचिव शंकर पोखेरेलले त्यस अघि आफ्नो सम्बोधनमा एमालेमा अवसरवाद र अराजकता अन्त्य गर्न आवश्यक भएको बताएका थिए ।
महासचिव पोखरेलको भनाईलाई उद्धृत गर्र्दै इन्चार्ज पालले आफ्नो मन्तव्यका क्रममा सहभागीहरु कार्यक्रम छाडेर पनि अराजकता भएको बताएकी हुन् ।
एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले मन्तव्य राखेपछि महासचिव पोखेरलले बैठकलाई सम्बोधन गरेका थिए ।

झण्डै दुई घण्टासम्म महासचिव पोखरेलको बैठक सम्बोधन गर्दा ममताज पार्टी प्यालेशको हलमा एमाले नेता कार्यकर्ताले भरिएको थियो ।
महासचिव पोखरेले सम्बोधनपछि एमालेबाट २०४९ को स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि र कञ्चनपुरको ज्येष्ठ कम्युनिष्ट योद्धालाई सम्मान गरे ।
बैठकमा त्यसपछि राजनीतिक, साँगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत भएपछि अन्य नेतालाई मन्तव्य राख्न दिइएको थियो ।
सम्मान कार्यक्रमसंगै महासचिव पोखेरेल कार्यक्रम स्थलबाट बाहिरिएपछि मञ्चमा आशिन नेता र सहभागी अधिकाँश हलबाट बाहिरिएका हुन् ।
कार्यक्रममा सहभागी नेताहरुका अनुसार मञ्च र हल दुबै खाली जस्तो देखिएको थियो । त्यहीं बीच कञ्चनपुर इन्चार्ज पाल मन्तव्यका लागि मञ्चमा पुगेकी हुन् ।
मञ्चमा पुगेपछि कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि सहित सबैलाई सम्बोधन गरेपछि उनी निराश भएर सहभागीले बाहिर निस्केकोमा असन्तुष्ट भएकी हुन् ।
इन्चार्ज पालले बैठकको अध्यक्षतामा गरि रहेकी जिल्ला अध्यक्ष लक्ष्मी बुढालाई संकेत गरी पार्टीको राम्रो नेतृत्व गरिएको भन्दै कटाक्ष समेत गरिन् ।
मञ्चमा बुढा र पाल एकसाथ बसेका थिए । बैठकमा महासचिव पोखरेल सहित नेताहरु लेखराज भट्ट, राजेन्द्र सिह रावल लगायतका सहभागी भए ।

