
भीनपा ५ का किशोरीलाई माइती नेपालको अनुशिक्षण, माइती नेपालकी संयोजक भट्ट भन्छिन्,–माया जालमा पारी दलालले पुगाउँछन् भारत


महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका ५ का किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि अनुशिक्षण प्रदान गरेको छ ।
भी.न.पा. वडा नम्बर ५ का विभिन्न समुदायका किशोरीहरुलाई समेट्ने गरी प्रशिक्षित गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिइन् ।


संयोजक भट्टले भनिन्, “ विशेष गरि महिला, बालबालिका तथा कमजोर वर्गलाई लक्षित गरि हुने बेचबिखन रोकथाम गर्न आवश्यक देखिएकाले यो कार्यक्रम आयोजना गरिएको हो । सामाजिक सञ्जाल तथा मोबाइल फोनको दुरुपयोगले विभिन्न समुदायमा बढ्दै गएकोले किशोरकिशोरी र महिलालाई सम्भाव्य जोखिम बाट बचाउन बेलैमा जागरुक गराउनु पर्ने अति आवश्यक रहेको छ ।”
अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिकी, झुठा माया, प्रेम सम्बन्ध, मोबाइल फोन लगायत सामाजिक सञ्जाल, फेसबुकको दुरुपयोग मानव बेचबिखनका आधारभूत कारण हुन् भने घरेलु हिंसा तथा लैङ्गिक बिभेद पनि मानव बेचबिखनका कारण बन्ने गरेका छन् । दलालहरुले आफ्नो मायाजालमा पारी बिहे गर्ने आश्वासन दिएर भारतसम्म पु¥याउँछन् । खुला सिमा नाकाका कारण कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको संयोजक भट्टले बताइन् ।
यौन शोषण, वेश्यावृति, सर्कसमा काम लगाउन, बंधुवा मजदुर बनाउनु, शरीरका विभिन्न अंग झिक्न, मानव बेचबिखनको मुख्य उद्धेश्य रहेको बताउदै संयोजक भट्टले परिवारका सदस्य एवम् आफन्त नै बेचबिखनमा सहभागि हुने हुदाँ मानव बेचबिखन रोकथाममा चुनौती भएको जानकारी दिनुभयो । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको परिभाषा ,बेचबिखन हुनुका कारण, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, प्रचलित कानुनी प्रावधान लगायत बाल यौनदुचार, बाल यौन दुव्र्यवहारका बारेमा सहभागिहरुलाई जानकारी गरार्ईएको छ ।
कार्यक्रममा वडा न. ५ का महिला वडा सदस्य लगायत ३५ जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । कार्यत्रममा सहभागि भीमदत्त नगरपालिकाका वडा नं. ५ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष रिता चन्द कार्यक्रममा बोल्दै– हाम्रो वडामा पनि चेलीबेटी बेचबिखन विरुद्ध सचेतना फैलाउन अत्यन्त आवश्यक देखिएको समयमा माइती नेपालले यो कार्यक्रम गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा पनि जोखिममा पर्न सक्ने किशोरीहरुलाई अनुशिक्षण प्रदान गर्न आवश्यक भएको कुरा औल्यादै स्थानिय सरकार सधै सहकार्य र समन्वयमा काम गर्न तयार रहेको बताइन् ।
