
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चन्दले छाडे पार्टी, भन्छन्– एमाले धनवाद डनवाद र नातावादमा लिप्त

महेन्द्रनगर । एमाले नेता कर्ण बहादुर चन्दले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चन्दले शनिबार सामाजिक सञ्जालबाट पार्टी जिम्मेवारी र सदस्यता छाडेका घोषणा गरेका हुन् ।
चन्द एमाले कञ्चनपुरका पूर्व उप सचिव हुन् । आठौं अधिवेशनबाट अत्यधिक मत पाएर उप सचिव निर्वाचित चन्दले प्रेस चौतारी नेपालको जिल्ला नेतृत्व, पार्टी र प्रचार विभाग प्रमु्ख र जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए ।
एमाले नवौ जिल्ला अधिवेशनमा उपाध्यक्षका उम्मेदवार चन्द सर्वसम्मत नेतृत्व चयनपछि पछि हटेका थिए । उपाध्यक्षको उम्मेदवारी छाड्न उनलाई भूमि आयोगको अध्यक्ष बनाउने आश्वासन दिइएको थियो ।

आश्वासन अनुसार आयोग अध्यक्ष हुन नसकेका उनलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनाइएको थियो ।
शनिबार चन्दले एमाले अध्यक्ष केपी शर्माले ओली पाँच वर्ष अघि प्रधानमन्त्री हुँदा पुस ५ गते संसद विघटन गरेको दिन पार्टी छाडेको घोषणा गरेका छन् । उनले संसद विघटनको त्यस दिनलाई जनताका प्रतिनिधिहरुको हत्या गरिएको कालो दिन भएको उल्लेख गरेका छन् ।
‘पाँच बर्ष अगाडि पौष पाँच गते जनताका प्रतिनिधिहरुको हत्या गरेको इतिहासको कालो दिन नेकपा एमाले जनताको बहुदलिय जनवाद राष्ट्रिय अखण्डता स्वाधीनता जनजिविका सबाललाइ तिलान्जली दिइ एमाले अब धनवाद डनवाद र नातावादमा लिप्त हँुदै देशमा समाजमा भाडभैलो सिर्जना गरि मुलुकलाई मुडभेड अवस्थामा लगि मुलुकले खोजेको परिवर्तनलाइ इनकार गरि फेरि मुलुकलाई ठूलो अन्धकारमा धकेल्ने योजनाका साथ अगाडि बढेकाले अब एमाले बाट नेपालको परिवर्तन सम्भव नभएको आजको मितिबाट म एमालेको प्रदेश कमिटीको सदस्य र पार्टीको सदस्य पद त्याग गरेको घोषणा गर्दछु’ उनले सामाजिक सञ्जाल फेसबुबकमा भनेका छन् ।
नेता चन्दले एमालेमा इमान्दार कार्यकर्ताको काम समेत नरहेको भन्दै नेता कार्यकर्तालाई स्वाभिमानका साथ जीवन जीउन अनुरोध गरेका छन् ।
एमाले छाड्दै उनले फागुन २१ गतेका लागि तोकिएको मितिमा निर्वाचन नै मुलुकको निकास भएको उल्लेख गरेका छन् ।
