

महेन्द्रनगर । बेदकोट नगरपालिकाको १८ औँ नगर सभा तथा हिउँदे अधिवेशन सोमबार सम्पन्न भएको छ । नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा बसेको सभाले नगरपालिकाको आगामी ५ वर्षको विकास मार्गचित्र कोर्ने रणनीतिक योजना सहित विभिन्न महत्वपूर्ण ऐन र कार्यविधि पारित गरेको छ ।
नगर सभाले कार्यपालिकाबाट यसअघि भएका निर्णयहरूलाई अनुमोदन गर्दै नगरको आर्थिक र सामाजिक विकासका लागि दूरगामी महत्व राख्ने दस्तावेज पारित गरेको छ। जसअन्तर्गत आगामी पाँच वर्षका लागि ’स्थानीय रोजगार रणनीति’ र ’उद्यम विकास रणनीतिक योजना’ (आर्थिक वर्ष २०८२÷०८३ देखि २०८६÷०८७) स्वीकृत गरिएको छ । यी योजनाले नगरभित्र स्वरोजगारका अवसर सिर्जना गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न जग बसाल्ने विश्वास गरिएको छ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ सभाले ’वेदकोट नगरपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति २०८१÷०८२’ पारित गरेको छ ।


स्थानीयस्तरमा संघ संस्था दर्तालाई व्यवस्थित गर्न ’संघ संस्था दर्ता ऐन’ र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग पु¥याउन ’उच्च शिक्षा सहयोग वितरण कार्यविधि’ समेत स्वीकृत गरिएको छ ।
सभामा विधायन समिति प्रमुख पवन नेपालीले कानुन संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमाथि जनप्रतिनिधिहरूबीच व्यापक छलफल गरी विभिन्न विद्यमान कानुनहरूलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने निर्णय गरिएको छ ।
नगर सभामा नगर उप–प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारी सहभागी भए ।
सभा समापन गर्दै नगर प्रमुख बोहराले पारित गरिएका नीति र रणनीतिहरूले नगरको बेरोजगारी समस्या समाधान गर्न र नागरिकलाई घरदैलोमै आधुनिक एवम् प्रविधिमैत्री सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

