

महेन्द्रनगर । गैर सरकारी संस्था महासंघ नेपाल कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको उपचारका लागि सहयोग गरेको छ ।
महासंघले बुधबार २४ वार्षिक साधारण सभा तथा १२ औं जिल्ला अधिवेशनको उद्घाटन समारोह कार्यक्रममा पत्रकार महासंघलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायालाई सहयोग रकम वापतको ७३ हजार ९ सय ५
रुपैँयाको चेक हस्तान्तरण गरिएको छ ।
महासंघका केन्द्रीय उप महासचिव भवराज रेग्मी र महासंघ जिल्ला अध्यक्ष लक्ष्मी बोहराले चेक हस्तान्तरण गरे ।
महासंघका जिल्ला उपाध्यक्ष अमिर तिरुवाले महासंघ जिल्ला शाखाको फेसबुक ग्रुफमा सहयोग अभियान सञ्चालन गरी सहयोग रकम संकलन गरिएको बताए ।

कार्यक्रममा उनले सबै सहयोगीहरुको नाम र रकम समेत वाचन गरेका थिए ।
प्यान्क्रियाजमा क्यान्सर देखिएपछि महासंघ अध्यक्ष धामीको भारतीय राजधानी दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भइ रहेको छ ।
अध्यक्ष धामीको उपचारमा ठूलो धनराशी खर्च हुने भएपछि महासंघले सहयोग अभियान सञ्चालन गरेको छ ।
कार्यक्रममा महासंघ उपाध्यक्ष रोकायाले महासंघको तर्फबाट शुभ कामना मन्तव्य राखेकी थिइन् । उनले पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघले सध्रै सहकार्य र समन्वय गरी जानु पर्नेमा जोड दिइन् ।
गैसस महासंघ कञ्चनपुरका अध्यक्ष बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष चुडामणी भट्टराईं प्रमुख अतिथि थिए ।
कार्यक्रममा काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्ट, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का आनन्द सिह धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिह महता, महासंघका पूर्व जिल्ला अध्यक्ष नितु भट्ट लगायतले शुभकामना मन्तव्य राखे ।

