

महेन्द्रनगर । कञ्चनपुर २ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार तिर्जराज चटौतले आफू निर्वाचित भएर राज्यबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले कञ्चनपुर २ मा जनताले यस पटक परिवर्तन चाहेकाले आफ्नो पक्षमा चुनावी वातावरण भएको उल्लेख गरे ।
‘अहिले त्यहाँ म जाँदा जनमत परिवर्तनको पक्षमा देखेको छु। माहौल मेरो पक्षमा छ, बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘ मैले जिते राज्यका कुनै सेवा सुविधा लिँदैन, यो आजै घोषणा गर्छु ।’


राप्रपा केन्द्रीय सदस्य रहेका चटौतले आफू सानैदेखि समाज सेवा गर्ने स्वभावको भएको र राजनीति गरी जनताको सेवा गर्ने मौका पाउन आफू उम्मेदवार भएको बताए ।
व्यवसायिक पुष्ठभूमिका चटौत बहुदल आएपछि २०४९को निर्वाचनमा भीमदत्त नगरपालिका ४ नम्बर वडाको अध्यक्ष निर्वाचित भएका थिए ।
त्यस अघि उनी २०४३ मा तत्कालिन जिल्ला पञ्यायतको उप सभापति निर्वाचित भएका थिए ।
चटौतले पार्टीले आफूलाई विश्वास गरी उम्मेदवार बनाएकोले पार्टीको विश्वास अनुसार जनताको पक्षमा काम गर्ने प्रतिवद्धता लिएर चुनावी मैदानमा होमिएको उल्लेख गरे ।

