

महेन्द्रनगर । सुदूरपश्चिम विद्यालय केन्द्रीय कार्यालयमा मंगलबादेखि तेस्रो सम्पदा, नव प्रवर्तन र रुपान्तरण अन्र्तराष्ट्रिय सम्मेलन हुँदैछ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले उद्घाटन गर्ने सम्मेलनको सबै तयारी पूरा भएको छ ।
सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न २३ देशका अनुसन्धानकर्ता सहभागी हुन लागेका छन् । यो संख्या अघिल्ला दुई सम्मेलन भन्दा बढी हो । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता सहित व्यक्तित्वलाई सहभागी गराएर यस अघि दुई सम्मेलन भएका छन् ।
विश्वविद्यालय केन्द्रीय कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा आयोजक सुदूरपश्चिम विद्यालयका विभिन्न संकायका डीन सहित अधिकारीहरु सहभागी भए ।
विश्वविद्यालयका इन्जिनियरिङ्ग संकायका डीन डा.किसन दत्त भट्टले विश्व विद्यालयको शैक्षिक उन्नयन, अनुभव आदानप्रदान र विश्वविद्यालयका अनुसन्धान मुलक कार्य प्रोत्साहनका लागि सम्मेलन गर्न लागिएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय सम्मेलन सुदूरपश्चिम विश्वविद्यालयका लागि गौरब भएको डा. भट्टले उल्लेख गरे ।
‘यस सम्मेलनमा ८ ब्रोड थीम छन्, २५ सब थीम छन्, ४८ जना इनभाइटर रिसर्चर पनि हुनु हुन्छ’ पत्रकार सम्मेलनमा जानकारी दिँदै डा. डीनले भने, ‘यो विश्वविद्यालयको शैक्षिक उन्नयन, रिसर्च र नलेज शेयरिङ्गको सबैभन्दा ठूलो प्लेटफर्म हो, त्यसैले यो गौरबको विषय हो ।’
विश्वविद्यालयले सम्मेलनबाट मुख्य रुपमा तीन ओटा उपलब्धि हुने अपेक्षा राखेको छ । विश्वविद्यालयका प्राध्यापक डा. मदन सिह देउपाले ती उपलब्धिलाई बुँदागत रुपमा प्रष्ट पारे ।
उनले विश्वविद्यालयमा विद्या वारिधि (पीएचडी) र एमफिल अध्ययन गर्ने विद्यार्थीले सबैभन्दा पहिलो फाइदा पुग्ने उल्लेख गरे ।
विश्वविद्यालयले केही वर्षदेखि पिएचडी एमफिल कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
‘विश्वविद्यालय उच्च शिक्षा अध्ययन गर्ने संस्था हुन्, उच्च शिक्षामा पनि उच्चतम शिक्षा पिएचडी, एमफिलका लागि अनुसन्धानको आवश्यकता हुन्छ,त्यो आवश्यकता यस सम्मेलनबाट पुर्ति हुन्छ’ उनले भने ।
दोस्रो सम्मेलनलबाट सुदूरपश्चिम विश्वविद्यायलाई विश्व जगतमा आफैं दर्जा अर्थात रेङकिङ्ग बढाउनु सहयोग पुग्ने देउपाले बताए ।

नेपालको सबैभन्दा पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अहिले विश्व रेङकिङ्ग एक हजार ५ सय हाराहारी छ ।
सबैभन्दा कान्छो विश्वविद्यालय सुदूरपश्चिम १० हजार हाराहारी छ ।
‘विश्वविद्यालयको ग्लोबल रेङकिङ्ग कुरा हुन्छ, त्यसमा त्रिभुवन विश्वविद्यालय नै १५ सय हाराहारी छ, हामी त १० हजारको हाराहारीमा छौ’ उनले भने,‘यसलाई बढाउन पनि सम्मेलन आवश्यक छ, त्यसका लागि अनुसन्धान आवश्यक हुन्छ, यो सम्मेलनबाट त्यो कुरा पूर्ति हुने विश्वास लिएका छौ ।’
सम्मेलनबाट अहिले भइ रहेको तीव्र परिवर्तनका राम्रा नराम्रा पक्षबारे छलफल गरी समाजजलाई विवेकशिल बनाउनु सहयोग पुग्ने तेस्रो उपलब्धिका रुपमा देउपाले उल्लेख गरे ।
‘अहिले हरेक दिन तीव्र परिवर्तन भइ रहेको छ, मान्छेको दैनिक जीवनमा तीव्र परिवर्तन छ, यसले कुनै न न रुपमा मानव जीवन प्रभावित हुन्छ, त्यस कारण के सही हो, के गलत हो भनेर निर्णय लिन पनि यो सम्मेलनबाट सहयोग पुग्छ’ उनले भने ।
विश्वविद्यालय अनुदान आयोगले सम्मेलनका लागि सहयोग गरेको छ । त्यस बाहेक कञ्चनपुरका स्थानीय तह, सामाजिक विकास कार्यालय, बैंक तथा वित्तिय संस्था र सहकारीले सम्मेलनका लागि सहयोग गरेको विश्वविद्यालयका प्राध्यापक डा. दिपकचन्द्र भट्टले बताए ।
सन् २०२२ मा अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा पहिलो सम्मेलन गरिएको थियो । त्यसपछि इन्डियन इन्स्टिच्युटको सहयोगमा सन् २०२५ मा दोस्रो सम्मेलन गरिएको थियो ।
विश्वविद्यालय केन्द्रीय कार्यालयका चार सभा कक्षमा हुने सम्मेलनमा तीन सय बढी शोधपत्र प्रस्तुत गरिने भएको छ । त्यसमध्ये दुई सय भन्दा बढी शोधपत्रका अनुसन्धानकर्ता आफैं सहभागी हुन लागेका छन् ।
सम्मेलनमा भौतिक र अनलाइनबाट समेत अनुभवन आदानप्रदान गरिने कार्यक्रम तय गरिएको छ ।
मंगलबार पहिलो दिन उद्घाटनपछि स्थानीय तहका प्रमुख उप प्रमुख सहित राउण्ड टेबल छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सम्मेलनका लागि विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. विनोद लेखकको संयोजकत्वतमा तीन सदस्यीय व्यवस्थापन समिति बनाइएको छ । समितिमा हरिशचन्द्र भट्ट र सुरेश सिह भण्डारी सदस्य छन् ।
विश्वविद्यालयका उप कुलपति प्रा.डा. हेमराज पन्तको अध्यक्षतामा सम्मेलनको उद्घाटन सत्र हुने कार्यक्रम तय गरिएको छ ।
पत्रकार सम्मेलनमा इन्जिनियरिङ्ग संकायका डीन भट्ट सहित व्यवसथापन संकायका डीन पदमराज जोशी, मानविकी संकायका राजेन्द्र भट्ट, योजना प्रमुख सुरेश सिह भण्डारी, प्रशासन महाशाखा प्रमुख भवानीदत्त पाण्डेय, सहायक प्रशासक नबिन बम लगायत सहभागी भएका छन् ।
