
भीमदत्तको तिलाचौरमा महाकाली सिँचाईको निर्माणाधिन नहरमा खसेर स्थानीय घाइते, ठेकेदार विरुद्ध प्रहरीमा उजुरी


महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलौचारस्थित महाकाली सिँचाई आयोजनाको तेस्रो चरण अन्र्तगत निर्माणाधिन शाखा नहरमा खसेर एक स्थानीय घाइते भएका छन् ।
त्रिभुवन माध्यमिक विद्यालय नजिक निर्माणाधिन नहरको खाल्डोमा खसेर स्थानीय दिपेन्द्र सिह विष्ट घाइते भएका छन् । साइकल सहित नहरमा खसेका उनको नाक मुनि चोट लागेको छ ।
मन्त्र हस्पिटलमा उपचार गरिएका विष्टको नाक मुनि ८ टाँका लगाइएको छ ।
तीन दिन अघि साँझ घर आउने क्रममा विष्ट नहरमा खसेका हुन् । साँझ पख नहर खसेका उनलाई स्थानीयले बाहिर निकालेर अस्पताल ल्याएका थिए ।

महाकाली प्रादेशिक अस्पताललमा उपचार हुन नसकेपछि उनलाई मन्त्र हसिपटल रिफर गरिएको थियो ।
ठेकेदार कम्पनीले नहर खनेर निर्माण कार्यको संकेत विना छाडेकाले दुर्घटना हुन पुगेको स्थानीय बताउँछन् ।
घाइत विष्टका परिवारले नहर निर्माणका ठेकेदार हर्क बहादुर मल्ल विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
जिमुवा प्रहरी चौकीमा उनीहरुले उजुरी दिएका छन् । प्रहरी चौकीमा जान ठेकेदार अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको छ ।
स्थानीय महादेब भट्टले ठेकेदार कम्पनीले संकेत विना, जानकारी विना नहर खनेर छाडेकाले दुर्घटना भएको बताए ।
‘यसमा चरम लापरवाही गरिएको छ, समयमै रोक्न सकिएन भने अरु दुर्घटना पनि हुन सक्छ’ उनले भने ।
