
सुपका नव नियुक्त डीन किन भए यतिसम्म लेख्न बाध्य
भन्छन् – विश्वविद्यालयको आग्रह अनुसार जिम्मेवारी लिएको हुँ, म भन्दा अरु कोही वरिष्ठ छन् भने राजीनामा दिन तयार छु


महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायमा नव नियुक्त डीन प्रा.डा. भवानी चन्द ठकुरीले आफूलाई पदको लालच नभएको भन्दै संकायमा वरिष्ठ प्राध्यापक भए तत्काल राजीनामा दिने घोषणा गरेका छन् ।
विश्वविद्यालयले चार संकायमा डीन नियुक्त गरेपछि बुधबार चन्दले सामाजिक सञ्जालबाट आफू अर्को व्यवस्था नभएसम्मका लागि विश्वविद्यालयको आग्रह अनुसार जिम्मेवारी लिन तयार भएका सार्वजनिक गरेका हुन् ।
नव नियुक्त डीन चन्दले आफू विश्वविद्यालयको उपकुपतिका लागि आवश्यक सबै मापदण्ड पूरा गरेको प्राध्यापक भएको सबैलाई जानकारी गराएका छन् ।
‘म मा पदको लोभ लालच भए म फेरी पनि डीन पदका लागि दिन सक्थे तर मैले निवेदन दिएन साथै हाल आएर उपकुलपति पदको सबै मापदण्ड पुरा गरेको प्राध्यापक भए पनि निवेदन सम्म पनि दिएन, हाल आएर सङ्कायको वरिष्ट प्राध्यापकको नाताले तपाईले अर्को व्यवस्था नहुन्जेल डीनको जिम्मेवरी लिन विश्वविद्यालय बाट प्रस्ताव आए पछि म जिम्मा लिन मन्जुर भए’ उनले भनेका छन्, ‘अन्त्यमा म के भन्न चाहन्छु भने विज्ञान प्रविधि सङ्कायमा म भन्दा कोही वरिष्ट छ भने अहिले नै यो पदबाट राजिनामा दिन तयार छु । ३२ वर्ष भन्दा बढी विश्वविद्यालयमा सेवा गर्दा कहिले पनि राजनीतिक पूर्वाग्रह राखेर व्यवहार गरेको छैन र भविश्यमा पनि गरिने छैन ।’
सिद्धनाथ विज्ञान क्याम्पसमा ३० वर्ष अघि सेवा प्रवेश गरी क्याम्पस प्रमुख भएर जिम्मेवारी बहन गर्दै चन्द २०६९ मा समायोजन भएर सुदूरपश्चिम विश्वविद्यालय आएका हुन् । विश्वविद्यालय स्थापना कालमा चन्दले विज्ञान प्रविधि संकाय र इन्जिनिरिङ्ग दुबै संकायको डीन भएर जिम्मेवारी निर्वाह गरेका छन् । त्यसपछि उनले विज्ञान प्रविधि संकायको डीन समेत भएका छन् ।
अहिले फेरि डीन नियुक्त भएपछि चन्दले सामाजिक सञ्जालमा लामो स्टाटश लेख्दै आफ्नो धारणा राखेका छन् । उनले आफ्नो शिक्षण जीवनको वास्तविकता सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।
‘सम्पूर्णमा मेरो नमस्कार , आज म मेरो बारेमा केही यथार्थ कुरा हजुरहरू समक्ष लेख्न गै रहेको छु । फेसबुकमा स्टाटस हाल्ने गरेको छैन आज बाध्यात्मक रुपमा लेख्नु परेको छ । म २०५० सालमा त्रिविको सिद्धनाथ विज्ञान क्याम्पसमा प्राध्यापक सेवामा प्रवेश गरेको थिए हाल मलाई ३२ वर्ष भन्दा बढी प्राध्यापन सेवामा कार्य गरेको पुगेको छ । सिद्धनाथ विज्ञान क्याम्पसमा क्याम्पस प्रमुखको जिम्मा समेत इमान्दारि पूर्वक आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न गरे’ उनले भनेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको स्थापन भयो र म विज्ञान प्रविधि सङ्काय र इन्जिनियरङ्क सङ्काय गरी दुबै सङ्कायको डीन भई ४ वर्षे कार्यकाल इमान्दारी रुपमा पुरा गरे ।
चन्द सुदूरपश्चिम विश्वविद्यालय बनाउनु पर्ने पक्षधरका प्राध्यापक हुन् । सिद्धनाथ बहुमुखी क्याम्पस र विज्ञान क्याम्पस समायोजन गरी विश्वविद्यालय बनाउने निर्णय भएपछि विज्ञान क्याम्पसका अधिकाँश प्राध्यापक विरुद्ध उभिएका थिए ।
विश्वविद्यालय बनेपछि उनी विज्ञान क्याम्पसको सह प्राध्यापक छाडेर विश्वविद्यालय आएका थिए ।
‘आफ्नो ठाउको विश्वविद्यालय बनाउनु पर्छ भनी त्रि वि को सहप्राध्यापक पद छोडी समान पदमा यस विश्वविद्यालयमा २०६९÷०७० मा समायोजन भए । डीनको प्रथम कार्यकाल सफलतापूर्वक सम्पन्न गरी त्यसको ४ वर्ष पछि विज्ञान तथा प्रविधि सङ्कायमा मेरो डीन पदमा पून नियुक्ति भई ४ वर्षा २ महिनाको कार्यकाल सफलतापूर्वक सम्पन्न गरे । मैले आफ्नो क्षमताले विश्वविद्यालयको जति सेवा गर्न सक्थे गरे र हाल सम्म पनि गर्दै आइरहेको छु । फेरी दोस्रो कार्यकाल सम्पन्न भएपछि अर्को कार्यकालका लागि निवेदन समेत दिएन किनकी अरु साथीहरूलाई पनि मौका दिनु पर्छ भन्ने मेरो भावना थियो’ उनले भनेका छन् ।
